२०८० साउन, ३०
&nbsp



लगानी



नेप्से विश्लेषण





अभियान संवाददाता



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३१ दशमलव ८० अंक अर्थात १ दशमलव ५३ प्रतिशत घटेको छ । नेप्से  परिसूचक २ हजार ४५ दशमलव ४४ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५७ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव ५४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ७२ प्रतिशत घटेको छ ।

लगातार तीन कारोबार दिनमा ६१ अंक बढेको बजार दुई कारोबार दिनमा ३५ अंक घट्यो । यसरी हेर्दा लगानर्ताहरु बजार प्रति विश्वस्त नभएको देखियो । बजार सधै बढिरहने मात्रै पनि होइन , घटबढ भइरहन्छ । मूल्य निर्धारण माग र आपूर्तिले निर्धारण गर्ने हो । पछिल्लो समय बजार केही दिन बढ्ने वित्तीकै ट्रेडरहरुले प्रोफिट बुक गर्छन । यस कारण पनि बजार दुई तीन बढ्ने वित्तीकै करेक्सनमा जान्छ । 

यसोत सूचीकृत कम्पनीहरुले धमाधम गत आवको वित्तीय विवरण सार्वजनिक गरीरहँदा त्यसले लगानीकर्ताको मनोबलमा नकारात्मक असर परेको देखियो । केहि कम्पनीहरुले नाफा  कमाएको वित्तीय विवरण सार्वजनिक भए पनि अन्य कम्पनीहरुको वित्तीय विवरण भने खासै सन्तोषजनक छैन । अधिकाँश हाइड्रोपावर कम्पनीकोको वित्तीय विवरण नकारात्मक देखिएको छ । त्यस्तै उत्पादनमूलक तथा व्यापार कम्पनीको नाफा पनि घटेको देखियो । यस कारण पनि लगानीकर्ता निरुत्साहित भएको देखियो । 

बजार घट्न थालेसँगै नयाँ र साना लगानीकर्ताहरुले आत्तिएर शेयर विक्री गर्न थाल्छन्, यस कारण पनि बजार थप घट्न पुग्छ । यस्तो समयमा थोरै थोरै कित्ता भएपनि शेयर खरीद गर्न विश्लेषकहरु सुझाव दिन्छन् । अव लाभांशको सिजन शुरु हुनेछ । अहिले शेयर खरीद गर्नेले निकै छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् भने घटेको बजारमा ट्रेडिङ गर्नेहरु पनि आकर्षित हुने अनुमान गरिएको छ । 

कारोबारमा आएका २७८ धितोपत्रको ५६ लाख ३ हजार१७९ कित्ता शेयर ६१ हजार ३४१ पटकमा रू. २ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी इर्मजिङ्ग नेपालको शेयर मूल्य ५ दशमलव १८ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १६ पुगेको हो । त्यस्तै दोस्रोमा ८.५∞ नेपाल बैंक डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ३ दशमलव ८७ प्रतिशत बढेर रू. ८ सय पुगेको छ । 

मंगलवार सबैभन्दा बढी हिमालयन डिष्टीलरीका शेयरधनीले गुमाएका छन् । शेयर मूल्य ७ दशमलव ६९ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १७ मा झरेको छ । कम्पनीले मंगलवार गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । नाफाघटेसँगै कम्पनीको शेयरमा विक्रेता हाबी भएकाले शेयर मूल्य घटेको हो । शेयर मूल्य घट्ने दोस्रोमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव ९४ प्रतिशत घटेर रू. २८७ दशमलव १० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन डिष्टीलरीले ओगटेको छ । कम्पनीको रू. २० करोड ५५ लाख बराबरको शेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्टको रू. १८ करोड ५ लाख बराबरको भएको छ । 
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डबाहेक सबै समूहको समूहगत परिसूचक घटेको हो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव २६ प्रतिशत घटेको छ । 
 

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0