<p style="text-align:justify">विराटनगर। मुलुक आर्थिक संकट उन्मुख बनिरहेका बेला अर्थतन्त्र चलायमान हुने किसिमले यस वर्षको बजेट र मौद्रिक नीति नआएको पूर्वका उद्योगी व्यवसायीले बताएका छन् । मोरङ व्यापार संघको बिजटक कार्यक्रमको सातौं शृखंलामा सहभागीहरूले बजेट र मौद्रिक नीति मुलुकको आर्थिक वृद्धिमा सहयोगी नभएको दाबी गरेका हुन् ।</p>
<p style="text-align:justify">‘अर्थतन्त्रको अवस्था : वर्तमान परिचर्चा’ विषयक संवाद कार्यक्रममा संघका अध्यक्ष नवीन रिजालले मुलुकको विकास भए मात्र निजीक्षेत्र पनि अघि बढ्ने बताए । आर्थिक क्षेत्रलाई बलियो बनाउन सरकारले विकास निर्माणका कामलाई गति दिनुपर्ने उनले औंल्याए । कार्यक्रममा सहभागी नेकपा एमालेका सांसद भगवती चौधरीले सरकारले पूँजीगत खर्च बढाउन सके नेपालको विकासको गति पनि बढ्ने बताइन् । विकास निर्माणमा कमिसनको खेल अन्त्य गर्नुपर्ने र सबै क्षेत्रमा समुचित रूपमा बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिइन् ।</p>
<p style="text-align:justify">स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मुलुकमा वित्तीय अनुशासन नभएको बताए । ‘अनुशासन छैन, मुलुक गोलमाल गर्ने अखडा भएको छ, नियामक र सेवा प्रदायक निकाय अलग–अलग हुनुपर्छ,’ सिंहले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मुलुकभित्र देखिएको राजनीतिक नैराश्य अन्त्य गर्न र जिम्मेवार राजनीतिका लागि युवा पुस्ता राजनीतिमा आएको दाबी गरे । ‘कसैले केही नगरेकाले हामी आउनुपरेको हो, अरूलाई गाली गरेर मात्र मुलुकको परिवर्तन हुँदैन, जिम्मेवारी लिएर अभियानमा सहभागी बनौं,’ उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले मुलुकको विकासका लागि निजीक्षेत्रले गर्ने प्रयासलाई कर्मचारीतन्त्रले असहयोग गर्ने गरेको आरोप लगाए ।</p>