२०८० साउन, २९
&nbsp



लगानी





अभियान संवाददाता



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले चौथो त्रैमाससम्म ३० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा भने गत वर्ष कम्पनीको खुद नाफा ३० दशमलव ३९ प्रतिशतले कम भएको हो । गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी साढे ३२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको कुल सञ्चालन आम्दानी यस वर्ष १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी छ । 

गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ७५ करोड ६० लाख रुपैयाँ छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ८४ करोड ६७ लाख रुपैयाँभन्दा बढी थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ अघिल्लो वर्ष ५९ करोड रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष बढेर ७५ करोड ६२ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । 

जगेडा कोष रकममा समेत अघिल्लो वर्षको तुलनामा गत वर्ष वृद्धि देखिएको छ । अघिल्लो वर्ष ५८ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम गत वर्ष भने ७१ करोड १६ लाख रुपैयाँभन्दा बढी कायम भएको हो ।

कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म १५ अर्ब ९३ करोड ८५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १८ अर्ब ३ करोड ९७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कर्जा सापटी भने गत वर्ष १३ अर्ब ७० करोड ६६ लाख रुपैयाँभन्दा बढी छ ।

कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेर अघि बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कर्जा असुलीमा प्रभावकारी रूपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्क्रिय कर्जालाई ४ दशमलव ६४ प्रतिशतमा सीमित राख्न सफल भएको छ । 

गत आर्थिक वर्षमा स्व–पूँजीमा प्रतिफल वार्षिक १२ दशमलव शून्य २ प्रतिशत रहेको जानकारी कम्पनीले दिएको छ । वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ २५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४८ पैसा छ ।

नवीनतम् प्रविधिलाई जोड दिँदै कम्पनीले सेवा प्रदान गर्दै आएको छ । जस अनुसार ई–सेवा तथा खल्तीमार्फत रकम भुक्तानीको साथै आर्थिक कारोबारहरूको एस.एम.एसमार्फत जानकारी हुने प्रणाली सुचारु भइसकेको जानकारी कम्पनीले दिएको छ ।

लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थानमा रहेको यस कम्पनीले ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको मर्म र भावना अनुरूप पहुँच नपुगेको ग्रामीण स्थानीय तहहरूलाई प्राथमिकतामा राखेको बताएको छ । कम्पनीले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेको कालिकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु, डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ । 

आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्ममा कम्पनीले २ लाख ७ हजार ५७६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ । समयानुकुल रणनीतिका कारण छोटो समयमै राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल भएको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0