<p style="text-align:justify">नेपाली कांग्रेसले अन्तरराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा गिग इकोनोमी र क्लाइमेट एक्सन विषयमा युवाहरूबीच पोलिसी ह्याकाथन आयोजना गर्न लागेको छ । यी दुवै विषय महत्त्वपूर्ण भएकाले यस्तो कार्यक्रम आयोजना गरेर कांग्रेसले युवाहरूलाई आफूतर्फ आकर्षित गर्न खोजेको देखिन्छ । तर, यस्तो कार्यक्रम निकै छोटो अवधिमा सूचना दिएर थोरै समयसीमाभित्र नाम दर्ता गर्न भनिएको छ । यसले कार्यक्रमको सफलतामा आशंका भने उब्जाएको छ । </p>
<p style="text-align:justify">यस प्रतियोगिताका लागि साउन २७ गतेदेखि आवेदन खुलाइएको छ र भदौ ३ गतेसम्म आवेदन दिनुपर्नेछ । नेपालमा गिग इकोनोमीका गतिविधि शुरू भएका छन् र यसबारे चर्चा पनि चल्न थालेको छ । संसद्मै पनि यसबारे कुरा उठेको थियो । गिग इकोनोमी भनेको स्थायी जागीरभन्दा केही समय वा घण्टाको कामको हिसाबले भुक्तानी दिने स्वतन्त्र रोजगार प्रणाली हो । अहिले गाडी भाडामा लिने तथा फुड डिलिभरीका लागि यस्तो काम शुरू भएको छ । तर, यसबारे कुनै नीति रहेको छैन जुन बनाउन ढिला भइसकेको छ । विकसित देशमा जस्तै नेपालमा पनि गिग इकोनोमीले कार्य संस्कृतिमा रूपान्तरण ल्याउने सम्भावना छ । काम ठूलो र सानो हुँदैन भन्ने अवधारणा स्थापित गराउन पनि यसले मद्दत गर्छ । त्यस्तै जलवायुका क्षेत्रमा गरिने काम पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्तो महत्त्वपूर्ण विषयमा युवाहरूबीच पोलिसी ह्याकाथान गराउनु निकै समसामयिक काम हो । युवा प्रतिभाले नयाँनयाँ क्षेत्रको खोज गरिरहेको हुन्छ । तिनलाई यो राम्रो अवसर हो । तर, प्रश्न उठ्छ, यहाँ कस्तो खालको कार्यक्रम आउलान् ? अनि ती कार्यक्रमलाई नेपाली कांग्रेसले कसरी कार्यान्वयनमा लैजाला ? </p>
<p style="text-align:justify">विश्वभरि नै नयाँ नीति बनाउँदा पोलिसी ह्याकाथान गराउने प्रचलन बढेको छ । यसले राजनीतिक नेतृत्वलाई उद्यमका समस्या बुझ्न र सही नीति बनाउन सहयोग पुर्‍याउँछ । पोलिसी ह्याकाथान शुरू भएको १ दशक पनि भएको छैन । अफ्रिकी मुलुकले यस्तो ह्याकाथानबाट नीति निर्माण गरेको पाइन्छ । यसले नवप्रवर्तनात्मक सोचहरू दिन्छ जसमा सरकारी नीति निर्माताको ध्यान पुगेको हुँदैन । कांग्रेसले साँच्चीकै नीति निर्माणका लागि यस्तो कार्यक्रम आयोजना गरेको हो वा कुनै कार्यक्रम गरौं न त भनेर गरेको हो स्पष्ट छैन । कुनै सफ्टवेयर बन्यो तर प्रयोजनविहीन बन्यो भने त्यसलाई भेपरवेयर भनिन्छ । यस्ता कार्यक्रमले कतिपय देशमा धेरैओटा भेपरवेयर बनाएको अनुभव पनि पाइन्छ । नेपाली कांग्रेसले अहिले गर्न लागेको ह्याकाथानले चाहिँ भेपरवेयर नबनाओस् भन्ने शुभकामना । </p>