२०८० साउन, २८
 
लगानी

अभियान संवाददाता
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ सोमवार (भोलि) बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साँझ ५ बजे बत्तीसपुतलीस्थित काजीको किचनमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो । कम्पनीले सर्वसाधारणमा साउन १८ गतेदेखि २२ गतेसम्म आईपीओ विक्री गरेको थियो । साउन २६ गते आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न गरिसकेको जानकारीसमेत विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८ हजार ८२४ कित्तो वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो । स्थानीयका लागि ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याइएकोमा सम्पूर्ण कित्ता भने वितरण हुन सकेन ।
स्थानीयमा वितरण हुन नसकेको समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।
हालको बाँडफाँट व्यवस्था अनुसार भाग्यमानी १ लाख ९५ हजार ३२७ जना आवेदकले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । कम्पनीले यी आवेदकहरूमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँकी ९ कित्ता शेयर थप ९ जनालाई एक कित्ताका दरले बाँडफाँट गर्नेछ । यसरी हेर्दा कम्पनीको आईपीओ बढीमा ११ कित्तासम्म बाँडफाँट हुनेछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणबाहेक कम्पनीका कर्मचारीहरूका लागि ३९ हजार ७६५ कित्ता र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।
कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट अनुमानित लागत भने २३ करोड ६८ लाख ४ हजार रुपैयाँ छ ।
अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ छ । सर्वसाधारणतर्फ सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ कायम हुनेछ । आईपीओबाट संकलित पूँजी कम्पनीले बैंकको ऋण तिर्न र आयोजना निर्माणका लागि खर्चिने जानकारी दिएको छ ।
प्रतिक्रिया [0]