
काठमाडौं= शनिबारदेखि परेको अबिरल बर्षाका कारण बर्दिया जिल्लामा तीन जना बेपत्ता भएका छन् भने बाढी र डुवानका कारण २ सय ५७ घर प्रभावित भएका छन् ।
बबई नदिमा आएको बाढीमा बगेर आएको दाउरा समात्ने क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका २ पण्डितपुरका महेश चौधरी, वडा नं. ८ थपुवाका अक्षय थारु र वडा नं. १२ भैसाहीका बालकृष्ण थारु बेपत्ता भएका हुन् ।
उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।
त्यसैगरी अबिरल बर्षातका कारण खोलाको पानी पसेर बारबर्दिया नगरपालिका दुधामा ४० घर भगतपुरमा २२ घर र गुलरा गाउँमा १५ घर गरी बारबर्दिया नगरपालिकामा मात्र ७७ घरधुरी प्रभावित भएका छन ।
बाँसगढी नगरपालिका रेशमपुरमा ६० घर र कुनैठीमा १ सय २० घर गरी बाँसगढी नगरपालिकामा १ सय ८० घर प्रभावित भएको जिल्ला आपतकालिन संचालन केन्द्र बर्दियाले जनाएको छ ।
यसैगरी दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।
गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।