शुक्रबार राष्ट्रिय सभाको बैठकमा दुबै पक्ष (सत्ता र प्रतिपक्षी) उठेपछि संसद् बैठक स्थगित भयो। संसद्मा देखिएको यो अनौठो दृश्यमा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना मुकदर्शक बने। हुनत उनले दुबै पक्षलाई फकाएर ठट्यौली पारामा बस्न अनुरोध गरे। तर दुबै पक्षका सांसद् बसेनन। अध्यक्ष हेरिरहे। १० मिनेटभन्दा बढी समय प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु आ आफ्नो स्थानमा उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद् अवरोध गरिरहँदा सत्ता पक्षका सांसद्हरुले पनि उठेर विरोध गरेका हुन्। उनीहरुले प्रतिपक्षीले संसद् अवरोध गरेकोमा विरोध गरेका हुन्।
‘सत्ता पक्ष पनि उठ्ने प्रतिपक्षी पनि उठ्ने अब यो त मैले कसरी बैठक चलाउन, सत्ता पक्ष उठेपछि कि प्रतिपक्षी बस्नुस् त्यो पनि राम्रै हुन्छ,’ राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने ‘सत्ता पक्षका सांसदहरुको सद्भाव रहेछ, उहाँहरु (प्रतिपक्ष) मात्र किन उठ्ने भनेर उहाँहरु (सत्ता पक्ष) पनि उठ्नु भएको छ’ भन्दै ठट्टा पनि परे, कि उठीउठी हाउस चलाउने हो? नयाँ खालको अभ्यास हामी गर्ने?’
सबैले बसेर संसद्को नियमित कार्यसूचीमा जान दिन अध्यक्षले सांसद्हरुलाई फकाए। तर दुबै पक्षका सांसद्हरु बस्न मानेन। ‘सजिलो पनि अलि भएन। यसरी चलाउन त भएन। उठेर नियमित बैठक चलाउने नियम गरौं भने स्वास्थ्य कमजोर हुनेलाई पछि पछि गाह्रो हुन्छ। उठेरै चलाउनु परो बस्न दिन भएन,’ उनले भने,’ जसरी एकसाथ उभिनु भा छ त्यसरी एकसाथ बसिदिनु बैठकलाई नियमित बनाउन मद्धत गर्नुस्।’
दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिए। आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १ः०१ मा बस्नेगरी बोलाइएको छ ।
प्रकाशित: २६ श्रावण २०८० १२:५९ शुक्रबार