काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २५ प्रतिशत घटेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ५४ करोड ६१ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा घटेर रू. ४० करोड ७२ लाखमा झरेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी १८ प्रतिशत घटेको छ । अघिल्लो आवमा विद्युत विक्रीबापत रू. ९३ करोड ५० लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. ७६ करोड ३५ लाखमा सीमित भएको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा रहेकोमा गत आवमा १३ रुपैयाँ १८ पैसामा झरेको हो ।

त्यस्तै गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ७६ छ । कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ८ करोड छ भने कम्पनीले जगेडामा रू. १ अर्ब २९ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब २९ करोड सञ्चिति गरेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला