News Portal

any time News , local election in nepal 2079

फोक्सुण्डो टाढै छ

डोल्पाका भित्तामा माओवादी सशस्त्र संघर्षको निशान ताजै छ । मुलुकमा व्यवस्था कोल्टे फेरिसक्यो तर डोल्पाका चट्टानमा रातो रंगले लेखिएका क्रान्तिकारी नारा भने ज्यूँ का त्यूँ छन् । लाग्छ डोल्पा काठमाडौंको समयबाट निकै टाढा छ ।

जनकलाल शर्माले डोल्पालाई कौतुकमयको उपमा दिएका थिए । त्यही कौतुक मेटाउन म डोल्पा यात्रामा निस्किएँ ।

नेपालगञ्जबाट ६ कात्तिक साँझ ६ बजे गुडेको गाडी जाजरकोटको तल्लुबगर पुग्दा १२ घण्टा भन्दा बढी बितिसकेको थियो । तल्लुबगरबाट डोल्पा जान भेरी नदी पार गर्नुपर्छ । भेरीमा मोटर चल्ने पुल छैन । भेरीको बीचमा गाडिएको क्रंक्रिट खम्बाले भविष्यमा गाडी चढेरै ठूलो भेरी तर्न पाइने आशा जगाउँछ ।

सुदूरपश्चिम, मध्यपश्चिमतिर आफू एक्लो परे भनेर जनाउ भेरी र कर्णालीको उपमा राखेर गाइने गीत प्रचलनमा छ ।

भेरी भेरीतिर कर्णाली कर्णालीतिर

म एक्लै डाँडाको मृग कोइ नाई मेरीतिर

झोलुंगे पुलबाट पारी पुग्ने बित्तिकै गाडीधनीको सिण्डिकेटमा पर्‍यौं । यहाँबाट सजिलै सवारी साधन पाइँदैन । गाडीधनी (चालक)ले भनेको भाडा तिर्नुको विकल्प हिंड्नु मात्र हो । र, हामीले हिंड्ने विकल्प छान्न सकेनौं ।

तल्लुबगरबाट गाडी चढेका हामी साँझ जाजरकोट, रूकुम र डोल्पाको संगम त्रिवेणी पुग्यौं । त्रिवेणीबाट सुरु हुन्छ डोल्पा जिल्ला । बाटो नबिग्रिएको भए त्रिवेणीबाट उभो पनि गाडी जान्थे । तर दशैंछेकोमा परेको पानीले कच्ची बाटो बिगारेको छ ।

बाटोमा भेटिएका सानातिना खोला, खोल्सा तर्न डोल्पालीहरु अझै २५-३० वर्ष पुराना काठे पुल प्रयोग गर्छन् । पहाडी भित्तामा पोतिएका अधिकांश नारामा २१ औं शताब्दी लेख्न छुटेको छैन । तर यहाँको जीवन भने २१ औं शताब्दीबाट निकै टाढा छ ।

त्रिवेणीबाट सुरु भएको हाम्रो पैदल यात्रामा सहयात्री भए अनिल थापा । सुर्खेतका यी नौजवान डोल्पा त्रिपुराकोटमा इलेक्ट्रोनिक सामानको खुद्रा व्यवसाय गर्दा रहेछन् । डोल्पाको व्यापारिक जीवनका किस्सा, कहानी सुनाएर उनले बाटो कटाउन मद्दत गरे ।

त्रिवेणीबाट हिंडेको साँझ हामी पुग्यौं खदाङ । खदाङमा हाम्रो बसेरा भयो पूर्णबहादुर चलाउनेको होटल । होटल त बोर्डमा लेखिएको मात्र हो, खासमा यो सानो झुपडी आकारको थियो ।

खाना खाँदै गर्दा होटल साहु चलाउने हामीसँग गफिन आए । गफिनु के थियो र उनले गुनासो गरे, ‘मैले २०६५ सालमा कर्णाली स्वास्थ्य विज्ञानबाट अहेब पास गरें । त्यसपछि काठमाडौंको बागबजार बसेर लोकसेवा तयारी गरें । लिखित परीक्षा पास गरें तर अन्तर्वार्तामा भने सधैं फेल भएँ ।’

उनको गुनासोको गति बढ्दै गयो, ‘हामी हुम्ला, जुम्ला र डोल्पामा बसेर पढेका विद्यार्थी र काठमाडांैमा बसेर पढेका विद्यार्थीलाई एउटै प्रश्न सोध्छन् । हामीले कहाँबाट उत्तर थाहा पाउनु ?’ पढेर मात्र होइन, समाज र त्यहाँको वातावरणले पनि मान्छेको प्रगति निर्धारण गर्छ । डोल्पाको यो दूरदराजमा बसेका चलाउने छिनछिनमा नयाँ सूचना, जानकारी पाइरहने काठमाडौंसँग कसरी प्रतिस्पर्धा गर्न सक्दा हुन् ?

लोकसेवाबाट लोकको सेवा गर्न नसकिने चाल पाएपछि चलाउने आफ्नै भूमि डोल्पा फर्कें । ‘सरकारी नोकरी मेरा लागि होइन भन्ने लाग्यो, अनि २०७० देखि यही होटल चलाएर बस्या छु,’ चलाउनेको अनुहारबाट कान्ति हरायो ।

होटलसँगै उनी डोल्पा सदरमुकाम दुनैबाट चार घण्टाको पैदल दूरीमा रहेको अस्पतालमा करार सेवामा काम गरिरहेका छन् । करारको जागिर उनको हातबाट जतिखेर पनि फरार हुनसक्छ ।

२०७५ सालमै सडक सञ्जालसँग जोडिएको भए पनि यो गाउँ संघीय राजधानी काठमाडौंसँग भने धेरै कुरामा जोडिन सकेको छैन । बिजुली अझै पुगेको छैन । सोलारको धिपधिपे उज्यालोमा रातको अन्धकार मेटाउने प्रयास गर्छन् चलाउने जस्ता हजारौं मानिस । बिजुली बाल्न पाउने आशमा अचेल चलाउने र यस क्षेत्रका मान्छे श्रमदान गरिरहेका छन् ।

‘बिजुलीका खम्बा गाड्न भनेर अचेल दिनकै श्रमदान गरिरहेको छु,’ चलाउने सुनाउँछन्, ‘बिजुली कहिले आउने हो थाहा छैन ।’

खम्बा र तारको बाटो हुँदै कुनै न कुनै दिन बिजुली आउँछ भन्ने आशाको सानो चिम चलाउनेको मनको कुनामा बलेकै छ । यो पहाडी कन्दरामा चलाउनेसँग आशा भन्दा बढ्ता निराशा र दिक्कदारी छन् । बेलाबेला डोल्पा घुम्न आउने हामी जस्ता मौसमी पर्यटकका अगाडि उनी गुनासो पोख्छन् ।

जीवनको ऊर्जावान् समय माओवादी पार्टीमा खर्चेका चलाउनेका भाइ २०६३ सालमा काठमाडौं जाँदै गर्दा पाल्पामा सडक दुर्घटनामा परेर बिते । माओवादी शान्ति सम्झौता गरेर काठमाडौं छिरेपछि चलाउनेका भाइ जस्ता धेरै मान्छे गाउँमै छुटे । गाउँमै कामधन्दा गरिरहेका उनी कामकै खोजीमा काठमाडौं आउँदै थिए । व्यवस्था बदल्न हिंडेका चलाउनेका भाइ जस्ता धेरै मानिसको जीवनमा खास बदलाव आएन ।

मध्यरातिसम्म चलाउनेका गुनासा सुनेका हामीले पछिल्लो दिन ८ कात्तिकको बिहानै यात्रा तय गर्‍यौं । खदाङबाट कच्ची सडकमा एक घण्टा कष्टकर जीप यात्रा गरेपछि हामी पुग्यौं त्रिपुरासुन्दरी मन्दिर । खाना खाईवरी हामी सुलिगाडतर्फ उक्लियौं ।

अरु समयमा देशको केन्द्रबाट टाढै रहे पनि चुनावले भने डोल्पालाई पनि केन्द्रसँग जोड्छ । सुलिगाडको उकालोमा भेटिएकी दिदीले डोल्पाको राजनीति एक शब्दमा बताइन् । एक जना उम्मेद्वारको नाम लिंदै उनले भनिन्, ‘घरघरमा लाख-लाखका बिटा बाँडिसक्यो ।’

‘तपाईंको घरमा आइपुग्यो कि नाइँ त लाखको बिटा ?’ हामीले सोध्यौं ।

दिदीले झर्किंदै भनिन्, ‘हाम्रो मुठीमा कसको भोट छ र ? जसको मुठीमा धेर भोट छ उसैलाई त दिन्छन् पैसा ।’ चुनाव र पैसाको सम्बन्ध पुरानै हो । गरिबिलाई जिस्काउने चुनावले पाँच वर्षका लागि यस्ता किस्सा कहानी बनाइरहन्छ ।

सुलिगाड ठूलो भेरी र फोक्सुण्डो खोलाको संगम हो । यो संगमबाट शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरु हुन्छ । शे-फोक्सुण्डो ताल जाने बाटो सोधेपछि निकुञ्जको सुरक्षार्थ बसेका सैनिक जवानले पुलतिर इशारा गर्दै भने, ‘यो तरेर जानुहोस् ।’

सैनिकले देखाएको बाटोमा करिब आधा घण्टा हिंडेपछि हामी पुग्यौं निकुञ्जको मूलढोकामा । फोक्सुण्डोको ढोकामा । यहाँबाट अगाडि पाइला चालेको पैसा तिर्नुपर्छ । शुल्क उठाउन सानो बाकस जस्तो कटेरामा बसेका कर्मचारी लोकसेवा आयोगको परीक्षाका लागि ध्यानमग्न भएर किताब पढिरहेका थिए ।

यहाँबाट फोक्सुण्डो तालबाट निस्केको फोक्सुण्डो खोलाको तिरैतिर उभो लागेपछि फोक्सुण्डो तालमा पुगिन्छ । बाटैमा भेटिए छेप्का नामको बस्तीका एक होटल साहु । चिनापर्चीपछि उनले भने, ‘हाम्रो होटलमा बस्नुहोला, म फोन गरेर खाना पकाउन भन्छु ।’

बाटोमा उनले ‘द हिमालय क्याराभान’का नायक थिन्लेको प्राण लिएको भीर देखाए । हामी पनि त्यही भीर भएर हिड्यौं । ‘द हिमालय क्याराभान’ ओस्कारमा मनोनित भएपछि थिन्ले र डोल्पा धेरैको नजरमा परेको थियो ।

थिन्लेको प्राण खोसेको भीरलाई पछाडि छाड्दै हामी साँझ करिब साढे सात बजेतिर छेप्का पुग्यौं । बाटोमा भेटिएका साहुको होटल नभई होमस्टे रहेछ । होमस्टेका साहु छेवाङ बैजीलाई गाडीको सुविधा चाहिएको छैन । बस् उनलाई घोडा दौडाउन मिल्ने फराकिलो बाटो भए पुग्छ । ‘हामीलाई गाडीको सुविधा चाहिएन । मान्छे बिरामी हुँदा चार जनाले बोकेर हिंड्न सक्ने फराकिलो बाटो भए पुग्छ । गोरेटो, घोडेटो भए पुग्छ,’ उनी निरीह सुनिए ।

बाटोमा भेटिएका सानातिना खोला, खोल्सा तर्न डोल्पालीहरु अझै २५-३० वर्ष पुराना काठे पुल प्रयोग गर्छन् । पहाडी भित्तामा पोतिएका अधिकांश नारामा २१ औं शताब्दी लेख्न छुटेको छैन । तर यहाँको जीवन भने २१ औं शताब्दीबाट निकै टाढा छ ।

समय जहाँ भए पनि जीवन चलाउनुपर्छ । यार्सागुम्बा र पर्यटनले धानेको माथिल्लो डोल्पालीको जीवन कोरोनापछि कष्टकर बनेको छ । यार्साको भाउ पाइने तिब्बतको नाका बन्द छ । पर्यटक आउन छाडेका छन् । ‘तिब्बतबाट सामान ल्याउन सस्तो पथ्र्यो,’ छेवाङ सुनाउँछन्, ‘नाका खोल्या छैनन्, तलबाट ल्याउँदा महँगो पर्छ ।’ उनको हातको इसारा सदरमुकाम दुनैतर्फ थियो हामीलाई उनको इसारा बुझ्न गाह्रो भएन ।

छेप्काबाट १०-१५ मिनेट उकालो चढेपछि थिन्लेको सम्झनामा बनाइएको शालिक भएको ठाउँ पुगिन्छ । रेचीमा खाना खाएर हामी चौरीको बथानसँगै उकालो लाग्यौं । दुई घण्टा लगातार उकालो हिंडेपछि सुलिगाड झरना देखियो । बाहिरबाट जाने यात्रीहरु यो झरनालाई फोक्सुण्डो झरना भन्ने गर्छन् । तर स्थानीय भने बाहिरियालो सुलिगाड झरनाको नाम बिगारेको गुनासो गर्छन् ।

झरना हेर्दाहेर्दै बाटो हिंड्दा साँझ परिगयो । केहीबेरमा झमक्क रात पनि पर्‍यो । रातले बाटो छोप्यो । अनि अँध्यारोमा चौरीको पिसाब र दिसाको गन्ध पछ्याउँदै हामीले बाटो पहिल्यायौं ।

अञ्जान ठाउँमा अँध्यारोमा हिंड्दा बाटो भुलिन्छ कि भन्ने डरले सताइरह्यो । त्यसमाथि जंगली जनावरको डर । कतै खस्रयाक्क, खुस्रुक्क भयो कि जंगली जनावर आइहाल्यो जस्तो डर लाग्न थाल्यो । ‘बाटोको संकेत देखाउने सूचना पनि कतै छैनन्,’ साथी अविरल झर्कियो ।

अँध्यारोमा छामछुम र चौरीको पिसाबको गन्ध पछ्याउँदै हामी रिग्मो गाउँ पुग्यौं । गाउँको एक होटलमा रात बितायौं । बिहानै तिब्बती चिया (चौरी गाईको घिउ ढिक्का नुन हालेको) खाई हामी हाम्रो गन्तव्य शे-फोक्सुण्डोतिर लाग्यौं ।

फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने यो तालको निलो कञ्चन पानीले जो कोहीलाई लोभ्याउँछ । हामीले शे-फोक्सुण्डो भन्ने यो ताललाई यहाँका स्थानीय भने फोक्सुण्डो मात्र भन्छन् ।

‘सबैले शे-फोक्सुण्डो भन्छन् । खासमा तालको नाम फोक्सुण्डो हो,’ छिमे बैजीले भने, ‘शे भनेको माथिल्लो डोल्पाको गुम्बाको नाम हो । निकुञ्ज बनाउने बेलामा शे र फोक्सुण्डो जोडेर शे-फोक्सुण्डो बनाए ।’

बिहान हामी उठ्दा हिमालबाट ओर्लेर घाम आँगनको खम्बामा झुण्ड्याइएको ‘का ताइका तोङ’ (घोडाको काँठी)सम्म पुगिसकेको थियो । माथि हिमाल र तल ताल हेर्दै हामी थोरै उभो लाग्यौं । यही बाटोबाट माथिल्लो डोल्पा जान्छन् ।

यो बाटो हुँदै हामी छोलुफूसम्म पुग्यौं । यो यात्रामा भेटिए काठमाडौंबाट घुम्न गएका हामी जस्तै मौसमी यात्री नवीन चापागाईं । ‘काठमाडौंका कोठामा बसेर भ्रमण वर्षको तयारी गर्छन्,’ चापागाईं आक्रोशित सुनिए, ‘यहाँ यो भीरको बाटोमा दुई जना पनि सँगै हिंड्न सकिंदैन ।’ यो बाटो कति रोमाञ्चक छ भने यहाँबाट चिप्लियो भने सिधैं फोक्सुण्डो तालमा डुबुल्की लगाउन पुगिन्छ ।

यात्रा हो अनेकथरी मान्छे भेटिन्छन् । मान्छेसँग यात्राका किस्सा हुन्छन् । छोलुफूसम्मको यात्रामा भेटिए भक्तपुरे दिदीबहिनी । उनीहरु हिजो राति बाटो भुलेर केहीबेर अलपत्र परेका रहेछन् ।

बाटो बिर्सेर अलपत्र परेको, अक्करे भीरमा खुट्टा कपाउँदै हिंडेको, गाडी भाडा धेरै तिरेको यी तमाम गुनासा फोक्सुण्डोको विराट रुप देखेपछि भने हराउँदा रहेछन् । छोलुफूबाट फोक्सुण्डो तालको पूरा रुप देखिन्छ । अंग्रेजी अक्षरको वाई आकारमा फैलिएको यो तालको पानी रोकेर राख्न वरिपरि अजंगका पहाड उभिएका छन् ।

समुद्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा रहेको फोक्सुण्डो करिब पाँच किलोमिटर लामो र डेढ किलोमिटर फराकिलो छ । फोक्सुण्डो तालको पानीको स्रोत भनेको कान्जिरोवा हिमाल हो । कान्जिरोवा हिमाल वरिपरि रहेका सानातिना टाकुराको हिउँ पग्लेर पनि फोक्सुण्डोमा आइपुग्छ ।

सहरी कोलाहल र रुटिन जीवनबाट फुत्केर बेलाबखत प्राकृतिक सौन्दर्य नियाल्न उछिट्टिने हामी जस्तालाई जहाँ पनि समयको बन्देजले पछ्याइरहन्छ । फोक्सुण्डो तालको सौन्दर्य परख गर्न चार घण्टा छोटो समय हो । छोटै नै सही फोक्सुण्डोका दृश्य मनको कुनामा स्टोर गर्दै हामी फर्कियौं काठमाडौंका लागि ।

फर्किदैं गर्दा जीपमा तुलसी घर्ती मगर र लेख बुढाले गाएको गीत घन्कियो-

ठूली भेरी नौपालिका त्रिपुरासुन्दरी

तिम्रै झल्को आइरहन्छ मलाई घरीघरी

डोल्पा राम्रो फोक्सुण्डो ताल

झनै राम्रो दुनैको बजार

जति हेर्‍यो हेरिरहुँ लाग्ने

तिमीतिरै गइरहन्छ नजर

तस्वीर : अस्मिता राई/अविरल दाहाल

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *