Wednesday, December 7, 2022

कठोर संघर्षपछि रेखा शर्माले रचेको विजयको कथा

८ मंसिर, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको तयारी गर्न काठमाडौंबाट दाङ प्रस्थान गर्नुअघि रेखा शर्माले अनलाइनखबरसँग भनेकी थिइन्– ‘अहिले मलाई दिवाकर सर (पोष्टबहादुर बोगटी)को याद आइरहेको छ । उहाँले भेलमा होमिदिएका छौं, अब आफैं पौडिनू भन्ने गर्नुहुन्थ्यो ।’

कुरा २०५७ सालको हो । रेखालाई पहिलोपटक पार्टीको केन्द्रीय सदस्य बनाएको जानकारी उनै बोगटीले दिएका थिए । त्यतिबेला पार्टीको केन्द्रीय समितिमा पुग्न पाउनुलाई ठूलो राजनीतिक उपलब्धि मानिन्थ्यो ।

आफू केन्द्रीय सदस्य बनेको थाहा पाएपछि रेखाले भनेकी थिइन्– म यो जिम्मेवारी पूरा गर्न सकुँला र ? त्यसमै थियो बोगटीको जवाफ– ‘अब आफैं पौडिनू ।’

प्रतिनिधि सभा निर्वाचन २०७९ मा पूर्वसभामुख कृष्णबहादुर महरालाई रोकेर माओवादी केन्द्रले रेखा शर्मालाई टिकट दिएको थियो । उनको जिम्मेवारी थियो, एमालेका प्रभावशाली नेता शंकर पोख्रेललाई हराउने ।

जसरी पार्टीको केन्द्रीय सदस्य हुँदै स्थायी समिति र एकपटक सामान्य प्रशासन मन्त्री बनेर शर्माले आफ्नो क्षमतालाई प्रमाणित गरिन्, अहिलेको निर्वाचनमा पनि उनले आफूलाई प्रमाणित गरेर देखाएकी छन् ।

निकै कडा प्रतिस्पर्धाका बीच रेखा शर्माले एमाले महासचिव पोख्रेललाई १९७ मत अन्तरले हराइन् । उनले मतगणना सुरु भएदेखि अन्तिमसम्म शंकरलाई उछिन्न दिइनन् ।

दाङ २ बाट उम्मेदवार सिफारिस गर्दा पहिलो नम्बरमा महराको नाम थियो । दोस्रोमा रेखा र तेस्रोमा निर्मल आचार्य थिए । तर माओवादी अध्यक्ष प्रचण्डले महरालाई त्यहाँबाट चुनाव नलड्न भने ।

अध्यक्षको आग्रहबीच पनि महराले क्षेत्र नम्बर १ बाटसमेत आफ्नो नाम सिफारिस गरेर पठाउन लगाए । पार्टीले उनको अड्डी सदर गरेन । विवादित छबिका महराको सट्टा अहिलेसम्म बेदाग रेखा नै उपयुक्त भएको ठहर गर्यो ।

प्रचण्डले रेखालाई बोलाएर चुनावको तयारी गर्न दाङ जान भने । त्यहीबेलै हो, रेखाले अनलाइनखबरसँग भनेको, ‘अहिले मलाई दिवाकर सरको भनाइ याद आइरहेको छ । पार्टीले चुनावमा होमिदियो, अब पौडिनु छ ।’ अन्ततः निर्वाचनको महासागर तर्दै पहिलो प्रत्यक्ष परीक्षामै उनी पास भएकी छन् ।

यसअघि २०७० सालमा समानुपातिक कोटाबाट पहिलोपटक संविधान सभा सदस्य बनेकी रेखा २०७४ सालमा पुनः समानुपातिक कोटाबाटै संसद् बनेकी थिइन् ।

गठबन्धनको दरिलो साथ

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चासोका साथ हेरिएका विभिन्न क्षेत्रमध्ये एक हो दाङ २ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र शंकर र प्रचण्डको विश्वासपात्र रेखाबीचको प्रतिस्पर्धा दुबै पार्टीका लागि प्रतिष्ठाको विषय बनेको थियो ।

दाङ २ मा माओवादी केन्द्र तेस्रो शक्ति हो । एमाले पहिलो र कांग्रेस दोस्रो शक्ति थिए । स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई हराएर घोराही उपमहानगरपालिकाको मेयर जितेपछि एमालेको मनोबल उच्च थियो । दाङ २ मा वडा अध्यक्षहरुले पाएको मत हेर्दा नेकपा एमाले एक्लैको मत ३३ हजार ५९३ थियो । दोस्रोमा स्थानको कांग्रेसको मत २३ हजार ३०१ र तेस्रो स्थानको माओवादी केन्द्रको १० हजार ४७८ थियो ।

गठबन्धनका दलहरु आ–आफ्ना पार्टीको मत प्रतिस्पर्धी उम्मेदवारमा जान नदिन र एमाले उनीहरुबाट मत खोस्न सक्रिय थिए । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनौती थियो । तर गठबन्धन आफ्नो मिसनमा सफल भयो ।

रेखा शर्माको चुनावी अभियानको नेतृत्व गरेका माओवादी केन्द्रका नेता हेमराज शर्मा भन्छन्, ‘हामी जित्छौं भन्ने त थियो, सँगै गठबन्धनको मत कसरी जोगाउने भन्ने चिन्ता पनि ।’ हेमराज उनै हुन् जो घोराहीको मेयर चुनावमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए । कांग्रेससँग मिलेर चुनाव लडे पनि कांग्रेसबाटै मत नआउँदा हेमराज हारेको निष्कर्ष माओवादी केन्द्रको थियो । तर प्रतिनिधि सभा निर्वाचनमा रेखा उम्मेदवार बनेर आउँदा कांग्रेसका नेताहरुमा स्थानीय चुनावको तुलनामा अलि बढी उत्साह भने थियो ।

माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य भन्छन्, ‘कुनै पनि हिसाबले हाम्रो लागि निर्वाचन प्रतिकूल हुन्छ भन्ने मलाई लागेको थिएन । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारलाई भोट हाल्न नमानेकाहरुले पनि यसपटक रेखा शर्मालाई भोट दिन्छौं भनेकाले हामी ढुक्क थियौं ।’

दायाँबाट- प्रतिनिधि सभा सदस्यमा विजयी रेखा शर्मा, प्रदेश सभा सदस्यमा विजयी नेपाली कांग्रेसका राजु खनाल र प्रचण्ड विक्रम न्यौपाने गुन्टु ।

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा माओवादीले र प्रदेश सभा तर्फका दुईवटै क्षेत्र कांग्रेसले लिएर तालमेल भएको थियो । रेखाले प्रतिनिधि सभा जित्दा प्रदेश सभातर्फ दाङ २ (१)मा राजु खनाल र २ (२) मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् ।

खनालले भने, ‘स्थानीय तह निर्वाचनमा हाम्रो तर्फबाट कमजोरी भएकै थियो । यो चुनावमा भने कमजोरी हुन नदिने गरी हामीले तयारी गरेका थियौं र त्यो तयारीमा सफल भयौं ।’

रेखाको राजनीतिक यात्रा

२०२६ साल असोज ९ गते घोराहीको रझेनामा जन्मिएकी रेखाले २०४३ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेकी थिइन् । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्तीर्ण उनी अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन् ।

२०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष, २०५० सालमा अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य र २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भइन् । महिला संगठनको नेतृत्व गर्दा रक्सी विरोधी र दाइजो विरोधी अभियान तथा महिला जागरण अभियान चलाएर चर्चा कमाएकी थिइन् ।

२०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेकी उनले काठमाडौं उपत्यका उपब्युरोको प्रमुख भएर काम गरिन् ।

२०७० सालमा संविधानसभामा समानुपातिक कोटाबाट रेखा पहिलोपटक सांसद बनेकी थिइन् । त्यतिबेला डा. बाबुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरिन् । प्रचण्डले विश्वास गरेर उनलाई माओवादीको तर्फबाट संसदमा प्रमुख सचेतकको जिम्मेवारी समेत दिए ।

२०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी रेखा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत भएर काम गरिन् । संविधान निर्माणको क्रममा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछिन् ।

त्यसपछि २०७४ सालमा पुनः समानुपातिकबाट सांसद् बनेकी रेखाले घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना लगायतका विकासका महत्वपूर्ण काममा भूमिका निर्वाह गरेकी छन् ।

उनी संविधान र कानुन निर्माणको क्रममा नियमित संसदीय समितिमा जाने र सक्रिय हुने माओवादीका थोरै मात्र महिला नेताहरुमध्ये पर्छिन् ।

सेनाको हिरासतमा कठोर यातना

२०५८ साल चैतमा उनी श्रीमान कृष्णध्वज खड्कासँगै काठमाडौंको चाबहिलबाट पक्राउ परिन् । काठमाडौं उपत्यकामा माओवादीको विशेष क्षेत्रीय ब्यूरो मातहत दुई उपब्यूरो थिए । केन्द्रीय राजनीतिक परिचालन उपब्यूरोका इन्चार्ज कृष्णध्वज थिए भने रेखा संगठन तथा संघर्ष उपब्यूरोकी इञ्चार्ज थिइन् ।

उनीहरुले बादलको दिशानिर्देशमा काम गर्नुपर्थ्यो । कामका योजना बनाइरहेको बेला सेनाको टोलीले पक्राउ गरेको थियो । त्यहाँबाट दुबैलाई गाडीमा हालेर ललितपुरको राजदल गणमा लगियो । रेखा र कृष्णध्वजमाथि उनीहरुले यातनाका विभिन्न ‘प्रयोग’हरु गरे । शरीरमा चक्कुले चिरेका दागहरु अहिले पनि रेखाका शरीरमा छन् ।

अनलाइनखबरसँगको एक बसाइमा उनले यातना शिविरका अनुभव साट्दै भनेकी थिइन्, ‘नाक बन्द गरेर मुखमा पानीको फोहोरा हाल्दा सबैभन्दा असैह्य महसुस भयो, म कयौंपटक यातनाका क्रममा बेहोस भएँ । बेहोसीबाट ब्युँझदा शरीरमा अर्कै कपडा हुन्थ्यो । हामीले एक वर्षसम्म नर्कतूल्य जीवन भोग्यौं ।’ २०५९ साल चैत ३१ गते सरकार र माओवादीबीच वार्ता शुरु भएपछि रेखा र कृष्णध्वज रिहा भएका थिए । त्यसपछि पार्टीको नियमित काममा उनीहरु जोडिएका थिए । कृष्णध्वज लुम्बिनी प्रदेशको अर्थमन्त्रीसमेत छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments