News Portal

any time News , local election in nepal 2079

देश ‘श्रीलंका’ बने के हुन्छ ? – Online Khabar

पछिल्लो समय नेपालका केही शीर्ष नेताहरू ‘देश श्रीलंका बन्दैछ’ भन्ने अभिव्यक्ति दिइरहेका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसम्म देश श्रीलंका बन्ने भय सम्प्रेषण गरिरहेका छन् । यस्तो अभिव्यक्ति दिएर उनीहरू नागरिकको ध्यान आफूतिर खिच्न चाहिरहेका छन् ।

नेपालका ती नेताहरू नेपाल श्रीलंका हुने भयको व्यापार गरिरहेका छन् जसको कारण नेपालको आर्थिक अवस्था बिग्रिइरहेको छ र जसको नेतृत्वमा नेपाल श्रीलंका हुने भय नागरिकको मनमा छ । ०४६ सालपछि नेपालमा दलहरूले खुल्ला राजनीति गर्न थालेको ३३ वर्ष पूरा भइसक्यो । यसबीचमा ज्ञानेन्द्र शाह नेतृत्वको केही वर्ष घटाउने हो भन्दै झण्डै तीन दशक देशमा कांग्रेस र कम्युनिष्टले नै शासन गरे ।

यो तीन दशक लामो समयमा केही मात्रात्मक विकास भए होलान्, तर संसारसँग तुलना गर्ने हो भने हामी कहाँ छौं ? सुशासन र समृद्धिको कसीमा हामी कहाँ छौं ? न भ्रष्टाचारको अन्त्य होइन, बिस्तार भयो । अर्थतन्त्रको पुनर्संरचना गरिएन । सीमान्तकृत समुदायको आर्थिक उन्नतिका कामहरू अलपत्र छन् । वैदेशिक परनिर्भरता बढ्दै गइरहेको छ । अर्थतन्त्र झन झन कमजोर हुँदै आयातमा आधारित बन्न पुगेको छ । भएका उद्योगधन्दा पनि बन्द गरिए, फलस्वरूप उत्पादन घट्यो । यो कसको कारण हो ?

यी सबै असफलताको दोषी को ? दोषी उनीहरू नै हुन् जो यसबीचमा कुनै न कुनै रूपमा सत्तासीन भइरहे । विडम्बना तिनै शासकहरू अहिले ‘देश श्रीलंका हुँदैछ’ भनेर भयको राजनीति गरिरहेका छन् । उनीहरूले ऐना हेर्नुपर्दैन ? नैतिक जिम्मेवारी लिनुपर्दैन ? हामी योग्य रहेनछौं भनेर राजीनामा दिनुपर्दैन ? नयाँ पुस्तालाई मार्गप्रशस्त गर्दै राजनीति नछाड्ने हो भने देशै छाड्नुपर्ने अवस्था आउँदो रहेछ भनेर श्रीलंकाबाट सिक्ने कि नसिक्ने ? के देश श्रीलंका बन्दैछ भन्ने भाष्य स्थापित गराउने प्रयास सामान्य कुरा हो ? देश असफल हुँदैछ भनेर भाष्य स्थापित गराउनु गम्भीर गल्ती हो । प्रकारान्तरले यो राजनीतिक अपराध सावित बन्न सक्छ ।

यी सबै अभिव्यक्तिहरू ‘फल्स न्यारेटिभ’ स्थापित गरेर आफू चोखो भएको आत्मरतिमा रमाउने प्रयास शीर्ष नेताका लागि घातक सावित हुनसक्छ ।

केही साताअघि अमेरिका बसाईको क्रममा एक युवा नेपाल फर्कने कुरा गर्दै थिए । अमेरिकामा उल्लेख्य प्रगति गरेका उनी स्वदेशमै नयाँ व्यवसाय सुरु गर्ने योजना सुनाउँदै थिए । नेपालमा शीर्ष नेताबाट नै देश श्रीलंका बन्ने भय सम्प्रेषण सुरु भएपछि उनी झस्किए । उनको सन्देश थियो- ‘जानाजान डुब्न लागेको देशमा आएर कसरी लगानी गर्नु ?’

देशका शीर्ष नेताहरूले देश असफल हुँदैछ भनेर ठोकुवा गरिरहँदा यहाँ कसले नयाँ उद्यम सुरु गर्छ ? कसले कुनै ठूलो जोखिम उठाउँछ ? नेताहरूको गलत अभिव्यक्तिले सामान्य अवस्थामा रहेको देश पनि असफल हुने जोखिम बढ्ने रहेछ । यसले एउटा नकरात्मक वातावरण बन्दो रहेछ । यस्तो अभिव्यक्ति दिनुअघि नेताहरूले सय पटक सोच्नुपर्ने हो ।

आफ्नो राजनीतिक अभियानको गर्भमा नेपाललाई श्रीलंका बनाउने उपाय हुर्काउँदै नागरिकमा भयको सञ्चार गर्नेहरूले याद नगरेको विषय के हो भने नेपाल श्रीलंका हुँदा भैंसी लखेटाइमा पर्ने नेताहरू उनीहरू नै हुन् । देश छाडेर भाग्नलाई मध्यरात कुर्नुपर्ने अवस्था सिर्जना हुँदा उनीहरूको अवस्था कस्तो होला ?

सूचना प्रविधिको अभूतपूर्व क्रान्तिको बेला विद्रोह संक्रमणको झिल्का एक देशबाट अर्को देशमा सल्कनु कुनै आइतबारको कुरा होइन । अरब क्रान्ति लगायतका उदाहरण कसले बिर्सिएको होला र ?

श्रीलंकामा केही महिनाअघि विलासी जीवनशैलीमा खुसीयाली मनाइरहेका शासकहरू अहिले भागाभागको अवस्थामा छन् । देशै छाडेर भाग्नुपर्ने अवस्थासँगै राजनीतिक अस्तित्व पनि सम्पूर्णरूपले सकिने सम्भावना बढेको छ । हाम्रो नेताहरूले पनि यी घटनाहरूलाई गम्भीर ढंगले अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ । आफू असक्षम सावित भइसक्दा पनि कुर्सी नछाड्ने अभ्यासको पटाक्षेप गम्भीर हुनसक्छ ।

नेपालको बिग्रिएको अवस्थाको जिम्मा अहिलेका नेताहरूले नै लिनुपर्छ । आफैंले देशको अवस्था दयनीय बनाउने अनि ‘देश श्रीलंका हुँदैछ’ भनेर कसलाई सुनाउन खोजेको ?

‘नेपाल पनि श्री लंका हुँदैछ !’ भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताले यही भनिरहेका छन् । नातावादको साँघुरो पोखरीमा डुबेका नेताहरू पनि यही डर देखाइरहेका छन् । यसले नेपालमा नैतिक धरातलमा उभिएर कुनै निश्चित राजनीतिक, दार्शनिक आधारमा गरिने राजनीति सकिएको पुष्टि गर्दछ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेको देखेँ- ‘हाम्रा राष्ट्रपति/प्रधानमन्त्री निवासमा स्विमिङ पुल छ कि छैन ? कस्तो पौडी खेल्न मन लागेर आयो ।’ देशका शीर्ष नेताहरूले मच्चाएको मनोवैज्ञानिक आतंक र सामाजिक सञ्जालमा व्यक्त यस्ता विचारहरूले उस्तैगरी भिडलाई विद्रोहको निम्ति प्रोत्साहित गर्न सक्छ ।
राजनीतिमा भयको सञ्चार विचार र नैतिकता गुमाएपछि गरिने प्रयोग हो । भिजनको राजनीति गर्ने क्षमता गुमाएपछि नेताहरू भयको राजनीति गर्छन् । भिजनको राजनीति अगाडिको बाटो देखाउने दूरदर्शिता हो । भयको राजनीति ‘स्याल आयो स्याल’ भनेर कुखुरा चोर्ने पुरानै तरिका हो । आशा र विश्वास सकिएपछि डर देखाएर तर्साउने र नागरिकलाई ‘ब्ल्याकमेल’ गर्ने यस्तो राजनीति राष्ट्रवादी राजनीतिक प्रयोगकै अर्को संस्करण हो । यो कुनै देशभक्ति वा देश र जनताप्रतिको प्रेम होइन ।

जसरी राजनीतिमा राष्ट्रवादी गोटी चाल्ने नेताहरूले कुनै काल्पनिक शत्रु देश खडा गरेर नागरिकको भावना भड्काउन खोज्छन्, भयको राजनीतिमा पनि कुनै काल्पनिक संकट खडा गर्दै पानी धमिलो बनाएर माछा मार्ने छट्टु तरिका अवलम्बन गरिन्छ ।

कहिले देश युद्धमा जाने भय, कहिले विदेशी हस्तक्षेपको भय र कहिले देश ‘श्रीलंका’ बन्ने भय ! भनिन्छ- आतंक राजनीतिक उद्देश्यका लागि भयको अन्तिम दुरुपयोग हो । वास्तवमा यसको विशिष्ट लक्ष्य आम जनतामा भय पैदा गर्दै कुनै देशको राजनीतिक वास्तविकतालाई विकृत गर्नु हो । आतंकको सहारा लिने नेताहरूले अतिरञ्जित गरेभन्दा देशलाई असाध्यै कम मात्र पनि क्षति हुने अवस्था हुँदैन ।

आधुनिक राजनीतिक दर्शनशास्त्रका एक संस्थापक मानिने थोमस हब्सको ‘डरको सिद्धान्त’ मा भनेका छन्, ‘सार्वभौम शक्ति डरको स्रोत हो, र त्यो सार्वभौम शक्ति सिर्जित डर मानिसहरूमाथि शासन गर्न प्रयोग गरिन्छ ।’ हाम्रा नेताहरू यसैको प्रयोग गर्दै आए र यही गरिरहेका छन् ।

देश ‘श्रीलंका’ बन्दैछैन । यो हल्ला देश ‘श्रीलंका’ बनाउन चाहनेहरूले चलाएका हुन् । यो निष्कर्षलाई झूटो सावित गर्ने हो भने ती नेताहरूले नयाँ पुस्ताको लागि मार्गप्रशस्त गर्नुपर्छ । यदि बनिहाल्यो भने त्यसको पहिलो प्रतिक्रिया नेपाललाई तेस्रो विश्वमा राखिराख्न भूमिका खेल्ने तिनै नेतृत्वले पाउनेछन् । बलजफ्ती ‘देशलाई श्रीलंका बनाउने’ प्रयास गर्नेहरूले चर्को मूल्य चुक्ता गर्नुपर्छ । त्यो मूल्य कति ‘चर्को’ हुन्छ, श्रीलंकातिर हेरून् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.