Tuesday, October 4, 2022

वैकल्पिक राजनीतिका त्रुटि र अबको बाटो – Online Khabar

केही समय अगाडिसम्म ‘वैकल्पिक राजनीति’ निकै मिठो शब्द थियो । लगभग एक दशकदेखि नै विभिन्न व्यक्ति र समूहले यो शब्दको राग गाए । तर आजसम्म आउँदा न त निर्णायक शक्ति सिर्जना भयो, न त मौलिक धार । स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार उदाएपछि अहिले ‘वैकल्पिक राजनीति’को राग मधुरो भएको छ ।

यस सम्बन्धमा वैकल्पिक राजनीति गर्छु भन्नेहरूको आफ्नै गुनासो छ । उनीहरू भन्दछन्- हामीसँग सही विचार छ, तर जनताले बुझिदिएनन् । हाम्रा कुरा जनताले सुनिदिएनन् । यस्ता गुनासाले नै स्पष्ट भन्दैछन्- ‘वैकल्पिक राजनीतिवालाहरू आफूभित्र कमजोरी छ भन्ने कुरा स्वीकार गर्न तयार छैनन् ।’

वास्तविकता यो हो कि ज-जसले नेपालमा वैकल्पिक राजनीति गर्छु भने, ती वास्तविक वैकल्पिक नै थिएनन् । उनीहरूसँग वैकल्पिक सोच र विचारधारा नै थिएन । उनीहरू पुराना शास्त्रीय दल भन्दा अलिकति पनि फरक थिएनन् । उनीहरूको असफलताको मूल कारण नै यही हो ।

वैकल्पिक राजनीति जरूरी छ । यसको सफलताको एउटै शर्त हुन्छ- सोच र शैलीमा ‘पाराडाइम शिफ्ट’ । तर आजका वैकल्पिक हुँ भन्नेबाट यो सम्भव देखिंदैन । त्यसैले, नयाँ शिराबाट वैकल्पिक राजनीतिको सुरुवात गर्नु जरूरी भएको छ । यसको पहिलो कदम, वैकल्पिक राजनीतिका नाममा विगतमा भएका त्रुटिहरूको पहिचान गर्नु हो । यस आलेखमा तिनै त्रुटिबारे चर्चा गरिएको छ ।

अवधारणा

राजनीतिको ‘अवधारणा’ अन्तर्गत समाजको अतित कस्तो थियो र भविष्य कस्तो हुनेछ भन्ने कुराको निरुपण गरिन्छ । शास्त्रीय राजनीतिमा दुई धार प्रचलित छन् । यिनीहरूले यस विषयमा ठिक विपरित कुरा गर्दछन् । एकथरी अतित राम्रो थियो, भविष्य खराब आउँदैछ भन्दछन् । अर्कोथरी अतित खराब थियो, भविष्य राम्रो आउँदैछ भन्दछन् । अर्थात्, एकथरी पश्चगामी र अर्कोथरी अग्रगामी छन् ।

पश्चगामी ती हुन् जो अमूक सम्प्रदायका नाममा राजनीति गर्दछन् । एसियामा हिन्दु, बौद्ध र इस्लामका नाममा, युरोप, अफ्रिका र अमेरिकातिर इसाइका नाममा यस्तो राजनीति चलिरहेको छ । यिनीहरू भन्छन्- अतितमा ‘राम-राज्य’ थियो, ‘सत्य-युग’ थियो । अहिले त्यो छैन, त्यसैले दुःख छ । भविष्यमा पाप र अराजकता झन्-झन् बढ्नेवाला छ । त्यसैले अतितको आदर्शतर्फ र्फकनुपर्दछ । यसैमा मनुष्यको कल्याण छ ।

अग्रगामी ती हुन् जो ‘शास्त्रीय विज्ञान’ का आधारमा राजनीति गर्दछन् । यसमा उदारवादी, साम्यवादी, समाजवादी, राष्ट्रवादी र कल्याणवादी पर्दछन् । अग्रगामीहरू भन्छन्- अतितमा जंगली युग थियो, हिंसा र ‘मत्स्य-न्याय’ थियो, हाल केही सुधार भएको छ, तर यो पर्याप्त छैन । ‘सत्ययुग’ भविष्यमा आउनेवाला छ । त्यसैले भविष्यतर्फ लम्कनुपर्दछ । यसैमा मनुष्यको कल्याण छ ।

शास्त्रीय राजनीतिका यी दुई धारले दुईतिर जोड गरेको भए पनि उनीहरूको निष्कर्ष एउटै छ । त्यो हो- राजनीति वर्तमानमुखी हुन जरूरी छैन । र, यही नै उनीहरूको गलत निष्कर्ष हो ।

राजनीति भनेको जनताको आवश्यकता -आहार, निद्रा, भय, मैथुन) व्यवस्थापनको काम हो । अतितमुखी वा भविष्यमुखी सोचले यो काम असंभव छ । अतितमुखी वा भविष्यमुखी सोचले राजनीतिकर्मीलाई सतही र गैरजिम्मेवार बनाउँछ । भोलि ठिक भइहाल्छ नि भन्दै वर्तमानमा मनपरी गर्ने आधार तयार गरिदिन्छ । यस्तो सोचले राजनीतिकर्मीलाई अतित वा भविष्यको ‘स्वर्ग’ देखाएर वर्तमानमा जनता ठग्ने ठगमा रूपान्तरण गरिदिन्छ । हाम्रो राजनीतिको हालको रोग नै यही हो ।

यो रोग निवारण गर्ने एउटै उपाय राजनीतिलाई ‘वर्तमानमुखी’ बनाउनु हो । जब राजनीति वर्तमानमुखी हुन्छ, तब जनताको पक्षमा तत्काल परिणाम निकाल्नुपर्दछ भन्ने मूल्यमान्यताको विकास हुन्छ । तब पलपलमा अध्ययन-अनुसन्धान अनिवार्य बन्दछ । हरेक काममा तथ्य-तथ्यांक अनिवार्य बन्दछ । राजनीतिकर्मीले जनताका समस्याको नजिकमा पुग्नु अनिवार्य हुन्छ । भुइर्ं तहका एजेण्डाको पहिचान र प्राथमिकीकरण अहं महत्वको विषय बन्छ । यसले राजनीतिकर्मीलाई गैरजिम्मेवार र आडम्बरी बन्न रोक्छ ।

एउटा साधारण नियम यो हो कि वर्तमान नसुधारी भविष्य सुध्रदैन । अनि वर्तमान नसुधारी अतितको आदर्श पनि हासिल हुँदैन । तर आजसम्मको राजनीतिमा यो साधारण नियमलाई ख्याल गरिएको छैन । राजनीतिक विचारधारा कि त अतितमुखी छन् कि त भविष्यमुखी । वर्तमानमुखी कोही छैन ।

दोषपूर्ण चिन्तन पद्धतिले नै अतितमुखी र भविष्यमुखी राजनीति पैदा गरेको हो । अतितमुखीहरूको रहस्यवादी पद्धति र भविष्यमुखीहरूको यान्त्रिक चिन्तन पद्धतिले समाजको गतिलाई एकलरेखीय परिपथमा देखायो । तर समाजको स्वभाव रहस्यमय पनि छैन, यान्त्रिक वा गणितीय पनि छैन । त्यसैले, समाजले कहिल्यै ती कुनै परिपथको अनुसरण गर्दैन । अर्थात्, अतितमुखीहरूको ‘रामराज्य’ वा भविष्यमुखीहरूको ‘रामराज्य’ -उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, कल्याणवाद) कहिल्यै साकार हुँदैन ।

समाज आˆनै मौलिक नियम अनुसार गतिशील हुन्छ । शास्त्रीय राजनीतिले सोचेको जस्तो गन्तव्य कहिल्यै आउँदैन । राजनीतिकर्मीले जहिल्यै जागरुक र सक्रिय भएर आफ्नो काम गरिरहनुपर्दछ । समाजको सुदूर भविष्य कस्तो हुन्छ ? यस प्रश्नमा हाम्रो बुद्धिले सम्भावनाको मोटो अनुमानसम्म गर्न सक्छ, तर भविष्यको किटान गर्न सक्दैन । त्यसैले, मानवीय बुद्धिको यो सीमालाई स्वीकार गर्नु नै राजनीतिकर्मीको कर्तव्य हो ।

यसको अर्थ राजनीतिकर्मीले कहिल्यै पनि ‘म सबै कुरा जान्दछु’ भन्ने घमण्ड गर्नुहुँदैन । बरु ‘धेरैजसो कुरा म जान्दिनँ’ भनेर स्वीकार गर्नुपर्दछ । हामी मनुष्यका लागि यो निकै कठिन काम हो । किनकि हामीभित्रको अहंकारले हत्तपत्त यसो भन्न दिंदैन । तर जब भित्रैदेखि यो यथार्थ स्वीकार गरिन्छ, तब यही दूरगामी महत्वको क्रान्तिकारी कदम बन्दछ । यति स्वीकार गर्दा यसका क्रान्तिकारी परिणाम देखिन सक्छन् ।

पहिलो, यति स्वीकार गर्ने बित्तिकै ज्ञान आर्जनको नयाँ ढोका खुल्दछ । राजनीतिमा मेरो भूमिका निर्देशकको होइन, सहजकर्ताको मात्र हो भन्ने ठाउँसम्म पुर्‍याउँछ ।

दोस्रो, राजनीतिमा गन्तव्य तोक्ने परम्परा समाप्त हुन्छ । यसले उदारवाद र समाजवाद, इमानदार र बेइमान, वामपन्थ र दक्षिणपन्थ, अग्रगामी र पश्चगामी जस्ता बुद्धिविलास र अहंकारजन्य विभाजन समाप्त पार्दछ । विश्वयुद्धदेखि शीतयुद्धसम्मका तमाम मानवीय मूर्खता औचित्यहीन सावित हुन्छन् ।

तेस्रो, राजनीतिकर्मीलाई अहंकार र महत्वाकांक्षाबाट हटाएर जनताको आवश्यकता व्यवस्थापनको वर्तमानमुखी काममै केन्द्रित हुनुपर्ने परिवेश स्वतः सिर्जना हुन्छ । कर्ममा ध्यान नदिई फल-चिन्तनतिर प्रवृत्त हुने मानवीय स्वभावलाई फर्काएर कर्म चिन्तन नै मूल्यवान हुन्छ भन्ने बोध गराउँछ ।

शास्त्रीय राजनीति अहंकारजन्य विचारमा आधारित छ । त्यसकारण उनीहरू कर्म भन्दा फल-चिन्तनमा जोड गर्दछन् । समाजलाई बोधगम्य वस्तु मान्छन् र आफूलाई समाजको निर्देशक ठान्छन् । समाजलाई यान्त्रिक बिम्वमा हेर्दछन् र राजनीतिक गन्तव्यको वकालत गर्दछन् । सारमा शास्त्रीय राजनीतिकर्मीहरू ‘म जान्दिनँ’ भनेर स्वीकार गर्न तयार हुँदैनन् । यसकारण ती समूहमा ज्ञानका सारा ढोका बन्द भएका छन् । त्यस्ता समूह जमेको पोखरीमा रूपान्तरण भएका छन् ।

यो टिप्पणी हाम्रा ‘वैकल्पिक नेता’ मा पनि लागू हुन्छ । हाम्रा ‘वैकल्पिक नेता’ पनि ठ्याक्कै यस्तै छन् । यस्तो प्रवृत्तिबाट बच्ने उपाय ‘आधुनिक विज्ञान’ र बुद्ध-पुरुषका वचनको अध्ययन नै हो । तर हाम्रा ‘वैकल्पिक नेता’ ले यता खासै चासो राखेनन् ।

परिणाम यो भयो कि अन्य शास्त्रीय दलका नेता जस्तै ‘वैकल्पिक नेता’ पनि सतही र गफाडी देखिए । भुइँ तहमा गएर जनताको एजेण्डा खोतल्नेतर्फ कसैको दृष्टि गएन । जनताका समस्या अलपत्र परिरहे, ‘वैकल्पिक नेता’ भ्रष्ट नेतासँग मीत लगाउँदैमा व्यस्त रहे । शास्त्रीय चेतनाको चक्रव्यूहमा बाँधिएकै कारण यो गल्ती भयो । सच्याउनुपर्ने यहींनेर हो ।

मूल्यमान्यता

राजनीतिको अवधारणा मात्र सही हुनु पर्याप्त हुँदैन । त्यसपछि आउँछ, मूल्यमान्यताको प्रश्न । राजनीतिमा मूल्यमान्यताको प्रश्नले अवधारणा जत्तिकै महत्व राख्दछ । साथै, अवधारणा र मूल्यमान्यता परिपूरक र अभिन्न पनि हुन्छन् । अवधारणा र मूल्यमान्यता दुवै सही हुँदा मात्र राजनीतिक लाइन सही हुन सक्छ ।

मानिस के गर्दा खुसी वा आनन्दित हुन सक्छ भन्ने प्रश्नको उत्तरले राजनीतिको मूल्यमान्यता निर्माण गर्दछ । यस प्रश्नमा राजनीतिकर्मीले खोजेको उत्तरले ऊ स्वयंको र उसको राजनीतिको गुणवत्ता पनि निर्धारण गर्दछ ।

यो प्रश्नमा दुई खालका दृष्टिकोण प्रचलित छन्- भोगी र योगी । भोगी त्यो हो, जसले व्यक्तिको आत्मिक गुण जीवनको साधन मात्र हो, बाहिरको भौतिक सुख (धन, पद र शरीर सुख) प्राप्ति नै मानिसको खुसीको निर्णायक तत्व हो भन्दछ । योगी त्यो हो, जसले भौतिक तत्व (धन, पद, शरीर सुख) जीवनको साधन मात्र हो, मानवीय खुसीको निणर्ायक चिज त स्वयंभित्रको आत्मिक खोज हो भन्दछ ।

भोगी भन्छ- जीवनका आधारभूत आवश्यकता पूरा भएपछि मात्र मानिस स्वतन्त्र (खुसी) बन्न सक्छ । योगी भन्छ- आवश्यकता र स्वतन्त्रता परिपूरक छन् । यी दुई चिजले सँगसँगै यात्रा गर्दछन् ।

भोगी पनि दुई खालका छन् । पहिलो खाले भोगीहरू परलोक भोग (स्वर्ग) प्राप्तिलाई जीवनको लक्ष्य मान्दछन् । दोस्रो खाले भोगीहरू इहलोक भोगलाई मान्दछन् । जे भए पनि ‘भौतिक सुखको प्राप्ति नै जीवनको लक्ष्य हुनुपर्छ’ भन्ने चाहिं दुवैखाले भोगीको मिल्ने कुरा हो ।

समकालीन राजनीतिमा भोगी धारा नै बलशाली छ । विगत तीनसय वर्षयता विश्व-राजनीतिमा यस्तो लहर चलेको छ, जसले भौतिक सुख प्राप्ति नै सबैथोक हो, मानिसको खुसीका लागि यो पहिलो शर्त हो, यो बाहेक अरू सब कुरा भ्रम हो भनिरहेको छ । राज्यका संरचना, नीति र संस्कृति यही मूल्यमान्यताका आधारमा निर्माण भएका छन् ।

झट्ट सुन्दा यो धारणा स्वाभाविक लागे पनि यो अप्राकृतिक धारणा हो । यस्तै अप्राकृतिक धारणाका कारण आज विश्व नै संकटग्रस्त हुने ठाउँमा पुगेको छ । व्यक्ति र राज्य दुवैमा यसका असर आज अनुभूत गर्न सकिन्छ । राजनीतिमा भोगी मूल्यमान्यताले ठाउँ पाउँदा राज्य र राजनीतिकर्मी दुवै कर्तव्यच्यूत भएका छन् । राजनीतिकर्मी वा सामाजिक ठालुको भौतिक सुखको पागलपूर्ण सोख पूरा गर्न राज्य संयन्त्रहरूलाई सोही अनुसार ढालिएको छ ।

दोषपूर्ण चिन्तन पद्धतिले नै भोगी राजनीति निर्माण गरेको हो । राजनीतिलाई वैकल्पिक बनाउन अब प्रचलित मूल्यमान्यता नै उल्टाउन जरूरी छ । अर्थात्, राजनीतिमा पनि योगी मूल्यमान्यता आत्मसात् गर्न जरूरी छ । सोही अनुसारको संविधान, संस्था, संरचना, प्रणाली, नीति र संस्कृति निर्माण गर्न जरूरी छ । राजनीतिका योगी मूल्यमान्यतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ-
पहिलो, मूल्यमान्यता परिवर्तनको सुरुवात व्यक्ति र दलबाट हुनुपर्दछ । राजनीति गर्ने प्रत्येक व्यक्तिले सम्यक् आजीविकाबाटै गुजारा चलाएको हुनुपर्दछ । उसले आफ्नो गुणधर्म अनुसारको कर्ममा गर्व गर्नुपर्दछ । आफूभित्र राजनीतिक कर्मको गुणवत्ता भएको स्वमूल्यांकन गरेर मात्र राजनीतिमा प्रवेश गर्नुपर्दछ ।

यस्तो व्यक्ति राजनीतिक जीवनको सफलता र असफलता दुवैमा समभावसहित सक्रिय हुन तयार हुनुपर्दछ । ‘जसरी भए पनि पदमा पुग्नुपर्छ’ वा ‘पद नपाउँदा मलाई अन्याय हुन्छ’ भन्ने धारणा राख्नुहुँदैन । परिस्थिति र प्रणालीले कुनै पदमा पुर्‍याइहाले योगी मूल्यमान्यतालाई शिरोपर गरेर काम गर्नुपर्दछ । एक पदमा दुई कार्यकाल भन्दा बेसी ओगटेर बस्ने सोच राख्नुहुँदैन ।

दोस्रो, मनुष्यको लागि जन्म र जीवन जति महत्वपूर्ण छ मृत्यु पनि त्यति नै महत्वपूर्ण छ । हरेक मनुष्यले जन्म र जीवन मात्र गुणस्तरीय बनाएर पुग्दैन, मृत्यु पनि गुणस्तरीय बनाउन सचेत प्रयत्न गर्नुपर्दछ । यसका लागि ५० वर्षको उमेरसम्म मात्र सांसारिक काम (राजनीति) लाई प्राथमिकता दिनुपर्दछ । यसपछिको समय ‘मृत्यु-चिन्तन’ का लागि छुट्याउनुपर्दछ । वानप्रस्थ उमेर (५० वर्ष) पुगेपछि वानप्रस्थ आचरण नै अपनाउनुपर्दछ । अर्थात्, दलको नेतृत्व र राजकीय जिम्मेवारीबाट स्वेच्छिक अवकाश लिनुपर्दछ ।

तेस्रो, वैकल्पिक दलले माथिकोे नियमलाई आफ्नो विधानमा लिपिबद्ध गरेर अभ्यासमा ल्याउनुपर्दछ । जस्तो कि असम्यक् पेशा भएको व्यक्तिलाई दलको सदस्यताबाट वञ्चित गर्नुपर्दछ । अर्थात्, निजी शिक्षा र स्वास्थ्यको धन्दा भएको व्यक्ति, जग्गा व्यापारी, अपारदर्शी आम्दानीबाट धनी भएको व्यक्ति, सरकारी निकायमा ठेक्कापट्टाको व्यवसाय भएको व्यक्ति, यस्तालाई दलको सदस्यताबाट वञ्चित गर्नुपर्दछ । ५० वर्ष उमेर पूरा भएका नेतालाई पार्टीको मुख्य पद र राजकीय पदबाट वञ्चित गर्ने विधान बनाउनुपर्दछ । पार्टी संचालनको निश्चित र न्यायपूर्ण प्रणाली बनाएर लागु गर्नुपर्दछ ।

अन्त्यमा ध्यान दिनुपर्ने दुईवटा कुरा । पहिलो, तर्क र बुद्धिभन्दा माथि उठेर विज्ञानका नियमहरूको बोध जगाउन सक्दा मात्र राजनीतिलाई साँच्चैको वैकल्पिक बनाउन सकिन्छ । दोस्रो, कामका तीन क्षेत्र (विचार, संगठन र आन्दोलन) मा बराबर ध्यान दिंदा मात्र वैकल्पिक राजनीति निर्माण गर्न सकिन्छ । पहिलो प्रयत्न असफल भए पनि केही सिकायो । अब थप परिपक्वता सहित अघि बढ्नुपर्दछ

चौथो, राजनीतिकर्मीले ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को मान्यता अनुसार काम गर्नुपर्दछ । समाजलाई वर्ग, जाति, भाषा, संस्कृति, सभ्यता तथा सम्प्रदाय जस्ता भेद गरेर विभाजित गर्नुहुँदैन । तर सामाजिक न्याय, सामुदायिक पहिचान, समावेशीकरण, सकारात्मक विभेद र परम्परागत गौरवको मान्यतालाई दह्रोसँग आत्मसात् गर्नुपर्दछ ।

पाँचौं, भोगी अन्तरवस्तु भएको शिक्षा प्रणाली खारेज गरेर योगी अन्तरवस्तु सहितको शिक्षा पाठ्यक्रम र संरचना निर्माण गर्नुपर्दछ । शिक्षाको अन्तरवस्तुलाई प्रत्यक्ष ज्ञान (अनुभव/अभ्यास) अनुमान ज्ञान -विज्ञान) र बुद्ध पुरुषका वचनले सुसज्जित गर्नुपर्दछ । सार्वजनिक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको जिम्मेवारी पूर्णतः राज्यले लिनुपर्दछ । यान्त्रिक र एकाङ्गी स्वास्थ्य सेवा खारेज गरेर आधुनिक र सर्वाङ्गीण स्वास्थ्य सेवाको मोडल स्थापित गर्नुपर्दछ ।

प्रकृति र सम्पत्तिमा स्पष्ट भेद गर्नुपर्दछ । प्रकृतिलाई निजी धन र व्यापारको विषय बनाउन प्रतिबन्ध गर्नुपर्दछ । सम्पत्तिलाई निजी र व्यापारको विषय बनाउन प्रोत्साहन गर्नुपर्दछ । शिक्षा, स्वास्थ्य, सार्वजनिक पूर्वाधार, जल, जंगल र जमिन, प्रकृति हुन् यी कहिल्यै निजीकरण र व्यापारीकरण हुनुहुँदैन । व्यक्तिको शारीरिक वा मानसिक श्रमद्वारा आर्जित चिज सम्पत्ति हुन् । यसलाई राज्यले कहिल्यै अन्यायपूर्वक खोस्नुहुँदैन ।

छैटौं, अर्थतन्त्र जीवन हो, वृद्धि भएन भने यो मर्छ । तर सीमित पृथ्वीमा असीमित आर्थिक वृद्धि असंभव र अप्राकृतिक कुरा हो । वृद्धि-क्षय-रूपान्तरणको चक्रसहितको वृद्धि (गुणात्मक वृद्धि) मात्र प्राकृतिक कुरा हो । यस्तै गुणात्मक वृद्धिमा आधारित अर्थतन्त्र निर्माणमा जोड गर्नुपर्दछ । असीमित आर्थिक वृद्धिबाट खुसी मिल्छ भन्ने सोच उल्टाएर अपरिग्रह (आवश्यकतामा आधारित उत्पादन)बाट खुसी मिल्छ भन्ने सोच स्थापित गर्नुपर्दछ । कर्पोरेट कृषि र रासायनिक कृषिलाई उल्टाएर पारिवारिक तथा सामुदायिक कृषि र जैविक कृषिको नीति लागु गर्नुपर्दछ ।

सातौं, सुख र दुख, विकास र विनाश अन्तरसम्बन्धित छन् । जति सुख बढायो, त्यति नै दुःख पनि बढेर आउँछ । जति सुख घटायो त्यति नै दुःख पनि घटेर जान्छ । जति विकास बढायो, त्यति नै विनाश पनि बढेर जान्छ । जति विकास घटायो, त्यति नै विनाश पनि घटेर जान्छ । विकास क्रियाकलापमा यो तथ्य आत्मसात् गर्नुपर्दछ । भौतिक सुख-सुविधा बढाउँदा मात्र मानिस खुसी हुन्छ भन्ने चिन्तनलाई उल्टाएर आत्मिक जागरण तथा मानवीय विकास विनाको भौतिक विकास प्रत्युत्पादक हुन सक्छ भन्ने तथ्यमा जोड गर्नुपर्दछ ।

आठौं, प्रकृति ‘निर्जीव भौतिक वस्तु’ होइन, ‘मातृतत्व’ हो । प्रकृतिलाई यातना दिएर गरिने विकास अस्वीकार्य छ । प्रकृतिलाई यातना होइन, सदुपयोग गर्ने खालका विकास क्रियाकलाप संचालन गरिनुपर्दछ । यो धर्तीमा मानव र गैरमानव, जीव र वनस्पति, सबैको उत्तिकै हक छ भन्ने मान्यतालाई विकास क्रियाकलापमा आत्मसात् गर्नुपर्दछ ।

नवौं, भौतिक सुविधा र पैसाको आधारमा मानिसको प्रगति मापन गर्ने तरिका गलत छ । यसको ठाउँमा मानिसभित्रको खुसी, संस्कृति, सामाजिक सम्बन्ध र वरिपरिको पर्यावरण अवस्थाको आधारमा प्रगति मापन गर्ने पद्धति विकास गर्नुपर्दछ ।

दशौं, लोक र नायकमा कुनै भिन्नता छैन । यी दुवै पात्र, काम-क्रोध-लोभ-मोह र अहंकारको बन्धनमा बाँधिएका हुन्छन् । त्यसैले नायकहरूलाई कहिल्यै विशेष सुविधा दिनुहुँदैन । उनीहरूलाई पनि राज्यको नियमको मातहत नै राख्नुपर्दछ । राज्य संचालनमा सहभागिता, जवाफदेहिता र पारदर्शितालाई उच्च महत्व दिनुपर्दछ । राज्य संयन्त्र बोझ होइन, सेवक संयन्त्रका रूपमा क्रियाशील गराउनुपर्दछ । राजनीतिकर्मी र पार्टीले आफ्नो सम्पत्ति विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्दछ ।

यति चर्चा पछि अब विचार गरौं, के हाम्रा वैकल्पिक भनिएका नेताहरूले माथिका मूल्यमान्यता आत्मसात् गरेका थिए ? यहाँ एकदमै ध्यान दिनुपर्ने प्रश्न यो हो- के नेताहरूले स्वयं भित्र र दल निर्माणको सुरुवाती अवस्थाबाटै माथिका मूल्यमान्यतालाई पक्रिएका थिए ?

यथार्थ यो हो कि, जे जे गर्नुपर्छ भनियो, त्यो गरेनन् । जे जे गर्नुहुँदैन भनियो, त्यही त्यही गरे । आफू स्वयंमा र आफ्नो दलमा नै मूल्यमान्यता लागु गर्न तयार नहुनेले भोलि राज्यमा चाहिं लागु गर्ला भनेर विश्वास गर्नुको कुनै अर्थ छैन । त्यसैले त्रुटि सुरुवातमै भयो । अब विगतका त्रुटि सच्याएर नयाँ शिराबाट अभ्यास प्रारम्भ गर्नुपर्दछ ।

सामाजिक प्रविधि

राजनीतिक विचारधाराको तेस्रो अवयव सामाजिक प्रविधि हो । सामाजिक प्रविधिले राजनीतिको अवधारणा र मूल्यमान्यतालाई कसरी लागु गर्ने भन्ने प्रश्नको उत्तर दिन्छ ।

प्रविधि भनेको हतियार हो । जुनसुकै हतियार आफैंमा सही र गलत हुँदैन । हतियार बनाउने र चलाउनेको सोच, सीप र छनोट चाहिं सही र गलत हुन सक्छ । सामाजिक प्रविधि पनि यस्तै हतियार हो । यो आफैंमा सही र गलत हुँदैन । यसका संचालकको सोच, सीप र छनोट चाहिं सही र गलत हुन सक्छ ।

सामाजिक प्रविधि भन्नाले राजनीतिक प्रणाली नै हो । यसैबाट सामाजिक संरचनाको गठन, विघटन र परिमार्जन हुन्छ । कहाँ कस्तो प्रविधि, कसरी प्रयोग गर्ने ? राजनीतिकर्मीले सही निर्णय गर्न सक्नुपर्दछ । सोच, सीप र छनोट सही भयो भने त्यसले सबैका लागि फाइदाकारी काम गर्न सक्छ । गलत सोच, सीप र छनोट भयो भने त्यही प्रविधि शोषणको साधन वा विकृतिको घर बन्दछ ।

जस्तो कि एकात्मकता र संघात्मकतामा कुनै एक सही र अर्को गलत हुन सक्दैन । सामाजिक आवश्यकताका आधारमा कुनै एक छनोट गर्ने हो । फाइदा-घाटाको गणितका आधारमा यो निश्चय गर्न सकिन्छ । गलत छनोट गर्दा वा गलत ढंगले चलाउँदा संघीयता होस् वा एकात्मकता, दुवै विकृतिका घर बन्न सक्छन् ।

दोस्रो, सामाजिक प्रविधि जहिल्यै परिवर्तनशील हुन्छ । अर्थात् यसलाई फेरिरहन जरूरी हुन्छ । माथि उल्लेखित अवधारणा र मूल्यमान्यता स्थिर हुनुपर्दछ । यो बदल्दा गल्ती हुन्छ । तर सामाजिक प्रविधि अस्थायी हुन्छ । यो समयानुकूल नबदल्दा गल्ती हुन्छ ।

तेस्रो, सामाजिक प्रविधि, राजनीतिको अवधारणा र मूल्यमान्यता लागु गर्ने औजार मात्र हो । शास्त्रीय राजनीति होस् वा वैकल्पिक राजनीति, औजार एउटै हुन्छ । औजार छनोट गर्ने र चलाउने सोच तथा सीप चाहिं फरक हुन सक्छ ।

शास्त्रीय राजनीतिले स्थान-समय अनुसार सामाजिक प्रविधिको सही छनोट गर्न सकेन । सामाजिक प्रविधिलाई सही सोच र सीप अनुसार चलाउन पनि सकेन । समयानुकूल बदल्न पनि तयार भएन । जसका कारण सारा विकृतिको भागिदार यही सामाजिक प्रविधि पो हो कि जस्तो देखियो । तर छनोटकर्ता र संचालनकर्ता चाहिं दोषी थियो, सामाजिक प्रविधि आफैंमा दोषी थिएन ।

वैकल्पिक राजनीतिमा सामाजिक प्रविधिलाई ‘गतिशील सन्तुलन’ को मूलमन्त्रका आधारमा चलाइन्छ । यसले दुई अतिको बीच ‘मध्यम मार्ग’ खोज्न प्रेरित गर्दछ ।

जस्तो कि, श्रम र पूँजी, व्यक्ति र राज्य, निजी धन र सामूहिक धन, निजत्व र सामूहिकता, राष्ट्रिय पूँजी र वैदेशिक पूँजी, राष्ट्रिय स्वार्थ र वैदेशिक सम्बन्ध, लोक र नायक, संस्कृति र प्रविधि, महिला र पुरुष, समता र समानता, अधिकार र कर्तव्य, बन्धन र स्वतन्त्रता, प्रतिस्पर्धा र आरक्षण जस्ता अवयवमध्ये कुनै एक पट्टि ढल्किने होइन, बरु यिनीहरू बीचमा गतिशील सन्तुलन कायम गर्ने प्रयत्न गरिन्छ ।

यो मान्यता दल निर्माण र राज्य संचालन दुवै ठाउँमा लागु हुनुपर्दछ । सुरुवात भने दल निर्माणबाट हुनुपर्दछ । यसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ –

पहिलो, दलको केन्द्रमा द्वैत शक्ति केन्द्र पूर्णतः इन्कार गर्नुपर्दछ । ‘माथि एक र तल अनेक’ हुने गरी दलीय संरचना खडा गर्नुपर्दछ । पार्टी प्रमुख र सरकार प्रमुख एउटै व्यक्ति हुने व्यवस्था बन्द गर्नुपर्दछ । पार्टी प्रमुख सरकारमा जानै नपाउने व्यवस्था गर्नुपर्दछ । राज्यमा जस्तै दलमा पनि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता संयन्त्रको अभ्यास हुनुपर्दछ । यी तीन अंगबीच शक्तिपृथकीकरण र सन्तुलनको नियमलाई दलभित्र पनि आत्मसात् गर्नुपर्दछ । कुनै पनि तहमा एउटा व्यक्तिलाई दोहोरो जिम्मेवारी दिनुहुँदैन ।

दोस्रो, दलका विभिन्न कमिटी बीचमा स्वायत्तता र सहकार्य बीच गतिशील सन्तुलन कायम गर्नुपर्दछ । स्थानीय नीति र नेतृत्व चयनका लागि कमिटीहरू स्वायत्त पनि हुनुपर्दछ । राष्ट्रिय नीति तथा नेतृत्व निर्माण र कार्यान्वयनका लागि दलका कमिटीबीच सहकार्य पनि हुनुपर्दछ ।

सकारात्मक विभेदको नीतिलाई पार्टी कमिटीमा पनि व्यवस्थित गर्नुपर्दछ । पार्टीको जिम्मेवारी बाँडफाँड होस् वा राजकीय पदको बाँडफाँडमा, कार्यसम्पादन मापनको नियम कडाइका साथ लागु गर्नुपर्दछ ।

तेस्रो, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको मूल्यमान्यता दलभित्र पनि लागु हुनुपर्दछ । बहुसंख्याका पद भएको ठाउँमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्दछ । सीमित वा एक मात्र पद हुने ठाउँमा आलोपालो प्रणाली अपनाउनुपर्दछ । जस्तो कि एउटा कार्यकाल पुरुष पार्टी अध्यक्ष छ भने अर्को कार्यकाल महिला पार्टी अध्यक्ष बनाउने नियम बनाउनुपर्दछ । राजकीय पदमा पनि यो नियम लागु गर्नुपर्दछ ।

चौथो, राज्यमा द्वैत शक्ति केन्द्र खारेज गर्नुपर्दछ । ‘माथि एक तल अनेक’ हुने गरी राज्य संरचना निर्माण हुने व्यवस्था गर्नुपर्दछ । राज्यका तीन अंग बीचमा शक्ति सन्तुलन र पृथकीकरणको अभ्यासलाई अक्षरशः पालना गर्नुपर्दछ ।

पाँचौं, व्यवस्थापिकाको चुनावलाई पूर्ण समानुपातिक बनाउनुपर्दछ । कार्यपालिकाका प्रमुख प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित हुने व्यवस्था गर्नुपर्दछ । कार्यपालिका गठनको जिम्मा कार्यपालिका प्रमुखमा सीमित गर्नुपर्दछ । व्यवस्थापिकाको सदस्यलाई कार्यपालिका सदस्य बन्न वञ्चित गर्नुपर्दछ ।

छैटौं, आरक्षित पदको चुनाव गर्दा सम्बन्धित समुदायलाई मात्र मतदाता बनाउने व्यवस्था गर्नुपर्दछ । चुनाव प्रचारको जिम्मा राज्यले लिनुपर्दछ । नागरिकहरूलाई चुन्ने, फिर्ता बोलाउने र भोट दिन्न भन्ने, यी सबै खाले अधिकार दिनुपर्दछ । दलपिच्छेका विधान हुने व्यवस्था खारेज गर्दै, सबै दललाई एउटै विधानमा संचालन गर्ने व्यवस्था गर्नुपर्दछ ।

सातौं, हरेक मन्त्रालयले बर्सेनि र पूरै राज्यले हरेक पाँच वर्षमा स्वतन्त्र विज्ञलाई आमन्त्रण गरेर राजनीतिक प्रणालीको किफायतीपना र प्रभावकारिताको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नागरिकहरूले राजनीतिक प्रणाली परिवर्तन गर्न चाहे जनमत संग्रहमा भाग लिन पाउने व्यवस्था गर्नुपर्दछ ।

माथिको चर्चाको आधारमा अब हाम्रा ‘वैकल्पिक दल’ र नेतालाई हेरौं । यहाँ पनि ध्यान दिनुपर्ने प्रश्न यो हो- के उनीहरूले दल निर्माणको सुरुवातमै माथि उल्लेखित नियमको अनुसरण गरे ? यथार्थ यो हो कि जे जे गर्नुहुँदैन भनियो, उनीहरूले त्यही गरेका छन् । जे जे गर्नुपर्छ भनियो, त्यो गरेका छैनन् । त्यसैले, सुरुवातमै गल्ती भयो । आफ्नो पार्टीमा नै नियम लागु गर्न नचाहनेले भोलि राज्यमा चाहिं त्यो नियम लागु गर्लान् भनेर विश्वास गर्नु मूर्खता मात्र हुन्छ ।

अबको बाटो

यतिबेला वैकल्पिक राजनीतिका लागि दुई खाले प्रयत्न भइरहेको छ । एकथरी संगठित छन् तर उनीहरूको सोच र दिशा वैकल्पिक भइरहेको छैन । अर्कोथरी असंगठित (स्वतन्त्र) छन्, उनीहरूको क्रियाकलाप सही ठाउँमा छ तर संगठन र वैचारिक दिशा निर्धारणको अभाव छ । यी दुई खाले प्रयत्नहरू आपसमा जोडिन आवश्यक छ ।

पुरानोको निरन्तरताबाट होइन, विल्कुलै नयाँ शिराबाट सुरुवात गर्नुपर्दछ । संगठित भएकाहरू नक्कली वैकल्पिक दलबाट बाहिर आउनुपर्छ । असंगठितहरू पनि संगठित हुन तयार हुनुपर्दछ । यी दुई खाले व्यक्तिहरूले प्रारम्भमा एक समन्वय केन्द्र बनाएर दल निर्माणको छलफल सुरु गर्नुपर्दछ । साथसाथै आ-आफ्नो क्षेत्रमा भुईं तहको एजेण्डामा काम गर्न विकेन्द्रित पनि हुनुपर्दछ ।

अन्त्यमा ध्यान दिनुपर्ने दुईवटा कुरा । पहिलो, तर्क र बुद्धिभन्दा माथि उठेर विज्ञानका नियमहरूको बोध जगाउन सक्दा मात्र राजनीतिलाई साँच्चैको वैकल्पिक बनाउन सकिन्छ । दोस्रो, कामका तीन क्षेत्र (विचार, संगठन र आन्दोलन) मा बराबर ध्यान दिंदा मात्र वैकल्पिक राजनीति निर्माण गर्न सकिन्छ । पहिलो प्रयत्न असफल भए पनि केही सिकायो । अब थप परिपक्वता सहित अघि बढ्नुपर्दछ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments