Monday, October 3, 2022

‘वैकल्पिक राजनीति’ का पाँच विरोधाभास – Online Khabar

एउटा दार्शनिक भनाइ छ- ‘मानिस आफूले इच्छाएको काम गर्न स्वतन्त्र छ तर, इच्छाए जसरी भने हैन ।’ नेपालमा ‘वैकल्पिक राजनीति’ को विगत एक दशकको अभ्यास, अनुभव र निष्कर्ष हेर्दा यो भनाइ शतप्रतिशत मिलेको देखिन्छ । वैकल्पिक राजनीतिको आवश्यकता अनुभूत गर्नेहरूले, अर्को शब्दमा भन्दा ‘इच्छा राख्ने’ वा ‘रहर गर्ने’ हरूले त्यो काम गरेर त हेरे तर न बाटो रहर जस्तो सजिलो भयो, न चरणहरू चाहेजस्तो संगतिपूर्ण रहे न परिणाम सोचे जस्तो आयो । समग्रमा भन्दा ‘इच्छाएको काम’ त गरियो तर ‘इच्छाए जसरी’ भने हैन ।

बरु ‘वैकल्पिक राजनीति’ एकप्रकारको हल्ला, हौवा, प्रोपोगाण्डा, ब्राण्ड र स्वामित्व दाबीको आकर्षक उपक्रममा सीमित भयो । चाहिएको परिणाम थियो, हल्ला हैन । चाहिएको नतिजा थियो, ब्राण्ड र स्वामित्व दाबी हैन । चाहिएको काम थियो, कुरा हैन । चाहिएको संगति थियो, यस्तो विसंगति र विरोधाभास हैन । तर, यो अभ्यास र आन्दोलनभित्र यति धेरै असंगति र अन्तर्विरोधको चाङ लाग्दै गयो कि मान्छेलाई ‘वैकल्पिक राजनीति’ भन्ने शब्दावली नै रंगहीन, अनाकर्षक, थोत्रो र निकम्मा जस्तो लाग्न थाल्यो ।

यो शृंखलाभित्र म आफैं पनि कहीं न कहींनेर थिएँ । धेरै थिएँ वा थोरै थिएँ, ठीक थिएँ वा बेठीक थिएँ, पात्र थिएँ वा गोटी थिएँ, त्यो भिन्नै कुरा तर, थिएँ । कहींकतै हुनु संभवतः आफैंमा एक उपस्थिति, सहभागिता, भूमिका र हस्तक्षेप हो । त्यहाँभित्रको हालत, हविगत कस्तो थियो, भूमिका कति थियो त्यो दोस्रो कुरा हो । दार्शनिक तर्कपद्धतिमा ‘हुनु’ आफैंमा ‘अस्तित्वसत्ता’ को प्रमाण हो ।

यसबापत मान्छेले ‘हामी’ लाई आलोचना, विरोध, निन्दा, गाली र अपत्यार गर्ने अधिकार राख्नेछन् । उनीहरूको यो अधिकार पूर्णतः जायज र सम्मान गर्न योग्य छ । कसैले भन्छ कि वैकल्पिक राजनीतिको एक दशक बढी लामो ‘बकवास’ गरेर तिमीहरूले के पायौ ? के लछारपाटो लगायौ ? यो प्रश्नको कुनै ‘आत्मकेन्दि्रत उत्तर’ दिइरहनुपर्ने, कुनै जबर्जस्त प्रतिरक्षा गरिरहनुपर्ने कारण छैन । बरु स्वीकार गर्नु, आत्मस्वीकारोक्ति व्यक्त गर्नु, गल्ती/कमजोरीप्रति ‘कन्फेसन’ गर्नु उचित हुन्छ ।

‘वैकल्पिक राजनीति’ शब्दावली ‘क्वाइन’ गर्दा, यसको अवधारणा र सिद्धान्त निर्माण गर्दा, लक्ष्य र उद्देश्य निर्धारण गर्दा, यसका विधि, पद्धति, प्रक्रिया र मूल्यमान्यता तय गर्दा जे सोचिएको थियो, त्यो व्यवहारमा नभएकै हो । ती अवधारणा, सिद्धान्त र मूल्यमान्यता गलत थिए भन्ने मलाई अहिले पनि लाग्दैन । अवधारणा नै गलत हुनु र त्यसलाई व्यवहारमा उतार्न नसक्नु फरक-फरक कुरा हुन् । वैकल्पिक राजनीति देश र जनताको युगीन आवश्यकता हो भन्ने भावना मनमा अहिले पनि उत्तिकै दृढतापूर्वक उत्पन्न हुन्छ ।

तर, कल्पनाका सबै सुन्दर चिजहरू व्यवहारमा सजिलै प्राप्त हुँदैनन् । त्यस्तो हुन्थ्यो त मान्छेको संसार यति दुःखी, खिन्न, असन्तुष्ट र व्याकुल हुने थिएन । मान्छेका कल्पना र यथार्थबीच पक्कै दूरी छ र यो दूरी केही हदसम्म प्राकृतिक पनि हो । मान्छेको आकांक्षा, चाहना, अपेक्षा र वास्तविक जीवनक्रमबीच गहिरो खाडल छ र यो खाडल स्वाभाविक पनि हो । चाहेका सबै चिजहरू भइदिने भए, आवश्यक सबै चिजहरू पाइने भए यो संसार किन यस्तो हुन्थ्यो होला ? अर्थशास्त्रले भन्छ- आवश्यकता र चाहना भएका सबै चिज ‘डिमान्ड’ बन्दैनन् । त्यसका लागि थप अर्को चिज चाहिन्छ- क्षमता । सायद यहींनेर कुरा गडबड हुन्छ । आवश्यक पनि हो, चाहना पनि हो, तर क्षमताले पुगेन भने के गर्ने ?

मानिसका असफलता केवल उसका कुबुद्धि हुन् भन्न मिल्दैन । ‘कुबुद्धि’ नै मुख्य कारण हो भने पनि सही- तर कुबुद्धि चाहिं किन दिमागमा आएको त ? मान्छेको दिमागमा कुबुद्धि आउने, पलाउने पनि कुनै प्राकृतिक प्रक्रिया हुँदो हो । नत्र सबै मान्छेको दिमागमा सधैं बुद्धि नै बुद्धि आउनु नि, कुबुद्धि चाहिं किन आउनु ? यदि सबैको दिमागमा बुद्धि नै बुद्धि हुन्थ्यो त नयाँ पार्टी र वैकल्पिक राजनीति नै किन चाहिन्थ्यो ? पुरानाबाटै पनि त त्यो आवश्यकता पूरा हुन्थ्यो होला । लोकतान्त्रिक शासनका ३२ वर्षभित्र त देशले उन्नति र प्रगतिको एउटा निश्चित स्तर हासिल गरिसक्थ्यो होला । ‘केही भएन’ भन्दै फेरि अर्को अभियान किन सुरु गर्नुपर्थ्यो ?

यो पनि भएन, त्यो पनि भएन, यसको अर्थ हो- यो समस्या ‘पुरातन’ र ‘वैकल्पिक’ बीचको भिन्नता मात्रै नभएर ‘सांस्कृतिक अनुुवंश’ कै समस्या हो । समाज विकास क्रम र आम चेतनास्तरकै समस्या हो ।

जस्तो कि यहीबीच नेकपा (नेकपा) फुट्यो, तीन टुक्रा भयो तर विवेकशील साझा किन फुट्न पथ्र्यो ? जसपा-लोसपा किन फुट्न पथ्र्यो ? नेकपाभित्र सत्ता र स्रोत-साधन कसले कुम्ल्याउने भन्ने स्वार्थको झगडा थियो होला रे लौ ! अन्य दलमा त्यस्तो तुरुन्तै प्राप्त हुने के स्वार्थ थियो ? तथापि त्यही रोग देखा पर्‍यो भने त्यो ‘कमन’ भयो, त्यो देशकै समस्या र संस्कृति भयो, कुनै खास पार्टीको मात्रै समस्या हैन ।

हजार असफलता किन आइनलागोस् तर मान्छेसँग अरू के विकल्प छ- प्रयास गर्नु बाहेक । मान्छेलाई प्रकृतिले नै गल्ती गर्ने प्राणी बनाएर जन्माएको छ त मान्छे के गर्छ ? मान्छेले त्यही गर्छ जो गर्न सक्दछ । त्यो भनेको विगतको समीक्षा, आगतको आकलनमा आधारित वर्तमानको योजना नै हो ।

वैकल्पिक राजनीतिको कोर्समा पनि हुने कुरा त्यही हो । यो प्रक्रिया पनि ‘कमन’ हो । अरूले पनि त्यही गर्ने हुन् । संसारका सबै मानव निर्मित संस्था, अभियान र आन्दोलनले त्यही गर्ने हुन् । नेपालको वैकल्पिक राजनीतिले पनि एउटा निर्मम समीक्षा अब आफैंभित्र गर्नैपर्छ । हुँदाहुँदा अब यो ब्रान्ड स्वतन्त्र उम्मेदवारहरूको ब्रान्ड बन्न खोज्दैछ, दलको हैन । तर, दलको आवश्यकतालाई ‘स्वतन्त्र’ हरूले पूरा गर्लान् भन्ने ‘पपुलिज्म’ मा फस्नुहुँदैन । चौतर्फी अक्षमता, नालायकी र बेथितिमाथि तत्काल प्रतिक्रिया जनाउनसम्म ‘स्वतन्त्र अभियान’ ठीकै होला तर, दीर्घकालीन बाटो हो भन्ने ठानियो भने त्यो अर्को महाभूल हुनेछ ।

कुनैबेला यस्तो थियो कि ‘वैकल्पिक राजनीति’ शब्दावलीमा निकै ठूलो कालाजादु, जन्तरमन्तर, चमत्कार, टुनामुना, सम्मोहन र राजनीतिक लाभ अन्तर्निहित भएझैं लाग्थ्यो । मान्छे नओइरिएका पनि हैनन् । साथ नदिएका हैनन्, दिएकै हुन् । चर्चा, परिचर्चा नभएको हैन । ‘मिडिया स्पेस’ पनि राम्रै थियो । हल्लीखल्ली भयो, सबै चिज भयो । तर, परिणाम आएन । ‘परिणामको वैधानिकता’ सिद्धान्तबाट हेर्दा ‘वैकल्पिक राजनीति’ अवैध जस्तो देखियो ।

आखिर किन यस्तो भयो ? समीक्षाको पाटोबाट हेर्दा यसका मुख्य पाँच विरोधाभास थिए ।

१. वैचारिक-उत्तर वैचारिक विरोधाभास

पहिलो समस्या ‘वैकल्पिक राजनीति’ भनेको कुनै विचार, सिद्धान्त र एजेन्डासहितको मिसन थियो कि एक अवैचारिक वा उत्तर-वैचारिक अभियान ? भन्ने स्पष्टता थिएन । अझ यही अभियानमा लाग्ने अधिकांश मान्छेमा यसको प्रष्टता थिएन । चाहे विवेकशील साझाको अनुभवमा होस् वा नयाँ शक्तिको एकप्रकारको ‘होहोरे’ जस्तो माहोल थियो ।

मानिस विचार र मिसनबारे अस्पष्ट थिए । कुनै अदृश्य आकर्षणको मोहले तानिएर आएका थिए । मानौं कि कुनै जादु भइहाल्छ । नेताले कुनै न कुनै प्रकारले ‘हातको सफाइ’ गरेर कुनै न कुनै रंगीन कागजको टुुक्रा, तासको बण्डल, कैंची, चरा वा भोटले भरिएको बाकस निकाल्नेछ । फरकफरक स्कुलिङबाट आएका मान्छेका बुझाइ र स्वार्थ पनि फरक थिए । अधिकांशको बुझाइ थियो- यो ‘डेलिभरी’ को मात्रै राजनीति हो, विचार, सिद्धान्त र एजेण्डाको होइन । अझ कतिपयले त यसलाई उत्तर-वैचारिक युगको राजनीति ठानेका थिए । जहाँ विचारको कुरा गर्नु नै एक प्रकारको अपराधजस्तो हो । ‘पोष्ट ट्रुथ’ भावना बलियो थियो जहाँ ‘ट्रुथ’ को कुरा गर्नु सजिलो थिएन ।

ठीक हो- आजको युगमा अनेक ठूल्ठूला, क्लिष्ट र भद्दा शब्दजालमा फस्न जरूरी थिएन/छैन । अनावश्यक जार्गनको राजनीतिले त्यसै पनि मान्छे वाक्क, दिक्क थिए/छन् । विचारलाई कसरी, कुन तरिकाले प्रस्तुत गर्ने ? त्यो भिन्नै कलाको विषय होला तर विचार, लक्ष्य र उद्देश्य विनाको शक्तिशाली आन्दोलन र राजनीतिक दल असम्भव कुरा हो । त्यस्तो हिजो पनि कहिल्यै भएको थिएन, आज पनि भएन र भोलि पनि हुने छैन ।

उद्देश्यमा समानता नै नभएका मानिस तितरबितर हुनु स्वाभाविक हो । उत्तिकै स्वाभाविक के हो भने- कुनै एउटा वैचारिक अपीलबाट मान्छेलाई तान्नु र बीचैमा ‘मार्ग परिवर्तन’ गर्दिनु । यसोे गर्दा मानिस झनै भ्रमित हुने नै भए । विवेकशील साझामा मात्रै मार्ग परिवर्तन भएको हैन, नयाँ शक्ति हुँदै जसपाको अहिलेसम्मका अनुभवमा पनि यति धेरै अस्वाभाविक मोड आए, जसले गर्दा मानिसमा झन्पछि झन् भ्रम बढ्यो ।

आजसम्मका अनुभवले भन्छ- वैकल्पिक राजनीति विचार र एजेन्डाका दृष्टिले एउटा यस्तो प्रष्ट आन्दोलन बन्नुपर्दछ, जहाँ मन पर्ने आऊन्, मन नपर्ने नआऊन्, तर भ्रमित कोही नहोऊन् ।

२. व्यक्तित्व-पद्धति विरोधाभास

वैकल्पिक राजनीति कुनै लोकपि्रय, सेलिब्रेटी व्यक्तित्वद्वारा नेतृत्व हुने चिज थियो कि पद्धतिद्वारा ? यो अर्को ठूलो प्रश्न थियो । म आफैं यो सोचबाट लामो समयसम्म प्रभावित थिएँ कि कुनै राष्ट्रिय चर्चा, ख्याति र लोकपि्रय व्यक्तित्वको छत्रछायाँ विना यो काम सम्भव हुँदैन । जतिखेर पूर्वको इटहरीमा एउटा सानो समूहमा बसेर हामी केही साथी वैकल्पिक राजनीतिको औचित्यबारे कुरा गथ्र्यौं, ठीक यस्तै सोच्थ्यौं । आफूले आफैंलाई विश्वास गर्दैनथ्यौं । ‘हामीलाई कसले चिन्छ, कसले पत्याउँछ, कसले साथ दिन्छ’ जस्तो प्रश्नको पर्खाल आफैं खडा गथ्र्यौं र त्यही पर्खालले आफैं छेलिन्थ्यौं ।

नेतृत्वयोग्य पात्र को हुनसक्ला भनेर काठमाडौंतिरै हेथ्र्यौं । अनेक नामको चर्चा गरिन्थे, योबाट होला कि त्योबाट होला । आज ७ वर्षको अनुभवपछि मलाई के लाग्छ भने कुनै आन्दोलनमा कुनै लोकपि्रय वा सेलिब्रेटी व्यक्तित्व हुनु मात्रै पर्याप्त छैन । त्यस्ता व्यक्तित्व हुनु कुनै नराम्रो कुरा हैन तर यदि आन्दोलनले कुनै विधि, पद्धति, प्रक्रिया र प्रणालीको लय पक्रिएन भने त्यस्ता व्यक्तित्व पानीका फोका जस्तो फुटेर जान्छन् ।

मानिसले खोजेको संरचनात्मक परिवर्तन र पद्धति सुधार हो । मानिसका आशा र आकांक्षाहरू संरचना र पद्धतिले सम्बोधन गर्ने ठाउँ हुनुपर्दछ । अन्यथा जस्तै चर्चित र ठूला व्यक्तित्व पनि निस्सहाय र निरुपाय हुन्छन् ।

निर्धारित पद्धतिहरू सुरुवातदेखि नै व्यवहारमा लागु गर्न नसक्नु आफैंमा ठूलो समस्या बन्दोरहेछ । पार्टी अलिक ठूलो भएपछि मात्रै त्यो लागु गरौंला, सुरुवातमा दस्तावेजमा लेख्ने हो, भाषण प्रवचन छाँट्ने हो, लागु पछि गर्दै जाने हो भन्ने सोच सही हैन रहेछ ।

३. शक्ति-सत्य विरोधाभास

शक्ति र सत्यबीचको द्वन्द्व सृष्टिको एक आधारभूत, सर्वव्याप्त र सर्वकालिक विरोधाभास हो । शक्ति विना सत्यको रक्षा हुन सक्दैन र सत्य अर्थहीन जस्तो हुन पुग्दछ । तर, सत्य विनाको शक्ति क्षणिक हुन्छ । सत्यको साथ नभएको शक्ति आफैं निरन्तर कमजोर हुँदै जान्छ । सत्य र शक्ति सँगसँगै हुनु धेरै राम्रो हो । त्यो एक आदर्श अवस्था हो । त्यस्तो विरलै हुन्छ । अक्सर सत्य र शक्ति एकअर्कासँग टकराउँछन् । शक्तिशालीहरू नै सही भइदिने हो भने संसारमा कहिल्यै कुनै क्रान्ति आवश्यक नै हुने थिएन । तर, व्यवहारमा त्यस्तो नहुने रहेछ ।

शक्तिलाई पक्रिने, छिट्टै ठूलो पार्टी र चुनाव जित्ने हुन खोज्दा सत्य छुट्दो रहेछ । यसरी सत्यको साथ छुट्ने बित्तिकै शक्ति झनै कमजोर हुँदोरहेछ । न ठूलो पार्टी, न चुनाव जित्ने संभावना न आफ्नो स्वत्व र छविको रक्षा ।

विवेकशीलवालाहरू छिट्टै ठूलो हुने र चुनाव जित्ने लोभले साझावालासँग मिलेका थिए, जसरी हामी नयाँ शक्तिवाला त्यही लोभले जसपा बन्न पुग्यौं । यदि वैकल्पिक पार्टीको विचार, एजेण्डा, छवि र पद्धति कायम राख्न सकेको भए, त्यो एकताले नराम्रो चाहिं भएको हैन । मिल्नु, शक्ति थपिनु कुनै नराम्रो कुरा चाहिं हैन । तर शक्ति थपिंदा सत्यको साथ छुट्यो भने त्यसको झनै चर्को मूल्य चुकाउनुपर्ने रहेछ ।

एकतापछि ती एकीकृत संस्थाहरूले वैकल्पिक राजनीतिका मूल्यमान्यता र अभ्यासलाई पक्रिन्थे, लागु गर्थे भने त्यो पक्कै सुखद हुन्थ्यो । तसर्थ, ‘एकता नै गलत हो’ भन्ने सैद्धान्तिक निष्कर्ष निकाल्न मिल्दैन । तथापि व्यवहारमा यो आकलन गर्न जरूरी थियो कि एकतापछि त्यसले कस्तो प्रवृत्ति र बाटो पक्रिन सक्दछ वा रूपान्तरणको हस्तक्षेपमा पुग्छ कि पुग्दैन ?

४. संघवाद-समृद्धि विरोधाभास

वैकल्पिक राजनीति ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ प्रतिको शत्रुता, निराशा र कुण्ठा हो कि त्यसभन्दा पनि अघि बढेको एक अग्रगामी, सृजनशील र रचनात्मक आन्दोलन ? यो प्रश्न उत्तिकै महत्वपूर्ण थियो । कतिपयले यसलाई एक ‘नवसम्वर्द्धनवादी’ प्रतिक्रियाका रूपमा उपयोग गर्न चाहे जबकि यो ‘अग्रपन्थी आन्दोलन’ नै हो र हुनुपथ्र्यो । तर, गणतन्त्रपछि पुरातन दल र नेतृत्वको नालायकीबाट वाक्कदिक्क जनमतलाई उपयोग गरी छिट्टै शक्तिशाली हुने लोभमा कतिपयले योग्यतातन्त्रको कुरा यति जोडतोडले गरे कि त्यसबाट भर्खरै सुरुवात भएको समावेशिताको राष्ट्रिय आकांक्षा नै अपराध हो कि जस्तो गरी हीनताभास सृजना गर्ने प्रयत्न भयो ।

तर, समस्या यो कोणबाट मात्रै भएको हैन । सुशासन, समृद्धि, योग्यतातन्त्र र सामाजिक न्यायको अर्थ-महत्तालाई गौण ठान्ने केवल ‘पहिचानमा आधारित संघवाद’ नै सबैथोक हो भन्ने अर्को अतिवाद पनि देखापर्‍यो । निःसन्देह पहिचानका आकांक्षा पहिलो खालेले भनेजस्तो ‘जातीय वा क्षेत्रीय’ दृष्टिदोष मात्रै हैन, त्यो भाषिक, सांस्कृतिक अधिकारको एक विश्वव्यापी र अभिन्न अंग हो ।
संयुक्त राष्ट्रसंघको घोषणापत्रले ‘सामाजिक/सांस्कृतिक अधिकार’ लाई लोकतन्त्रको एक अभिन्न आयाम स्वीकार गरिसकेको सन्दर्भमा त्यसप्रति पूर्वाग्रही हुन जरूरी थिएन । तर, समकालीन विश्वमा समृद्धि र सुशासनको आकांक्षा कुनै खास वर्ग, तप्का वा समुदायको मात्र नभएर सबैको साझा आकांक्षा हो भन्ने बुझ्न सक्नुपर्दथ्यो ।

कतिपयले संघवाद, समावेशिता र आरक्षणको खारेजीलाई मुद्दा बनाए । यिनले शक्तिको निक्षेपण, स्वायत्तता र स्वशासनको महत्व बुझेनन् । त्यो केजरीवाल र आप चाहियो तर दिल्ली र पञ्जाब चाहिएन भनेजस्तो कुरा थियो । दिल्ली र पञ्जाब हुँदैनथ्यो भने आप र केजरीवाल पनि हुँदैनथे भन्ने तिनले बुझेनन् ।

अर्कोतर्फ कतिपयले समृद्धि, सुशासन र योग्यतातन्त्रको महत्वलाई कम आँके । यी दुवै अतिवाद थिए । यथार्थमा वैकल्पिक राजनीतिले संघवाद र राष्ट्रिय एकता, समृद्धि र पहिचान, समावेशिता र योग्यतातन्त्र, सुशासन र सामाजिक न्यायबीच एक आदर्श सन्तुलनको स्थापना गर्न जरूरी थियो र छ ।

५. स्वस्फूर्तता-सचेतन प्रयत्न विरोधाभास

कुनै पनि राजनीतिक आन्दोलन केवल वैचारिक आग्रह र आम अपीलबाट मात्रै सफल हुँदैन । त्यसको एक अर्को भित्री क्षमताको पाटो हुन्छ- संगठन र व्यवस्थापन । नेतृत्वको खास व्यावहारिक क्षमता यहाँनेर देखिने हो । तर, वितेको करिब एक दशक वैकल्पिक राजनीतिका नाममा मैले जेजति पात्र र प्रवृत्ति, व्यक्ति र व्यक्तित्वसँग संगत गर्ने र नियाल्ने अवसर पाएँ, यो विन्दुमा तिनलाई असाध्यै कमजोर पाएँ ।

यदि राम्रो विचार, एजेण्डा र उद्देश्य छ भने मानिसले आफैं कुरा बुझ्न र स्वस्फूर्त रूपमा आफैं आउँछन् भन्ने सोच किमार्थ सही हैन । कुनै नयाँ राजनीति दल र आन्दोलनमा मानिस त्यति सजिलै लाग्दैनन् । उनीहरूलाई सैद्धान्तिक आग्रहले निश्चय नै मानसिक अपील गर्दछ तर, व्यवहारमा एक भिन्नै आत्मविश्वास, भरोसा र ढाडस भर्न जरूरी हुन्छ ।

संगठन भनेको ठूलो संख्यामा पार्टी सदस्य, कमिटी सञ्जाल र समर्थक/शुभचिन्तकको पंक्ति निर्माण गर्नु मात्र हैन, बरु भएको सानो संख्याको समेत व्यवस्थित परिचालन र विन्यास पनि हो । त्यसैगरी व्यवस्थापन भनेको केवल कार्यकर्ता परिचालन र निर्वाचन खर्चको जोहो मात्र हैन, बरु त्यसबारेको एक ‘व्यवस्थित तरिका’ हो ।

मैले यस्तो बुझाइ र अभ्यास वैकल्पिक राजनीतिमा असाध्यै कमजोर पाएँ । न व्यवस्थित संगठनको प्रयास र व्यवस्थापन क्षमता, न ठीक बेलामा ठीक जिम्मेवारी न परिचालन कला । कसैले काम गर्‍यो भने राम्रो गर्‍यो भनेर उत्प्रेरित गर्ने हैन, बरु त्यो उल्टै लोकप्रिय होला, आफूलाई उछिनेर नेता होला भन्ने भयग्रस्त सोच । यस्तो सोचबाट वैकल्पिक शक्ति बन्न सम्भव हुन्थेन ।

निष्कर्ष

राजनीति विज्ञान मात्रै हैन, मनोविज्ञान पनि हो । राजनीति दर्शन मात्रै हैन, व्यवस्थापन पनि हो । राजनीति एजेन्डा मात्रै हैन, कला पनि हो । राजनीति शुद्धता मात्र हैन, रणनीति पनि हो । राजनीति आन्दोलन मात्रै हैन, सृजना पनि हो । राजनीति ध्वंस मात्रै हैन, निर्माण पनि हो । राजनीति आलोचना मात्रै हैन, रचना पनि हो । राजनीति आवेग मात्र हैन, विवेक पनि हो । राजनीति उपस्थिति मात्रै हैन, हस्तक्षेप पनि हो । राजनीति स्वान्तसुखायको एकान्तिक यात्रा मात्रै हैन, भद्रगोलभित्र गोल गर्ने फुटबलको खेलजस्तो समूह कार्य पनि हो ।

राजनीतिको यो बहुआयामिकता, द्वन्द्वात्मकता र गत्यात्मकतालाई बुझ्न, राजनीतिको यो सुर, ताल र लयलाई पक्रिन र राजनीतिको यो गैरएकलरेखीय चरित्रलाई आत्मसात् गर्न ‘वैकल्पिक राजनीति’ गर्छु भन्नेहरूले सायद सकेनन्, सकेनौं । मुख्यतः यसका मूल नेताहरूमा नै यस्तो बुझाइ बनेन कि ?

साक्षी किनारा सदर गर्दै बसेका हामी जस्ताहरू इच्छा भएका क्षमता नभएका, पवित्र भावना भएका पर्याप्त संकल्प नभएका मानिस जस्ता भयौं । ‘सक्छौ भने गरेर देखाऊ’ भन्नेहरूलाई उत्तर दिने हुती नभएपछि खुम्चिएर बस्नुको विकल्प हुँदैनथ्यो ।

अन्त्यमा, भविष्यको मार्गदर्शन सर्वथा विद्यमान कमजोरीको समीक्षा, पहिचान र सुधारबाट हुन्छ । जेजे भयो भयो, अब थाक्ने, भाग्ने, रुने, दायाँबायाँ गर्ने, पछाडि फर्किने हैन, फेरि अघि बढ्ने हो । अंग्रेजी भनाइ- ‘नाइदर लेˆट, नर राइट अर ब्याक, बट अलवेज राइट एण्ड फरवार्ड फरइभर’ जस्तै । सायद नेपालको वैकल्पिक राजनीतिका लागि यही नै एक मात्र र सही सूत्र हो।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments