Monday, October 3, 2022

ढुंगाको कथा 

मैले खोजिरहें त्यो बगरमा। बगरको छातीमा के खोजिन्छ र पाइन्छ पो के ? अनायास मैले खोजेको एउटा सजीव अस्तित्व भेटें– एउटा ढुङ्गा। सानो तर विस्मयित मधुशालामा जस्तो पिएर आफैं मस्त निद्रामा निदाए जस्तो त्यो ढुङ्गा, अचम्मको विराटता बोकेको। ढुङ्गा छोएपछि बगर त बगैंचा जस्तो लाग्यो। जसलाई ढुङ्गा उपहार दिन खोजेथें उनी मसँगै यात्रामा सामेल जस्तो अनुभूति भो। हामी बगरबाट उकालो लाग्यौं बादलुले घुम ओढाएको पहाडतर्फ।

तिमीले छोयौ। मैले पनि छोएँ। ढुङ्गा। केवल एउटा ढुङ्गा। फूल त थिएन  नि त्यो है ! तर तिमीले छोइदिएपछि त्यो फूल भयो। या देउता भयो रहस्य लागिरहेछ। उकालीमा सँगै थियौं हामी। निधारमा पसिना थियो। सजल तिम्रो मुहारमा हेरेथें बग्दै थियो एक तापीय गुलाबी गुल्जार। हाम्रो गन्तव्य थियो झर्नाको आदिम लय सुन्ने। मलाई त्यतै डोर्यायो आज। तिमी पनि त प्रकृति त हौ नि ! म खिंचिए तिमीले अघि अघि लगाउँदै देखाएको स्वर्ण स्वतन्त्रताको  बाटोमा निस्फिक्री हिंड्न। तिमीसँगै चालेका गोडामा तिम्रो पैतालाको अर्को अनौठो तर मीठो रिदम मभित्र प्रध्वनित भयो र त सजिलोसँग उक्लिएँ त्यो उकाली।

धराको त्यो अभिनव  शीतलताले म  कसरी नि:सृत भएँ यतिबेला झङ्कृत भैरहेछ त्यो दिव्य सुखानुभूतिको कलकल कोमलता आफैंभित्र। यस्तो अनौठो अलौकिक अनुभूति कहिल्यै भएको थिएन।

बित्यो है त्यो सुनौलो दिन ! कसरी बित्यो केही याद छ तिमीलाई ? एक अजम्बरी भेट हाम्रो। एक अभिनव मिलन। जस्तो मिलन आकाश र धराको। मिले जस्तो पनि नमिले जस्तो पनि। छोइए जस्तो पनि नछोइए जस्तो पनि। क्षितिज मुनि हेरे छोइए जस्तो। क्षितिज माथि हेरे नछोइए जस्तो तर अर्कै आनन्द। अर्कै खुसी। अर्कै अनौठो दिव्यतानुभूति। अर्कै आभास। एउटा अर्कै खुसीको इन्द्रेणी । एक अथाह अतीत मिसिएको एउटा अनौठो वर्तमान देखें मैले तिम्रो आँखामा । कस्तो अपरिसिम है ! एकै पल त रहें म तिमीसँग। अब म नारायणीको मध्य भागमा लम्पसार सुतिरहेको त्यो बगरलाई सोध्ने छु कि तिमीले छोएर देउता बनाइदिएको ढुङ्गालाई कि त्यो गोधूलि स्पर्श कस्तो लाग्यो भनेर। तिमीले छुँदा आफैंमा कोमलानुभूति गर्यौ। मैले पढिरहें तिम्रो जुनेली मुहार। एउटा खुसी अनायास विस्फारित भयो। तिम्रो ओठबाट झर्यो चाँदनी उज्यालो। धपक्कै बल्यो। कति भाग्यमानी त्यो पत्थर। पत्थर परमेश्वर बन्यो है ! बनाइदियौ तिमीले। बिन्ती मलाई पनि छोइदिए हुन्थ्यो नि ! त्यसरी नै जसै छोएर अनमोल बनाइदियौ त्यो ढुङ्गालाई !

ढुङ्गा जसले, तिम्रो कोमल स्पर्श पायो कस्तो भाग्यमानी त्यो ढुङ्गा ! जब तिमीले त्यो पत्थरलाई छोयौ त्यही बेला तिम्रो अनौठो अनुकृति पढेथें तिम्रो मुहारमा। त्यो तिम्रो चमत्कृत आभामण्डलमा त्यस्तो खुसीको उभार कहिल्यै पलाएको थियो त यसअघिको अतीतमा ? नढाँटी भन न  ! तिमीले ढुङ्गालाई देउता बनाइदिने उद्देश्यले छोइदिएकी हौ त ? सजीवले मात्रै होइन निर्जीव बस्तुले पनि हाम्रो स्पर्शको अपेक्षा राख्छन् है ! तिम्रो छुवाइले यो कुराको अभिबोध भयो मलाई।

ढुङ्गा उपहार दिएर तिमीसँग छुट्टिएपछि आज हरेक रुखलाई, हरेक  पातलाई, हरेक बाटोलाई, हरेक ढुङ्गालाई छुन मन लाग्छ। तर त्यहाँ तिम्रो अभावको कारण उति रमाइलो महसुस गर्दिनँ। तिमी नभएको स्थान रमाइलो लाग्दैन। रमाइलो र आनन्दको श्रोत हामी आफैं भित्र छ नि भन्थ्यौ तर खै मलाई त तिमी नै आनन्दको श्रोत लाग्यो। घाम नभए पनि घामको न्यानो खोज भन्छ तिम्रो दर्शनले तर म मान्दिनँ। मलाई त तिम्रो अनुपस्थितिको चिसो लागिरहेछ। दर्शन एकातिर छ। सुदूर सभ्यता एकातिर छ। आदर्श एकातिर छ तर म त्यही यात्रामा बाँच्न चाहन्छु। एउटा नाङ्गो यात्रा। एउटा सगोल यात्रा। एउटा यथार्थ यात्रा। एउटा त्यस्तै यात्रा जस्तो हौं हामी त्यस्तै यात्रा। छलकपट विहीन यात्रा। आदर्श र सभ्यताको बोक्राले नछोपिएको यात्रा। निर्भीक यात्रा। खुला यात्रा। जे माग्छ मनले त्यही गर्दै हिंड्ने यात्रा। तिमी सँगैको त्यो परम यात्रा। एउटा अतीव प्रिय यात्रा ! रुन मन लाग्यो भने रुने। हाँस्न मन लाग्यो भने हाँस्ने। ध्यानस्थ हुन मन लाग्यो भने आफैंभित्र हराउने तर तिम्रो स्नेहको जरा समाएर।

तिमीले त मलाई पुजारी बनाइदियौ तिमी आफैंको प्रकृति  ! तिम्रो अनुहारको कान्ति पढेपछि मैले पनि हठात् छोइदिएँ त्यो ढुङ्गालाई अपलक। तर खै किन पो हो घोच्यो मलाई त्यसको यायावरले। तिमीले जुन भागमा छोएकी थियौ नि, मैले पनि त्यही भागमा  हात राखेको थिएँ। अलिकति मधुर तातो थियो त्यहाँ तिम्रो हत्केलाको। अलिकति सुगन्ध थियो तिम्रो आभाको। अलिकति पुलकता थियो तिम्रो सजीवताको। अलिकति आनन्द मिसिएको उभार थियो तिम्रो दिलको। मेरो हात पवित्र भयो। तिम्रो हात नछोए पनि तिम्रो हातले छोएको पत्थरलाई छोएँ नि मैले प्रकृति ! त्यो कोमलता बारे  सबै सबै भन्न सक्तिनँ। बयान नै गर्न सक्तिनँ। जिन्दगीका कतिपय परिघटनाको सगोल बयान नै गर्न नसकिंदो रहेछ। हामी यही सपनाको बर्तुल इन्द्रेणीमा स्वप्निल हुन्छौं। शब्दहरु आफैं आफैं हराउँदै हराउँदै जाँदारहेछन्। यो हो कि सत्य, त्यो हो कि सत्य, तिमी नै पो हौ कि सत्य या हामी सँगै हिंडेको त्यो गोरेटो पो हो कि सत्य। के सत्य पनि सापेक्ष हुन्छ र प्रकृति ! भन न।

कस्तो रुमानी  पल हो त्यो। तिर्खा थिएन मनमा कतै पनि। घामको रापले अलमस्त थियो धरा। जुन ढुङ्गालाई तिमीले छोयौ त्यो ढुङ्गा यतिबेला एकान्तिक बर्बरताले रुँदै होला। तिमीले माया गरेर दिलको सन्दूक भित्र लुकाइराखेको त्यो ढुङ्गाको पनि आँखा कहिलेकाहीं आँसुले भरिन्छ होला है ! जस्तो म यतिबेला तिमीसँगको विछोडबाट अनुभूत गर्दैछु। हरेक कुरामा सजीवताको कलिलो घाम खोज्ने तिम्रो यत्नलाई मेरो अभिवादन छ  प्रकृति  ! कण–कणमा कला खोज्ने तिमीभित्रको कालिगडलाई मेरो सदैव सम्मान। यतिबेला तिमीले छोएको ढुङ्गामा हीरा बल्दै होला। म आफ्नो हातको भाग्यरेखा हेर्दैछु। भाग्यरेखा त सीधै सलल बगेकै हो कालीगण्डकीको पानी जस्तै तर किन तल अलिक तल त्रिशूली  नपुग्दै यो धमिलिन्छ। सोधिरहेछु म आफ्नै हत्केलाबाट चिरा पर्दै उठेका रेखाहरुलाई। मैले सोध्न बिर्सिएछु तिमीले म्वाइँ खाएको त्यो ढुङ्गालाई। कि निर्जीव र सजीव बीचमा पनि  प्रेमको टुसा उम्रन्छ र?

हे ढुङ्गा ! तँ त्यही गोधूलि काखमै त छस्। कतै नजा है फेरि कुनै दिन हाम्रो भेट जुर्यो भने सोधुँला त्यो सलिल स्पर्शबोधिताको बारेमा। तैंले सत्य बोल्छस् मलाई थाहा छ। यहाँ ढुङ्गाले मात्रै हो सत्य बोल्छ भन्ने कुरा। हामी जीवनधारीहरु सापेक्ष बोल्छौं !

यो भूगोल। यो इन्द्रेणी ! यो चल चपलता!  त्यो पवित्र नदीको उद्गम धारा। चराहरुसँगको संलाप। निर्मल आकाशको गोधूलि छानो। अनि सबैभन्दा मन परेको उनको निश्चिन्त मुस्कानबाट बग्दै बग्दै आएको एक धर्सो हेराइ जो मैतिर विस्फारित भैरहेको थियो। अनि झर्नाबाट उछिट्टिएर उत्फुल्ल हुँदै गालामा छुन आएका पानीका सुनौला कणहरु। यस्तो लाग्यो कि ती थोपा थोपाबाट एउटा आदिम गीत गुन्जिरहेको छ  प्रेमको। शान्तिको। खुसीको । चिसो तर सजल ! त्यो शारदीय शान्ति अहो ! उनलाई हातको इशाराले बोलाएँ। हेरें उनको त्यो रुमानी खुसी उत्फुल्ल आँखामा तरेली परी परी भिज्दै आएको मखमली माया।

उनी मसँगै ढुङ्गामा बस्न आइन्। हामी दुवै एउटा अर्कै आनन्दको संसारमा पुग्यौं। प्यारो प्यारो त्यो शीतल शान्तिको हृदयस्थलबाट एउटा अर्कै ॐकार गुन्जिए जस्तो अनुभूति भो। मैले भनें “हामी ध्यान गरौं।” उनी खुसीले अलमस्त थिइन्। म प्रसुन थिएँ। मदहोश त्यो रुमानी पल आफैंमा गद्गद् थियो। ध्यानस्थ भयौं झर्नाको अगाडि। नजिक थियौं एकआपसमा। एकले अर्काको श्वासको साउती पनि सुनिने। कस्तो अचम्म है ! मैले उनको मुटुको ढुकढुकी सुनें झर्नाको सुसेलीमा पनि। झर्नाबाट उछिट्टिदै आएको पानीले उनको आँखाको परेली भिजाएको थियो। एकाएक हामी ध्यानको गहिराइमा गयौं। शून्यमा हरायौं कतिबेर।

त्यो अलौकिक आनन्दको बयान गर्ने सामर्थ्य  मसँग छैन अहिले।

जब ध्यानबाट हामी बाहिर आयौं उनले मलाई सोधिन् “के पाउनुभो ध्यानको अतल गहिराइमा पुगिसकेपछि।” मैले भनें “निराकार देखें, शून्य देखें, शान्ति देखें र केहीबेर देखे, उज्यालो ज्योति स्वरुप।” उनलाई पनि सोधें मैले  “तिमीले के देख्यौ भनेर।” उनले भनिन्, “केही छ त्यो पर पर एउटा आशाको किरण नि:सर्त देखिने तर ध्यान गहिरो हुनुपर्छ। नारायणी किनारमा बसेर कालीगण्डकीको मुहार सम्झिएँ मैले।”

हामीले जतिबेलासम्म ध्यान गर्यौं हामी हामीमै थिएनौं। न उनी त्यहाँ थिइन्। न म नै त्यहाँ थिएँ। हाम्रो भौतिक शरीर त्यहीं थियो तर हामी चैं कहाँ गयौं थाहा थिएन। हामी कुन दिशाबाट आएका थियौं त्यो पनि थाहा थिएन। केही केही थाहा थिएन। मैले जब आँखा खोलें सँगै पाएँ उनीलाई। उनको मुहारमा एउटा अलग उज्यालो थियो। एउटा अर्कै शान्ति थियो। मैले हेरें त्यो चपल आँखाको भृकुटीमा। त्यो आँखाको डिलमा छुन मन लागेको थियो। किनकि त्यहाँ पानीको सुनौलो थोपा  थियो। पुछ्न मन लागेको थियो ती सुनौला कणलाई हातले। तर सकिनँ छुन। पानीका बूँद र ध्यानको गहिराइले छोइएकी उनी यति कोमल र पवित्र लाग्यो कि छोइदिनु पनि फूलमाथि चम्केको शीत झारिदिनु जस्तो लाग्यो।

ब्युँझिसकेपछि फेरि हामी यही भौतिक भूगोलको संसारमा फर्कियौं। माया लाग्यो वरिपरिको फेरि। उनलाई हेरें अलिकति हाँसे म। उनी अलिक लजाइन्। त्यो लाजमा पनि एउटा अर्कै सघनता थियो। अर्कै सुखानुभूति र तृप्ति थियो। ढुङ्गाबाट तल झर्नाको पानी जमेर सानो तलाउ परेको थियो त्यो इन्द्र दह। मैले सोधें मलाई त्यहाँ गएर त्यो पानी छुन मन लाग्यो। “जानु न” भनिन् उनले। म तल गएँ। पानी छोएँ। तल अलिक गहिरो नै थियो। तल पुगेपछि मैले हेरें उनलाई। यस्तो लाग्यो मैले आकाशमा जून हेरिरहेछु। म तल गएको। पानी छोएको। अनि ढुङ्गा समाउँदै माथि आएको सबै तस्वीरहरु आफ्नो मोबाइलमा कैद गरिसकिछन्। जीवनमा प्रकृतिसँग यसैगरी  पुलकित भएको म पहिलो चोटि हो। हे शून्य  ! तलाई कस्तो लागिरहेछ मेरो बयान ? सुन्दै जाउ है ! कति कति भन्नु छ तँलाई हाम्रा कुरा।

ढुङ्गा त ढुङ्गा नै हो तर ढुङ्गा पुजियो भने ईश्वर बन्दोरहेछ। यही कुरा प्रमाणित गरिदिइन् आज उनले। कस्तो मीठो थियो त्यो मैले बयान गरेको हाम्रो हिजोको आज। “मसँग कुरा गर्दा वा मसँग रहँदा पुरुष र प्रकृति भन्दा माथि उठेर व्यवहार गर्नुहोला है” उनको यो भनाइमा एउटा विहङ्गम व्याख्या लुकेको थियो। प्रकृति र पुरुष भन्दा माथि के छ त्यो सबैले देख्दैनन्। देख्नेले देख्छन्। अनुभूत गर्नेले गर्छन्। “एउटा पुरुषसँग छु भन्ने कुरा मैले यतिबेला बिर्सेको छु”  उनले यो वाक्य बोलेपछि म एकछिन सोचमग्न भएँ। हो वास्तवमा कति सजल कुरा थियो त्यो। एउटी नारी कुनै  पुरुषसँग हुँदा पुरुषसँग बसेको अनुभूति नगर्नु भनेको त्यहाँ कुनै दूरी र संकोचको पर्वाह नगर्नु पनि  हो। एकै आँखाले हेर्नु हो यो चराचर जगतलाई। लाज, संकोच, क्षोभ, भय, चिडचिडापन, उन्माद, यौन, वासना, आलिङ्गन, आतुरता, रंजकता, यी सबै सबै कुराहरूबाट मुक्तिको कुरा थियो उनको।

भौतिक रूपमा जसै पार्वती र शिवको रुप अलग देखिए पनि आत्मिक रूपमा उनीहरू  दुई एकै त थिए। अर्धनारीश्वर ! शिवको आधा स्वरुप पार्वतीकै थियो अनि पार्वतीको आधा स्वरुप शिवकै थियो। यही हो स्त्री र पुरुष बीचको समभाव। उनले यही भन्न चाहेकी थिइन् मसँग। वासनाको अवशेष केही नरहेपछि त्यहाँ अर्कै शान्ति र प्रेमको अनुधारा बहन्छ। त्यही बगिरह्यो त्यो दिन हाम्रो आँखाबाट। जीवन त गीत हो । सरल पाराले गाउन जानियो भने त्यो गीत गीत नभएर प्रार्थना बन्छ। हरेक सन्ध्यामा सुनिने मन्दिरको घन्टबाट गुन्जिने आरती जस्तै हो प्रेम। त्यो शान्तिको एउटा चपल बाटो। जति हिंडे पनि कहिल्यै अन्त्य नभैदिए जस्तो लाग्ने।

हामीले हिंडेको त्यो बाटोमा हाम्रो पैतालाको डोब पानीले पखाल्यो होला है ! किनकि त्यो दिन प्रकृतिले पनि आफ्नो काख धोएकी थिइन् हामीलाई अशेष माया दिन। तिमी अलिकति भिज्यौं। म अलिकति भिजें। हाम्रो भिजाइमा पनि  माया भिजेको थियौ है ! म पुरुष नै त थिए नि  ! तिमी प्रकृति नै त थियौ। र पनि म आकाश थिएँ। तिमी धरा थियौ। कहाँ थियो र खै त्यसको मिलन ? मिलेजस्तो त त्यतिबेला  देखिन्छ जतिबेला इन्द्रधनुको सात रंग विलिन्छ कुनै बैंसालु पोखरीमा। अनि माया र म्वाईंको मधुधारा उद्भासित हुन्छ। तरङ्ग उठ्छ। प्रश्वास बढ्छ। मादको विलीनता पछि एउटा अर्कै रंग देखिन्छ आकाशमा। सबै सबै ओंठमा वैजनी रङ भरेर धरतीबाट जब उठाउँछ पानी इन्द्रेणीले। त्यही हो मायाको व्याख्या पनि। माया त आकाश हो। माया त धरा हो। अलिकति छोइँदा पनि कोमलानुभूति हुने त्यो इन्द्रेणी तिर्खा मलाई पनि लाग्छ नि बुझ्यौ ! मेरो मुस्कानको दीप्तिमा तिमी जलेको हेर्ने रहर मलाई पनि छ नि! के तिमी जल्ने हो त ?

नारायणीबाट बहँदै आएको बतासले छोयो तिमीलाई। तिम्रो कपालबाट एक प्रकारको अत्तर उडिरहेको थियो। त्यो अत्तरमा तिमी नै तिमी वास मग्मगाइरहेको थियो। अलिकति तिमी अगाडि थियौ। आधा जुनेली मुहार मात्रै देख्दै थिएँ म। तिम्रो सुगन्धको महकतालाई छोएँ मैले। तिम्रो छायाँ अलिक अगाडि नसर्दै तिम्रो आधा मुहार हेरें मैले। खोइ के भएको हो मलाई। तिमी सँगै छँदाछँदै पनि मलाई किन तिम्रो न्यास्रो लागेको होला ! अचम्म लाग्यो। जब तिमी मेरो सान्निध्यमै थियौ। एउटा पातलो रेखा थियो तिम्रो र मेरो बीचमा। एक धर्सो मात्रै। केवल एक धर्सोले मात्रै हामी अलग थियौं। तर छुवाइको अनुभूति यति सघन थियो कि गुलाफको गालामा बतासले छोएर भागे जस्तै। केवल एक पातलो रेखाले तिमी मदेखि पर थियौ। त्यसैले पनि होला मलाई तिम्रो न्यास्रो लागेको।

ध्यान सकेर जब त्यो आनन्द लोकबाट बाहिर निस्कियौं हामी खोइ किन पो हो सबै सबै चिजहरु कोमल लाग्न थाल्यो मलाई। बिरुवा, पात, नदी, ढुङ्गा, पहरा, माटो, मन्दिर, घर, वन सबै सबै कोमल। ध्यानबाट उठेपछि नारायणी बगेको हेर्न मलाई साथै लिएर गयौ। म पछि लागें। छेउ पुगेर तिमी रोकियौ। म पनि रोकिएँ। हामीले हेरिरह्यौं नदीलाई। नदी पनि  हतारमा थिइन्। शायद मानिसलाई मात्रै होइन यहाँ प्रकृतिलाई पनि हतार छ। कहीं पुग्नुछ उसलाई। महासमुद्रमा मिसिनु छ र शान्तिले त्यहीं बस्नुछ। एक तमासले पानीको बहावलाई हेरिरह्यौ तिमीले। मैले जाउ भनें। तिमी मोडियौ म भएतिर। हेर्यौ मलाई एक पलक। तिम्रो आँखामा अडिएँ म। एकछिन सन्नाटा छायो।

जवानी घामले सिङ्गो आकाश ओगटे जस्तो लाग्यो। गर्मी भयो। रुखको छायाँमा हिंड्दै थियौं हामी। रुखका पातहरुलाई छुँदै छुँदै हिंडिरहेको  बतासका कारण हामी फेरि शान्त भयौं। तिम्रो ओठ र मुहार कस्तो उज्यालो देखें मैले। हावाले फेरि फेरि छोइरह्यो भने अर्कै मादकताको काउकुती लाग्ला। पसिनाले पखालेको उनको मुहारमा नारी सोह्र शृङ्गार केही पनि बाँकी थिएन। अलिकति गाँजल लगाएकी भए कस्तो सुहाउँथ्यो होला नि! ओंठमा पनि लाली थिएन। ओहो ! मैले त ख्याल गरेको रहेनछु। कस्तो हुन्थ्यो होला त्यो ओंठ यदि गुलाफी लाली लगाएकी भए। गाँजल बग्थ्यो होला आँखाको दुई धर्साबाट। आँखामा तिम्रो अलिकति गाँजल होस्। ओठमा तिम्रो अलिकति गुलाबी रंग होस्। कपालको चुल्ठोमा वनफूल सिउरी दिन पाए कस्तो सुहाउँथ्यो होला नि! यस्तै यस्तै के सोच्दै थिएँ तिमीसँग हिंड्दा ओरालीमा। तिमी अनायास करायौ। म तिमीलाई के भो भनेर अत्तालिएँ। तल खुट्टाको छेवैनिरबाट एउटा सुनौलो सर्पको बच्चा तिमीलाई छोएर तल जङ्गलतिर ओर्लियो।

प्रकृति ! एउटा कुरा मलाई भन त के तिमीमा एकछिन पछि घट्ने घटनाको पहिल्यै जानकारी मिल्छ हो ? के यस्तो शक्ति छ तिमीसँग ? उकालो लाग्दा नै त्यो कलात्मक पहाड  देख्दा तिमीले अर्कै अनुभूति गरेकी थियौ र मलाई भन्दैथियौ “हेर्नुस् त हामी अगाडिको यो पहाड। केही महसुस गर्नु भो तपाईंले।” “म अलिक बोधो छु नि ! मेरो यो भुत्ते दिमागले यसलाई त एउटा पहाड  मात्रै देख्छ” मेरो कुरा सुनेर प्रकृति एकछिन हाँसिन्। त्यो हाँसो मलाई कस्तो मन पर्यो। कुरा यतिकै रहेन। उनी त्यो मूर्तिरूपी पहाडको बारेमा मलाई कलात्मक दर्शन दिन थालिन्। “यी हेर्नुस् त यसको माथि। शिर, घाँटी, यसको शरीर, यसको आँखा, के यो नाग जस्तो देखिंदैन त अर्कै फिलिङ आयो मलाई” म पनि एकछिन त सोचमा परें।

म हेर्थें नि प्रकृति  तिम्रो त्यो अञ्जुलीबाट बहेको श्रद्धाको धारा।

कसरी उभायौ त्यही धराबाट बहेको पानी। फेरि त्यो यात्रामा तिमी र म बाहेक अरु कोही पनि त थिएन। अञ्जुलीको पानी उभाउदा तिमी निहुरियौ होला पक्कै। तिम्रा आँखाका भृकुटी एक पल तल धरामा ठोक्किए होलान्। तिमी खुसीथ्यौ होला। तिमीभित्र एउटा पवित्र भावले सम्बोधन गर्दै थियो होला। कति कलात्मक छ है तिम्रो सोच। त्यसैले होला तिम्रो मुहार पनि ईश्वरले कति राम्रो बनाइदिएको। राम्री छ्यौ। मलाई असाध्य राम्री लाग्छ तिमी। तिम्रो मुहारको महाकाव्य लेख्न सक्छु म प्रकृति। किन मन पर्छ यति धेरै तिम्रो निश्छल आँखा। गाँजल विनाको आँखा। एकदिन आँखामा गाँजल र ओंठमा गुलाफी रङ्ग लगाएर आउन मेरो सामुन्ने। म हेरिरहन्छु र लेखिरहन्छु तिमीलाई दिनभरि।

 अन्ततः कुरो उही त आउँछ नि पुरुष हुँ म र तिमी प्रकृति। तिमीलाई बेहिसाब मनपराउँछु। हेरिरहन्छु। अघाउँदिनँ। एक भेट त के हो र  हजार भेटमा पनि म तिमीलाई हेरेर अघाउँदिनँ। जेसुकै भन मलाई पर्वाह छैन। तिमीले जतिसुकै आदर्शका कुरा गर मलाई मतलब छैन। मलाई पेटभरी हेर्नुछ तिमीलाई। फेरि भन्ल्यौ हेरेर के पाइन्छ ? जूनलाई हेरेर के पाइन्छ  ? आकाश  अनि यी लहर लहर उभिएका पहाडलाई हेरेर के पाइन्छ ? बिहानको हिमाललाई हेर्दा के पाइन्छ ? फेरि पनि किन आउँछन १४ घन्टा हवाईजहाज चढेर विदेशीहरु हिमाल हेर्न। किन जान्छन् मानिसहरू पोखरा फेवा हेर्न ? के म तिमीलाई नहेरुँ ? के म तिमीलाई नछोउ ? के म तिमीलाई नजिस्क्याउँ ?  के म तिम्रो परेली नहेरुँ ? के म तिम्रो आँसु नपुछुँ ? के म तिमीलाई दुख्दा नदुखुँ ? भन त ! घाम नारायणी र राप्तीको काखबाट विलय हुन थाल्यो। उपहारका लागि टिपेको त्यो कलात्मक ढुङ्गा मेरो हातमै पो थियो … सोचमग्न भएँ। अघिको त्यो छायाँ मसँगै हिंड्ने को थिइन् ?  परबाट बतासले बोल्यो “म थिएँ।”

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments