Monday, October 3, 2022

राज्यलाई रुक्शनासँग केको डर हो ? – Online Khabar

२६ जेठ, काठमाडौं । रुक्शना कपाली स्नातक दोस्रो वर्षको फर्म भर्न सोमबार त्रिचन्द्र कलेज गइन् । उनले प्रशासनले मागेको विवरण र दस्तुर बुझाइन् । तर उनले बुझाएको सो फर्म प्रशासनले लिन मानेन ।

रजिष्ट्रेसन नम्बर नभएकाले फर्म लिन नसक्ने भन्दै कलेज प्रशासन पन्छियो । रुक्शना केही बोलिनन् । कर्मचारीले आफूलाई गरेको व्यवहारलाई उनले सामान्य लिइन् । किनभने रुक्शनाको लागि यो घटना नौलो भने होइन ।

भर्खरै २३ वर्ष पुगेकी रुक्शना कपालीले आफ्नो अस्तित्वको लागि धेरै संघर्ष गरेकी छिन् । उनले आफ्नो पहिचानको लागि आफू बस्ने वडा, सरकारी कार्यालय, त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र कलेजको ढोका चहारिसकेकी छिन् । अब उनलाई एउटै निकायको मात्र आशा छ त्यो हो सर्वोच्च अदालत ।

लैंगिक पहिचान स्वअनुभूतिको आधारमा निर्धारण हुने अन्तर्राष्ट्रिय मानवअधिकार कानुन मापदण्ड एवं अभ्यासहरुले प्रत्येक व्यक्तिगत परिचय जनाउने परिचयपत्र सोही अनुरुप व्यक्तिको परिचयपत्र, प्रमाणपत्रलगायत कागज प्रमाणको आधारमा सम्मानपूर्ण जीवनयापन गर्न पाउने अधिकार प्रदान गरेको भए पनि उनले अनुभूति गर्न पाएकी छैनन् । आफ्नो पहिचानको लडाइँमा उनी निरन्तर संघर्षरत छिन् ।

को हुन् रुक्शना कपाली ?

उनी आफूलाई ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) भनेर चिनाउँछिन् । तर एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ भनेर लेखिएको छ ।

कपालीको कक्षा १० को (एसएलसी) प्रमाणपत्र र कक्षा ११ र १२ (प्लस टु) को प्रमाणपत्रमा नाम र लिंग फरक छ । कपालीले कक्षा १० उत्तीर्ण गर्दाको प्रमाणपत्रमा नाम अर्कै छ भने लिंग पुरुष । प्लस टुको प्रमाणपत्रमा उनको नाम रुक्शना कपाली लेखिएको छ, लिंग उल्लेख नगरिए पनि किशोरी भनेर स्पष्ट चिनिने फोटो छ । नागरिकतामा रुक्शना कपाली नै लेखिएको छ तर लैंगिक पहिचानमा ‘अन्य’ लेखिएको छ । वडाले दिएको सिफारिसमा भने यी फरक-फरक नाम र लिंग भएको व्यक्ति एउटै हो भनेर उल्लेख छ ।

‘जब म बुुझ्ने भएँ म पारलैंगिक महिला हुँ भन्ने महसुुुस गरिसकेको थिएँ, तर मलाई अनुमान गरिएको भरमै पुरुष भनियो’ उनी भन्छिन्, ‘मैले कहिल्यै पनि पुरुष भएको महसुस गरिनँ ।’ पारलैंगिक महिला हुँ भन्ने कुरा कक्षा आठमा पुगेपछि मात्र पूर्ण रुपमा थाहा भएको उनी बताउँछिन् ।

‘म स्कुल पढ्ने समयमै लिंग परिवर्तन गर्न चाहन्थें तर मलाई त्यसो गर्न दिइएन । तिमी केटा नै हौ, तिम्रो पहिचान यसैसँग जोडिएको छ, तिमीले गर्दा स्कुलको बेइज्जत हुन्छ भनेर मलाई धम्काइयो र म एसएलसी दिने समयसम्म मौन रहें’ रक्शना भन्छिन् ।

उनले २०७२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरिन् । त्यसपछि नागरिकता बनाउन आमालाई लिएर महिलाको पहिरनमा जिल्ला प्रशासन कार्यालय गइन् ।

नागरिकता बनाउन जाँदा एसएलसीको सर्टिफिकेट र जन्मदर्ताको विवरण अनुसार उनको रुप अलग थियो । ‘महिलाको पहिरनमा गएपछि केटाको नाम राख भन्ने नैतिकताले दिएन, त्यसैले जिल्ला प्रशासनले मेरो लैंगिक पहिचानमा ‘अन्य’ राखेर नागरिकता बनाइदियो’, रुक्शना भन्छिन् ।

प्लस टुको यात्रा

रुक्शना  भन्छिन्- मैले मागेको अधिकारले देशलाई कुनै हानि छैन, मैले मात्र मेरो अस्तित्व खोजेकी हुँ, मेरो एसएलसीमा भएको परिचय सच्चाउने हो, त्यसैले मैले सर्वोच्चमा मुद्दा हालें ।

उच्च मावि अध्ययनको लागि उनी एम्स एकेडेमी लगनखेल भर्ना भइन् । तर उनले त्यहाँ स्कुलमा भोग्नु परेको जस्तो यातना भोग्नु परेन । उनी भन्छिन्, ‘प्रधानाध्यापक टी.आर. ढकालसँग पारलैंगिक महिला भएको जानकारी गराएसँगै उहाँले तिमी विद्यार्थी भएकाले तिम्रो काम पढ्ने मात्र हो, शिक्षामा लिंगले कुनै प्रभाव पार्दैन भन्नुभयो, मेरो आत्मविश्वास बढ्यो ।’

प्रधानाध्यापकको आश्वासनले उनलाई अगाडि बढ्न ठूलो हौसला दियो । स्कुलमा खुम्चिएर बसकी रुक्शनाले कक्षा ११ र १२ सम्म सहज महसुस गरिन् । उनलाई प्रधानाध्यापक ढकालले कसैले नराम्रो व्यवहार गरे, अनुशासन तोडिए एक्सन लिने भनेपछि सुरक्षित महसुस गरेको उनी बताउँछिन् ।

रुक्शनाले कक्षा १२ को लागि परीक्षा फर्म भर्ने बेला आफ्नो वास्तविक पहिचान राख्न चाहिन् । जसकारण एसएलसी सर्टिफिकेटमा भएको नाम र अहिलेको नाम रुक्शना कपाली एकै व्यक्ति हो भनेर वडाबाट सिफारिस बनाइन् । ‘सिफारिसको आधारमा मैले फर्म भरें, प्रधानाध्यापकको सहयोगले पारलैगिंक महिलाको परिचयसँगै आरामले परीक्षा दिएँ’, उनले भनिन् ।

विश्वविद्यालयले दिएको सास्ती

प्लस टु पास भएसँगै उनी थप शिक्षाको लागि स्नातक तह पढ्ने सपनाले २०७४ सालमा त्रिचन्द्र कलेजमा भर्ना भइन् । भाषामा एकदमै रुचि भएकाले भाषाविज्ञ बन्ने उनको लक्ष्य हो । त्यसैले भाषा विज्ञान विषय पढ्नकै लागि उनी त्यता मोडिइन् । उनी भन्छिन्, ‘कक्षा आठ पढ्दादेखि नै भाषा विज्ञ बन्छु भन्ने सपना बोकेकी थिएँ, त्यसैले स्नातक यही विषयमा पढ्दैछु, जीवनमा १० वटा भाषा बोल्ने, लेख्ने लक्ष्य छ ।’ त्रिभुवन विश्वविद्यालयको भाषा विभागमा सम्पर्क गर्दा विभागले दिएको सुझावअनुसार उनी त्रिचन्द्र पुगेकी थिइन् ।

उनलाई क्याम्पस भर्ना हुन केही समस्या भएन । उनले नियमित पढ्न पनि थालिन् । तर उनलाई समस्या रजिष्ट्रेसन नम्बरले गरायो । किनकि उनको एसएलसी र प्लस टुको सर्टिफिकेटमा फरक-फरक परिचय छ ।

२०७४ को अन्त्यतिर पहिलो वर्षको परीक्षाका लागि दर्ता फारम भर्नुपर्ने बेला भयो । उनले फारम भरिन् । तर, विश्वविद्यालयले उनको फारम दर्ता गर्न मानेन । उनले दुवैलाई एउटै नबनाएसम्म कुनै पनि परीक्षामा बस्न नदिने अडान लियो । एउटै बनाउनका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु जान कलेजले सल्लाह दियो ।

‘धेरै पटक धाएँ, सुरुमा जाँदा मलाई धेरै हप्काइयो, त्यति बेला ब्लु डायमण्ड सोसाइटीमा काम गर्थें’ रुक्शनाले भनिन्, ‘एकजना वकिलको साथमा त्यहाँ पुगें, अलिकति कुरा सुने जस्तो गरे, परीक्षा दिन पाउँछौ भनेर मौखिक आश्वासन दिएपछि म केही ढुक्क भएकी थिएँ ।’

एकेडेमिक सर्टिफिकेट निकाल्ने बेलामा उनलाई जति पनि सिम्बल नम्बर छ त्यो सबै बुझाएपछि तीन वर्षसम्म केही न केही हुने र त्यो काम प्राज्ञिक समितिबाट हुने भनिएको थियो ।

यही आश्वासनले उनले पहिलो वर्षको परीक्षा दिइन् तर उनले राम्ररी पढ्न भने सकिनन् । आफ्नो पहिचान लडाइँको लागि सरकारी कार्यालय धाउँदा धाउँदा अनेक सास्ती व्यहोरेकी छिन् तर हिम्मत भने हारेकी छैनन् ।

सर्वोच्चप्रति आश

एसएलसीको सर्टिफिकेट सच्याउने भन्दै उनी शिक्षा मन्त्रालयसम्म पुगिन् । तर पनि उनको समस्या समाधान हुन सकेन । उनी न्यायको लागि राष्ट्रिय मानवअधिकार आयोगमा पनि गइन् तर कसैले उनको समस्याको सम्बोधन गरेनन् । उनी भन्छिन्, ‘मैले मागेको अधिकारले देशलाई कुनै हानि छैन, मैले मात्र मेरो अस्तित्व खोजेकी हुँ, मेरो एसएलसीमा भएको परिचय सच्चाउने हो, त्यसैले मैले सर्वोच्चमा मुद्दा हालें ।’

असार १४ गतेसम्म उनको परीक्षा फारम भर्ने अन्तिम मिति छ तर मुद्दाको पेशी असार २० लाई तोकिएको छ । उनलाई यसले गम्भीर समस्यामा पारेको छ ।

हरेक कार्यालयमा गएर मेरो सर्टिफिकेट हेरिदिनुस् भन्दै विगत र वर्तमानको बारेमा जानकारी गराउँदा-गराउँदा हैरान भइसकेकी उनी भन्छिन्, ‘यो समयमा मानसिक रुपमा पनि चोट पर्‍यो, कानुनले वडालाई अधिकार दिएको छ, तर त्यही वडाले दिएको सिफारिस काम लागेन, जहाँ गए पनि एसएलसी सर्टिफिकेट नै माग्छन् ।’ जीविकोपार्जनको लागि केही काम गर्छुभन्दा पनि ढोकाहरू बन्द भएको रुक्शनाको गुनासो छ ।

दुःखले दियो कानुन विषय पढ्ने प्रेरणा

पूर्वाञ्चल विश्वविद्यालयमा रहेर उनले कानुन विषय पढ्दै छिन् । आफूले भोगेको दुःखले उनलाई कानुन पढ्न प्रेरणा दियो । आफू जस्ता हजारौंले यस्ता समस्या भोग्न नपरोस् भन्ने उनको चाहना छ ।

लामो संघर्षले उनले पहिलो वर्षको परीक्षा दिएकी छन् तर नतिजा आउँछ कि आउँदैन भन्ने सन्देह उनमा छ । रजिष्ट्रेसन नम्बरविना नतिजा नआउने हो कि भनेर उनी चिन्तित छिन् ।

उनको प्रश्न छ- मैले मेरो अधिकार माग्दा राज्यले कहिले सुन्ने ?’ उनले मागेको एउटै परिचय हो : नाम- रुक्शना कपाली, लिंग- पारलैंगिक महिला । शैक्षिक प्रमाणपत्रहरूमा पनि यही होओस् र माथिल्लो कक्षा अध्ययन गर्ने बाटो खुलोस् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments