News Portal

any time News , local election in nepal 2079

भीडसँग सावधान – Online Khabar

एउटा बँधुवा युवा हात्ती साङ्लो चुँडाएर भाग्ने प्रयास त्यसकारण गर्दैन, जब ऊ सानो थियो, साङ्लो छिनाएर भाग्ने उसका यावत् प्रयास असफल भएका थिए । त्यही बाल मनोविज्ञानले ऊभित्र साङ्लोको अजेय शक्तिमाथि गहिरो विश्वास निर्माण गर्‍यो । र त बलशाली हुँदासमेत ऊ साङ्लोसँग विद्रोह गर्ने हिम्मत गर्दैन ।

मानिस परम्परापि्रय जीव हो । परम्पराभन्दा दायाँबायाँ गर्न हिच्किचाउँछ मान्छे । हामीमा परम्पराको जगमा झाँगिएका थुप्रै विश्वास छन् । भूत-प्रेत, मसान, डंकिनी, बोक्सी, किचकन्ने, धामी-झाँक्री, नाग-नागिनी आदिको अस्तित्वप्रतिको स्वीकारोक्ति परम्परामा आधारित विश्वास हुन् । त्यही विश्वासकै कारण भूत-प्रेतको नाम लिंदा आङ सिरिङ्ग हुन्छ हाम्रो । तिनका आततायी किंवदन्ती सुनेर भयाक्रान्त हुन्छौं हामी । हाम्रा पुर्खाले युगौंदेखि भूत-प्रेतका भयावह किस्सा सुन्दै-सुनाउँदै आए । युगौंदेखि सुन्दै-सुनाइँदै आएका उल्लेखित किस्साहरूले मानव मस्तिष्कमा विश्वासको अभेद्य पर्खाल निर्माण गर्‍यो । त्यसैले त आफूलाई भौतिकवादी वा अभौतिकवादी बताउने जो-कोही भूत-प्रेत शब्द उच्चारण गर्नासाथ झस्कन्छ, तर्सन्छ ।

मूलतः परलौकिकतामाथि लगाव राख्ने मनोवृत्तिबाट अन्धविश्वासरूपी महारोगको जन्म हुन्छ । अन्धविश्वास भयानक मनोरोग हो । एउटा त्यस्तो मनोरोग जुन क्यान्सरभन्दा घातक हुन्छ । मेडिकल साइन्सले कतिपय असाध्य रोग निवारक रामबाणहरूको निर्माण गर्‍यो तर अन्धविश्वास मारक रामबाण आविष्कार गर्न सकेन । निशाना त केवल दृश्यमा लगाउन सकिन्छ । निष्कर्ष त केवल तथ्यको निकाल्न सकिन्छ । जो तथ्यहीन छ । जो निराकार छ । त्यस अभेद्य, अदृश्य विम्बलाई न कुनै दूरविनको मद्दतले ठम्याउन सकिन्छ । न त्यसमाथि निशाना लगाउनै संभव छ !

हामी नवीनतासँग झस्कन्छौं, तर्सन्छौं । धेरै मानिस नवीनतालाई सहजै स्वीकार गर्न तयार हुँदैनन् । हामी सत्य केवल सनातनभित्र मात्र हुन्छ भन्ने ठान्छौं । परिणामतः जब कुनै नयाँ कुरा अस्तित्वमा आउँछ वगावत गर्न तम्सिन्छौं ।

मानिस मन्दिर यस कारण जान्छ, उसलाई विश्वास छ मन्दिरभित्र भगवान छन् । हामी मूर्ति पूजा यस कारण गर्छौं, हामीलाई भरोसा छ शिलाभित्र ईश्वरको प्राण छ । हामी भूत-प्रेतसँग त्यस कारण डराउँछौं, हाम्रो मस्तिष्कमा आमाको गर्भमा छँदैदेखि भूतप्रेतको त्रासद तस्बिर लुकेको छ ।

आखिर यस्तो किन हुन्छ त ? यस सन्दर्भमा विख्यात मनोविश्लेषक सिग्मण्ड फ्रायडको विचार मननीय छ । फ्रायड भन्छन्, लाखौं वर्षको विकासक्रमलाई छिचोल्दै आएकोले मानिसभित्र थुप्रै आदि बिम्वहरूले डेरा जमाएका हुन्छन् । हाम्रो सोच्ने ढंग, आचार व्यवहार, संवेग-आवेगमा लाखौं वर्षअघिदेखिका आदिम विश्वासहरू यो वा त्यो रूपमा प्रकट हुने गर्दछन् ।

हामी भीड मनपराउँछौं । धेरै मानिस भीडलाई हेरेर मनोरञ्जन लिने गर्छन् । भीडको माझमा उभिंदा सुरक्षित महसुस हुन्छ हामीलाई । तर भीड कुनै पनि कुराको समाधान होइन । भीड कुनै पनि क्षण विध्वंसक बन्न सक्छ

अध्यात्म वा भौतिकवाद धेरै पहिलेदेखि बहसको विषय बन्दै आएको छ । नेपाली बौद्धिकहरूमा महाकवि देवकोटालाई भौतिक या अध्यात्मवादी देख्ने दुवैथरी चश्मा मौजुद छन् । देवकोटालाई अध्यात्मवादी देख्नेहरूले यात्री कवितालाई भौतिकवादको कसीमा घोट्न खोजेको पाइन्छ । त्यसो त तासकन्द सम्मेलनबाट फर्केपछि देवकोटा कम्युनिस्ट भएको देख्ने आँखाहरू पनि प्रशस्तै भेटिन्छन् । तिनै देवकोटाले जीवनको अन्तिम चरणमा ‘आखिर श्रीकृष्ण रहेछ एक !’ भनेका थिए भन्दै दंग पर्नेहरूको पनि ठूलै जमात छ ।

म यस सन्दर्भमा बालकृष्ण समका केही विचार उद्धृत गर्न चाहन्छु । नियमित आकस्मिकतामा सम लेख्छन्- ‘मानिसलाई दृश्यभन्दा अदृश्य प्यारो छ । वास्तविक स्थितिभन्दा कल्पित स्थिति प्रिय छ । दृश्यको निम्ति एकमत छ मानिस । विवाद केवल अदृश्यका लागि भैरहेछ । सबै धर्ममा दृश्य एक छ । विभिन्नता अदृश्यमा मात्रै छ । कसैको स्वर्ग-वैकुण्ठ छ, कसैको जन्नत । कसैको हेभन-प्याराडाइज छ त कसैको अरू नै केही । हामीलाई आफू मरिसकेपछि पनि जीवित रहने चिरञ्जीवी पाषाणमा विश्वास छ ।’

एक समय यस्तो पनि थियो, जतिबेला पृथ्वी चेप्टो छ, सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने विश्वास गरिन्थ्यो । आफूलाई हिन्दू धर्मावलम्बी मान्ने हामी स्वयम् ‘चमारे’को श्रापका कारण चन्द्रग्रहण लाग्छ भन्ने मान्यताले ग्रस्त थियौं ! अनि श्राप मोचनका निम्ति गंगास्नान, भजन, कीर्तन, जप, होम, यज्ञ, पूजा, आराधना गर्दथ्यौं ।

कैयौं मानिस परम्पराप्रति नतमस्तक भएर उभिए । तिनीहरूले विगत र वर्तमानका विसंगत पक्षहरूको कमा र फुलिस्टपसम्म संशोधन गर्न चाहेनन् । तर एउटा विवेकशील व्यक्ति आँखा बन्द गरेर विज्ञानको प्रयोगशालामा परीक्षण गर्न नसकिने कुराको पछि कुद्दैन । प्रश्नशील-तर्कशील मानिसहरू शब्दद्वारा विद्रोहको ज्वाला ओकल्छन् । विद्रोह जडता वा यथास्थिति विरुद्धको शङ्खघोष हो । इतिहासको पानामा बुद्ध, सुकरात, लेनिन, गान्धी, न्युटन, ग्यालिलियो, डार्बिन आदिको नाम विद्रोहीको रूपमा लेखियो ।

भनाइ छ, हरेक सत्य अर्को नयाँ तथ्यद्वारा प्रतिस्थापन नगरिएसम्मका लागि मात्र सत्य हो । एक समय यस्तो थियो, मानिसले पदार्थ वा द्रव्यलाई अन्तिम इकाइको रूपमा बुझ्दथ्यो । विस्तारै पदार्थलाई विभाजन गर्न सकिने र पदार्थको सबैभन्दा सानो इकाइ अणु हो भन्ने निष्कर्षमा ऊ पुग्यो । भौतिक विज्ञानको चेतनाले अणुलाई पनि इलेक्ट्रोन, न्युट्रोन र प्रोटोन गरी तीन स-साना इकाइमा बाँड्न सकिने नयाँ निष्कर्ष अगाडि ल्यायो । अझै अगाडि बढ्दै जाँदा उसले थाहा पायो पदार्थको सबैभन्दा सूक्ष्मतम इकाइ क्वान्टम हो ।

यथास्थितिप्रति सन्तोष गरेर बसेको भए मानिस आज पनि गुफाबासबाट बाहिर निक्लने थिएन । यही अर्थमा विद्रोही र अन्य मानिसका बीच विभाजनको रेखा कोरिन्छ । परम्परा भन्छ- तर्क नगर । सत्यको सम्पूर्ण उद्घाटन आदिकालमा भइसक्यो । सनातनबाट जे प्राप्त भएको छ त्यसैमा भरोसा राख । सनातनदेखि जे स्वीकृत भइआएकोे छ त्यो नै अन्तिम सत्य हो । वेद, उपनिषद्, गीता, पुराणमा वणिर्त विषय ब्रहृमवाक्य हुन् । योभन्दा पर गएर सत्यको नयाँ वर्ण खोज्ने धृष्टता नगर ।

हाम्रो देश अत्यधिक हिन्दूहरू बसोवास गर्दै आएको देश हो । यहाँ जता हेर्‍यो त्यतै मन्दिरै मन्दिर छन् । प्रभुको स्वप्नादेश पूरा गर्न मन्दिर बनाउनु कैयौं भक्त आफ्नो अहोभाग्य सम्झिन्छन् । त्यसैले त यहाँ स्कूलभन्दा धेरै देवालय छन् । हामीमा सनातनप्रति अगाध आस्था छ । पण्डित पुरोहितमाथि भरोसा छ । धर्मग्रन्थमा वणिर्त विषय सोह्रै आना सत्य लाग्छ हामीलाई । हामीलाई विश्वास छ धर्मराज युधिष्ठिर चक्रवर्ती (सम्पूर्ण भूगोलमा शासन गर्ने) सम्राट थिए । महाभारत, पुराणमा त्यही लेखियो । जबकि भास्कोडिगामाले भारत आउने बाटो पत्ता लगाउनुअघि या कोलम्बसमार्फत अमेरिकाको खोजी हुनुअघिसम्म मानिसलाई आफू बसेको प्रायद्वीपभन्दा बाहिरको तथ्यपूर्ण जानकारी थिएन ।

त्यस किसिमको अन्धविश्वासको आधार के हुनसक्छ त ? किन हामी यति धेरै मूढाग्रही भयौं ? यो प्रश्न जति स्वाभाविक छ, कसैलाई त्यति नै आपत्तिजनक लाग्न पनि सक्छ । विश्व इतिहास साक्षी छ, धर्म वा परम्पराभित्र झाँगिएका रुढ मान्यताविरुद्ध औंला ठड्याउनेहरूका ढाडमा सयकडौं कोर्रा बर्सिए । कैयौंमाथि मृत्युदण्डको फरमान जारी गरिए । तथापि यस पृथ्वीमा केही त्यस्ता वैज्ञानिक, विद्वान, कवि, लेखक, समाज सुधारकहरू पैदा भए जो अन्ध परम्परा र विश्वास विरुद्ध सत्याग्रही बनी जुधिरहे । सत्यको पक्षमा अविराम आवाज उठाए । ग्रीक दार्शनिक सुकरातले सत्यको पक्षमा विष पिए । ‘सारा नगर जुन देवताको पूजा गर्दछ ऊ त्यसलाई मिथ्या हो भन्दै नयाँ देवताको खोजी गर्दछ ।’ सुकरातलाई मृत्युदण्ड दिंदा लगाइएको अभियोग त्यही थियो । ग्यालेलियो, कोपर्निकस, डार्विन आदिको वैज्ञानिक मान्यतामाथि राज्य र चर्चले कोपभाजनको नीति लियो । सूर्य केन्द्रवादी सिद्धान्तको समर्थन गरेबापत खगोलशास्त्री जर्दानो ब्रुनोलाई ज्यूँदै जलाइयो ।

विश्वमा जति पनि विख्यात चिन्तक, वैज्ञानिक, समाज सुधारकहरू पैदा भए, ती सबैले भीडभन्दा अलग भएर सोचे । भीड जतिबेला सूर्यले पृथ्वीको परिक्रमा गर्छ भनिरहेको थियो, खगोलशास्त्री कोपर्निकसले सूर्य केन्द्रवादी सिद्धान्त अगाडि ल्याए । भीड जतिबेला ईश्वरलाई मानिसको सृष्टिकर्ता मानिरहेको थियो, चाल्र्स डार्बिनले मनुष्यजाति जीव विकासको क्रमिक परिणति हो भनिदिए ।

हामी भीड मनपराउँछौं । धेरै मानिस भीडलाई हेरेर मनोरञ्जन लिने गर्छन् । भीडको माझमा उभिंदा सुरक्षित महसुस हुन्छ हामीलाई । तर भीड कुनै पनि कुराको समाधान होइन । भीड कुनै पनि क्षण विध्वंसक बन्न सक्छ । मैले स्कुलमा ‘क्राउड बिहेवियर’बारे पढेको थिएँ । क्राउड बिहेवियर गजबको हुन्छ । धर्मका नाममा रचिएका जति पनि हिंसा-काटमार इतिहासको पुस्तकमा दर्ता भए, ती सबै क्राउड बिहेवियरकै विद्रुप हिस्सा हुन् । यसर्थ भीडसँग सावधान रहौं । भीडभन्दा पर गएर सोच्नेहरूले नै इतिहास रचे ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.