News Portal

any time News , local election in nepal 2079

नेपालको समृद्धिमा छलाङ मार्ने परियोजना – Online Khabar

माननीय अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत काठमाडौं-चित्लाङ-पालुङ-चितवन द्रुत मार्ग निर्माण गरी काठमाडौंदेखि चितवनको यात्रालाई एक घण्टामा पूरा गर्ने योजना सार्वजनिक गरेका छन् । साथै चितवनबाट कालीगण्डकी किनारै किनार पाल्पा जिल्लाको रामपुर, रामपुरबाट उत्तरतिर पोखरा र दक्षिणतिर बुटवल जोड्ने द्रुत मार्ग निर्माण गरी काठमाडौं-लुम्बिनीको यात्रा अवधि र काठमाडौं-पोखराको यात्रा अवधि दुई/दुई घण्टा कायम गर्ने योजना अगाडि सारेका छन् । योसँगै लुम्बिनी-पोखराको यात्रा अवधि समेत एक घण्टा कायम गर्ने लक्ष्य प्रस्तुत गर्दै एउटै दु्रत मार्गले संघीय राजधानी काठमाडौं, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका प्रमुख शहरहरूलाई एउटै मालामा जोड्ने परियोजना अर्थमन्त्री शर्माले प्रस्तुत गरेका छन् ।

प्रस्तुत परियोजनाले कुल जनसंख्याको ६० प्रतिशतलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ । यो परियोजना काठमाडौं आवतजावत गर्ने ६० प्रतिशत ढुवानीका साधन, ढुवानी लागत र समयसँग सम्बन्धित छ । काठमाडौं, चितवन, लुम्बिनी, पोखरा नेपालका प्रमुख पर्यटकीय गन्तव्य समेत भएको हुँदा परियोजनाले नेपालमा आउने ९० प्रतिशतभन्दा धेरै पर्यटक र पर्यटन उद्योगलाई प्रत्यक्ष रूपमा लाभ दिनेछ । पर्यटक वृद्धि उल्लेख्य रूपले बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा बन्दै गरेको काठमाडौं-निजगढ दु्रतमार्ग बाहेक अरू राजमार्गहरू पुरानो प्रविधिमा आधारित एवं तत्कालीन आवश्यकता पूरा गर्ने किसिमले निर्माण भएका हुन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग काठमाडौं-पोखरा पृथ्वी राजमार्गलाई नारायणघाट मुग्लिन सडक खण्ड जोडेर काठमाडौंसँग सिंगो नेपाल जोड्ने एकमात्र सडक बन्न पुग्यो ।
काठमाडौंदेखि पूर्व र मध्य नेपालको निम्ति त्रिभुवन राजपथ, बीपी राजमार्ग, काठमाडौं-हेटौंडा जोड्ने सडकहरू विकल्पको रूपमा छन् । भारवहन क्षमता, यात्राको समय, सडक सुरक्षा जस्ता विषय अहिले भएका राजमार्गका कमजोर पक्ष हुन् । काठमाडौं-निजगढ आधुनिक द्रुत मार्ग सम्पन्न्ा भएपछि प्रदेश-१ र मधेश प्रदेश आधुनिक राजमार्गले संघीय राजधानीसँग जोडिंदैछन्, यो अत्यन्त खुसीको विषय हो ।

संघीय राजधानी रहेको वागमती प्रदेशसँग गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने जनतालाई पनि यातायात सुविधा, पर्यटन र विकासको निम्ति सुरक्षित, भरपर्दो र आधुनिक दु्रत मार्ग अति आवश्यक छ । यसको आधुनिक र भरपर्दो विकल्प अहिलेसम्म कसैले देखाउन नसकेको सन्दर्भमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको उपरोक्त परियोजना निकै आकर्षक देखिन्छ ।

काठमाडौंदेखि नारायणघाटसम्मको १३६ किमी दूरी पार गर्न यात्रुवाहक सवारी साधनलाई भाग्यले साथ दिएमा ६ घण्टा लाग्छ भने एउटा मात्र सवारी साधन बिगि्रएर गुड्न नसक्ने भएमा वा सानोतिनो बाढी, पहिरो, दुर्घटनाले पनि अवरुद्ध हुने यो राजमार्गमा यात्रीले १०औं घण्टा कष्टकर ढंगले सडकमै समय बिताउनुपर्ने बाध्यता छ । सडक दुर्घटनाको कारण हरेक वर्ष ठूलो मात्रामा मानव जीवनको क्षति हुने गरेकोले बाध्यतावश यात्रा गर्ने जनता बाहेक स्वदेशी विदेशी पर्यटक निकै थोरैले मात्र यात्रा गर्ने गरेका छन् ।

यात्रा सुरक्षित, आरामदायी बनाउन, यात्रा समय घटाउन, स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन, ढुवानी लागत घटाउन, इन्धन खपत घटाई विदेशी मुद्रा बचाउन एवं आपत्कालीन उपचार, उद्धार कार्यको निम्ति पनि यो राजमार्गको विकल्प चाहिएको छ । मालवाहक सवारी साधनलाई अझ धेरै समय लाग्ने, सडकको उकालो-ओरालो भूवनोटको कारण सवारी साधन चाँडो बिग्रने, सवारी साधनको क्षमता हुँदाहुँदै पनि सडक क्षमताको कारण थोरै भारी बोक्नुपर्ने बाध्यताले व्यावसायिक लाभ नहुने जस्ता समस्या छन् ।

अति जरूरी एकसरो सडक सञ्जालको आवश्यकता लगभग पूरा भएको अहिलेको नेपालमा अब सडक र पुल निर्माण क्षेत्रमा आधुनिक प्रविधिमा आधारित भएर यात्रा समय, ढुवानी लागत घटाउनुका साथै सडक सुरक्षामा ध्यान दिन अत्यन्तै जरूरी छ । विश्व समुदायले परीक्षण गरी सफलता प्राप्त गरेका आधुनिक प्रविधिमा आधारित भएर नेपालको भौतिक पूर्वाधार निर्माण गर्ने विचारका साथ आएको यो रूपान्तरणकारी परियोजना कसरी छिटो निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने आम सरोकारको विषय बनेको छ ।

परियोजनाको रणनीतिक महत्व

क. राजमार्गमा अत्यधिक चाप व्यवस्थापन

द्रुत गतिले शहरीकरण, औद्योगीकरण र पर्यटन क्षेत्रको विकास भइरहेको चितवन, नवलपुर, नवलपरासी, रूपन्देही जिल्लाहरूको मुख्य यातायात पूर्वाधार महेन्द्र राजमार्ग हो । महेन्द्र राजमार्गको दुवै किनारामा अव्यवस्थित रूपमा शहर तथा उद्योग, व्यवसाय विस्तार गरिएकोले महेन्द्र राजमार्गको चाप अत्यधिक वृद्धि भएको छ । राष्ट्रिय राजमार्गको मापदण्ड कायम गर्न स्थानीय सडक छुट्टै बनाएर राष्ट्रिय राजमार्गको ठाउँ-ठाउँमा छिर्ने र निस्कने बाटो राखी राष्ट्रिय राजमार्गलाई अवरोध नगरी प्रयोग गर्नुपर्नेमा देशैभर त्यसो हुनसकेको छैन । हाल दुई लेनमा रहेको उक्त राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यको थालनी भएको भएतापनि पूर्वदेखि पश्चिमसम्म सबै ठाउँमा राजमार्गलाई नै स्थानीय सडकको रूपमा समेत प्रयोग गरिएकोले महेन्द्र राजमार्गको क्षमता भन्दा धेरै चाप हुन गएको छ । महेन्द्र राजमार्गको यात्रा समयका साथै जोखिम समेत बढ्दै गइरहेको छ । प्रस्तावित द्रुत मार्गले महेन्द्र राजमार्गको उक्त खण्डको चाप व्यवस्थापनमा ठूलो योगदान गर्नेछ ।

त्रिभुवन राजपथको-थानकोट नौबिसे खण्ड, पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन खण्ड र मुग्लिन-नारायणघाट सडकको सवारी चाप उल्लेख्य रूपमा घट्नेछ । यसले त्यहाँ उत्पन्न विभिन्न किसिमका समस्या न्यूनीकरण हुनुको साथै यी राजमार्ग आसपास विकास हँुदै गरेको उद्योग, व्यापार, कृषि, पर्यटन क्षेत्रको विकासमा समेत निकै ठूलो सहयोग पुग्नेछ । प्रस्तावित परियोजना मार्गमा पर्ने मकवानपुर जिल्ल्ााको चित्लाङ, टिस्टुङ, पालुङ उपत्यका, लोपोन्मुख चेपाङ जातिको बसोबास रहेको गोगने, राक्सिराङ जस्ता गाउँ बस्तीहरू, तनहुँ जिल्लाको कालीगण्डकी आसपासका उर्बर गाउँ बस्ती र पाल्पा जिल्लाको रामपुर नगरपालिका लगायतका ठाउँको प्रचुर कृषि र पर्यटन सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्ने छ । प्रस्तुत परियोजनाले काठमाडौं उपत्यकामा बसाइसराइको कारण उत्पन्न्ा समस्या समाधान गर्न र विकासको विकेन्द्रीकरण र न्यायोचित वितरण समेतलाई सहयोग गर्नेछ ।

विदेशी मुद्रा बचत

प्रस्तावित द्रुत मार्ग सुरुङ, हाईबि्रज लगायत आधुनिक प्रविधिमा आधारित रहेर निर्माण हुने हुँदा उकालो-ओरालो मोड आदि भौगोलिक अवस्थालाई व्यवस्थापन गरिएको हुन्छ । द्रुत मार्गको भारवहन क्षमता धेरै र यात्रा अवधि थोरै हुने भएकोले हालको सडकमा प्रयोग भएका सवारी साधनको २५ प्रतिशत साधन र स्रोतले अहिलेकै जति काम गर्न सकिन्छ । सवारी साधन, पार्टपुर्जा, इन्धन र समय बचत हुने हुँदा यो परियोजना देशको आर्थिक, भौतिक विकासको निम्ति अति लाभदायक हुनेछ ।

देशको आर्थिक गतिविधिमा वृद्धि हुने

समय नै धन हो भन्ने भनाइ निकै पुरानो हो । यो भनाइलाई जीवन दर्शन मान्ने देशहरूले हरेक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका छन् । सूचनाप्रविधिको विकास, दु्रत गतिका यातायात पूर्वाधार र साधनको विकास आजको विश्वको विकासको पहिचान बनेको छ । सुरक्षित, आरामदायी र थोरै समयको यात्रामा गन्तव्यमा पुगिने भएपछि हाम्रो जस्तो भौगोलिक, जैविक, सांस्कृतिक, विविधता र फरक-फरक मौसम प्रणाली भएको देशमा उद्योग, व्यापार, कृषि, पर्यटन आदि क्षेत्रमा नयाँ-नयाँ व्यवसाय विकास हुने र आर्थिक विकासले गति लिने विश्वास गर्न सकिन्छ ।

प्रस्तावित द्रुत मार्गले लुम्बिनी, मुक्तिनाथ, देवघाट र पशुपतिनाथ जस्ता विश्वको ध्यानाकर्षण गर्ने तीर्थहरूलाई जोड्दछ । काठमाडौंका सांस्कृतिक सम्पदा, चितवनको राष्ट्रिय निकुञ्ज, पोखरा, अन्नपूर्ण पद मार्ग जस्ता विश्व प्रसिद्ध पर्यटन केन्द्रहरूलाई एकसाथ जोड्दछ । विश्वभर परिचित यी पर्यटन क्षेत्रमा उल्लेख्य पर्यटकलाई आतिथ्यता प्रदान गर्न छिमेकी देश भारतको विभिन्न ठाउँबाट द्रुत मार्ग, रेल मार्ग र हवाई मार्गसँग जोडिएका करोडौं मानिस बसोबास गर्ने शहरहरूसँग नेपालको सुनौली र वीरगञ्ज नाका जोडिएका छन् ।

निजगढ-काठमाडौं द्रुत मार्ग सम्पन्न भएपछि स्थल मार्गबाट काठमाडौं आउने पर्यटकलाई अरू क्षेत्रको भ्रमण गर्न, बसाइ लामो बनाउन यो परियोजना अति आवश्यक हुनेछ ।

यातायात सुरक्षा प्राप्त हुने

नेपाल यातायात सुरक्षाको दृष्टिले विश्वमा बद्नाम भएको छ । सडक दुर्घटना र हवाई दुर्घटनाले हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । दुर्घटनाको कारण अमूल्य मानव जीवन गुमाउनु पर्दाको दुःख शब्दमा वर्णन गर्न सकिंदैन । दुर्घटनामा परी अंगभंग भई अपाङ्ग जीवन बाँच्न बाध्य मानिसको दुःख अर्को डरलाग्दो विषय हो । यसले पार्ने सामाजिक, आर्थिक क्षति कुनै किसिमले पनि परिपूर्ति हुन सक्दैन । यसलाई न्यूनीकरण गरिनुपर्दछ । अझ पर्यटन प्रधान हुने सपना देख्ने राष्ट्रले यातायात सुरक्षामा सबैभन्दा धेरै संवेदनशील हुनै पर्दछ । स्तरीय सडक यातायात नभएको कारण प्रयोग गर्नु परेको आन्तरिक हवाई यातायातलाई विस्थापित गर्ने र सडक सुरक्षा वृद्धि गर्न यस्ता परियोजनाहरू महत्वपूर्ण हुनेछन् ।

ख. प्राविधिक सम्भावना

बजेट पछि प्रस्तावित परियोजनाको बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा सकारात्मक, नकारात्मक दृष्टिकोणबाट प्रतिक्रियाहरू आइरहेका छन् । अधिकांश मानिसले खुसी व्यक्त गरेर उत्साहित भएको पाइएको छ । केही मानिसले चुनावी कार्यक्रम हो, उल्लेखित समयमा उल्लेखित ठाउँको यात्रा सम्भव छैन, बनाउन होइन, जनता भुलाउन विना अध्ययन घोषणा गरेको कार्यक्रम हो पनि भनेका छन् । माननीय अर्थमन्त्री शर्माले प्रस्तावित परियोजना प्राविधिक रूपले अध्ययन गराएर मात्र बजेट मार्फत सार्वजनिक गरेका हुन् । विदेशमा समेत आधुनिक द्रुत मार्ग विशेषज्ञको रूपमा काम गरिरहेका नेपाली विज्ञहरूले सञ्चालन गरेको फुलब्राइट कन्सल्टेन्सीका वरिष्ठ इन्जिनियर ठाकुरप्रसाद शर्माको नेतृत्वमा प्रस्तावित परियोजनाको प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययन भएको छ । विशेषज्ञ इन्जिनियर शर्माको समूहले लगानी बोर्डका विज्ञहरूसँग समेत छलफल गरेर लगानी बोर्डको मापदण्ड अनुसार प्रारम्भिक प्रतिवेदन दिएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने गरी बजेटमार्फत परियोजना सार्वजनिक गरिएको हो ।

सरकारले आफ्ना विकास योजनाहरूलाई प्राथमिकता दिंदा यो परियोजनालाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ । स्रोत प्रबन्ध गर्ने, दीर्घकालीन सहुलियत दरको ऋण लिएर स्रोत प्रबन्ध गर्ने, राष्ट्र हित हुने गरी सक्षम स्वदेशी, विदेशी कम्पनीलाई निर्माण, सञ्चालन, हस्तान्तरण मोडलमा बनाउन दिनुपर्छ । साथै, अरू कुनै पनि उपयुक्त विधिबाट छिटोभन्दा छिटो परियोजना सम्पन्न गर्न अत्यावश्यक छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.