News Portal

any time News , local election in nepal 2079

‘प्रधानमन्त्री बन्ने अफर आएको छ, तर म त्यो रेसमा छैन’

१९ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनतिर गएको छ । ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो देखिन्छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसमा पनि अहंकार बढे एमाले जस्तै बनाइदिने चेतावनी दिएपछि आगामी चुनाव र त्यसअघिकै राजनीतिक उछलकुदबारे बहस सुरु भएका छन् ।

पछिल्लो राजनीति, गठबन्धनको भविष्य र वाम गठबन्धनको संभावनाबारे अनलाइनखबरकर्मी बिनु सुवेदीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गरेको कुराकानीको सम्पादित अंश:

२०७४ सालको निर्वाचन पश्चात् तपाईं प्रधानमन्त्री त हुनुभएन । तर बालुवाटारमा तपाईंको आवतजावत धेरै नै भयो । त्यहाँ खास त्यस्तो के छ ?

२०७४ सालको निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्यो । त्यसपछि कम्युनिस्ट पार्टीको एकता भयो । म त्यो (नेकपा) पार्टीको अध्यक्ष हुनुको नाता र त्यही पार्टीको अध्यक्ष प्रधानमन्त्री भएको नाताले बालुवाटारमा जान आवश्यकता भयो, जानै पर्थ्यो ।

अदालतले नेकपालाई दुइटा अलगअलग पार्टी बनाइदिएको छ । एमाले र माओवादी केन्द्र बनाइसकेपछि हामीले फेरि गठबन्धन बनाउने परिस्थिति तयार भयो । गठबन्धन बनाएर नयाँ सरकार गठन भएपछि सरकारमा सहभागी एउटा महत्वपूर्ण दल भएकाले पनि बालुवाटार जानुपर्ने भयो । गठबन्धन निर्माणमा निर्णायक जस्तै भूमिका खेलेको हुनाले बालुवाटार जानु मेरो आवश्यकता भई नै हाल्यो । किनकि, प्रधानमन्त्री शेरबहादुर देउवालाई सधैं खुमलटार बोलाउने कुरा भएन । प्रधानमन्त्री निवासमा जाने कुरा स्वाभाविक प्रक्रिया पनि हो । त्यसकारण बालुवाटार आउने–जाने कार्य बाक्लै भयो ।

देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिकामा भएकाले हो, हिजो माओवादी केन्द्रबाट विजयी भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा कांग्रेसले अहंकार देखायो भने एमालेलाई झैं ठेगान लगाइदिन्छु भन्नुभएको ?

त्यसरी त्यही भावमा त मैले भनेको होइन । मैले दुई-तीन कुरा भन्न खोजेको थिएँ । एउटा, मेरो मुख्य भनाइ गठबन्धन टुट्दैन भन्ने हो । गठबन्धन अहिले कायम छ, कायम रहन्छ । तर, गठबन्धनभित्रको कांग्रेस स्थानीय तहको निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा देखा परेको छ । त्यसबाट दम्भ र अहंकार पनि देखिने पो हो कि ! भन्ने हामीलाई चिन्ता छ । यो दोस्रो विषय राखेको हुँ ।

अहिले पनि प्रधानमन्त्री बन्नुुस्, निर्वाचन गराउनुस् भन्न मान्छेहरू आउँछन् नि ! तर मैले भनेको छु, गठबन्धन छोड्दिनँ

तेस्रो, केपी ओलीमा जुन दम्भ र अहंकार देखिएको थियो, त्यस्तो अहंकार कांग्रेसमा नदेखियोस् भन्ने हामी चाहन्छौं । कांग्रेस पनि ओली जस्तै नहोस् भन्ने चाहन्छौं । हिजो दुई-दुई पटक आफैं प्रस्तावक बनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएँ । पछि त केपी ओली छोइखानु भएनन् । माओवादी छ जस्तो पनि गर्दैनन्, प्रचण्ड पनि नेता छ भन्ने जस्तो पनि गर्दैनन् । संविधान नै मिच्ने कार्य गरे । कांग्रेस पनि त्यस्तै नहोस् भनी सावधान गराउन खोज्या हो मैले ।

त्यसो भयो भने के भन्ने प्रश्न त त्यहाँ आउँछ । तर गठबन्धन केही हुँदैन, अघि जान्छ भनेर सुरुमा पनि भनेको छु, अन्त्यमा पनि भनेको छु । प्रदेश, संघको निर्वाचन र त्यसपछि पनि जान्छ, तर हामी कोही पनि अहंकारी र दम्भी बन्नुहुँदैन ।

हिजो एमालेलाई ठूलो बनाउनुभयो, आज कांग्रेसलाई । हिजो केपी ओलीलाई प्रधानमन्त्री बनाउनुभयो, आज शेरबहादुर देउवालाई । तपाईं अरूलाई ठूलो पार्टी वा अरूलाई प्रधानमन्त्री बनाउने फ्याक्टर मात्रै हो कि भन्ने आशंका छ । आफ्नै पार्टी बलियो बनाउनेतिर चाहिं सोच्नुभएन कि ?

पार्टी त छँदैछ । २०७४ को निर्वाचन र अहिले स्थानीय तहको निर्वाचनमा पनि जनताले हामीलाई त्यही भूमिका दिएका छन् । मैले पार्टीलाई माया वा वास्ता नगरेर भन्ने त होइन नि ! आफ्नै पार्टी बलियो बनाउन त म लागेकै छु ।

निर्वाचनमार्फत तिमीहरू पनि एउटा शक्ति हो, कांग्रेस र एमालेलाई ठिक ठाउँमा राख्नुपर्छ है भन्ने जनादेश प्राप्त भएको छ । कांग्रेस वा एमालेलाई सँगै लिएर देशमा स्थिरता ल्याऊ । संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धितिर लैजाने भूमिका जनताले दिएका छन् । भूमिकै यही छ भने अरू कसरी गर्ने ?

तपाईंकै भाषामा भन्दा कांग्रेस र एमालेलाई खबरदारी गर भनेर जनताले दिएको जनादेशलाई तपाईंले बार्गेनिङ टुल बनाउनुभयो भन्ने आरोप छ नि ?

बार्गेनिङ टुल बनाएकै छैन नि ! बार्गेनिङ टुल बनाउन खोजेको भए २०७४ को निर्वाचनपछि म पाँचै वर्ष प्रधानमन्त्री हुन्थें । प्रधानमन्त्री मुख्य होइन, जनता मुख्य हो भनेर प्रधानमन्त्री बनिनँ । जनतासँग जे प्रतिबद्धता गरियो, त्यसप्रति नैतिक रूपले कायम रहन बाध्य छु । मलाई प्रधानमन्त्री चाहिएन भन्या होइन मैले ? यो त सबैलाई थाहा छ नि !

अहिले पनि प्रधानमन्त्री बन्नुुस्, निर्वाचन गराउनुस् भन्न मान्छेहरू आउँछन् नि ! आएका छन् । तर मैले भनेको छु, गठबन्धन छोड्दिनँ । संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता र राष्ट्रियताको रक्षा निम्ति गठबन्धन बनाइयो, यसको आवश्यकता अहिले पनि छ । मलाई प्रधानमन्त्री चाहिंदैन अहिले पनि भनिरहेकै छु । त्यसैले मैले बार्गेनिङ गरें भन्ने प्रश्न कहाँबाट आउँछ ? मैले ‘सेक्रिफाइस’ गरेको किन मिडियाले भन्न चाहँदैन ? अनौठो त्यो लाग्छ ! प्रचण्डले ‘सेक्रिफाइस’ गरेको हुनाले केपी पनि तीन वर्ष प्रधानमन्त्री भए । प्रचण्डले ‘सेक्रिफाइस’ गरेकाले अरू पार्टीका पनि नेताहरू प्रधानमन्त्री भएका छन् ।

जसलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डलाई सजिलो हुन्छ, उसैलाई बनाउने त गर्दै आउनुभएको होला नि ?

मलाई मात्रै सजिलो बनाउने भन्ने होइन । मलाई मात्रै सजिलो खोज्ने भए त आफैं प्रधानमन्त्री बन्थें नि ! देशलाई सजिलो कसरी हुन्छ ? के गर्दा संविधान र प्रणालीको रक्षा हुन्छ ? जनतालाई कताबाट राहत दिन सकिएला भन्ने चिन्ता न हो मेरो । हिजो वाम गठबन्धन गर्दा राजनीतिक स्थिरता यताबाट आउला भन्ने सोचेर न गरेको हो । कांग्रेससँग गठबन्धन गर्दा पनि विकास, शान्ति, स्थिरताका लागि हो । मेरो निम्ति त मैले गठबन्धन बनाएको होइन । जनताले यही भूमिकासम्म गर है भन्दासम्म त म यही गर्छु ।

अहिले तपाईंलाई एमालेबाट प्रधानमन्त्री बन्ने अफर आएको हो ?

नआएको होइन, प्रत्यक्ष–परोक्ष कुराहरू आइरहेकै छन् । तर म एकदम क्लियर छु, अहिले प्रधानमन्त्रीको रेसमा छैन, जसरी हिजो पनि थिइनँ । वाम गठबन्धनको बेलामा पनि मलाई अफर आउँदा सरी ! अहिले प्रधानमन्त्री हुन्न भनेको हुँ । अहिले पनि भन्न आउनेलाई धन्यवाद, तर सरी भनिराख्या छु ।

यही गठबन्धनबाटै अघि जान्छु, उहाँ (देउवा)कै नेतृत्वमा संघ र प्रदेशको निर्वाचन हुन्छ । विकास र स्थायित्व नै चाहेको छु ।

तर राजनीति २०७४ को स्थानीय चुनावपछि जस्तै छ । दोस्रो तेस्रो तहका नेताहरूबीच भइरहेका संवादले एमाले र माओवादी फेरि वाम गठबन्धनतिर जान्छन् कि भन्ने आकलन पनि हुन थालेको छ । त्यस्तो होइन र ?

अहिले त्यस्तो होइन । माओवादी केन्द्रको अध्यक्षका हैसियतले भन्दैछु, अहिले त्यस्तो होइन । अहिले गठबन्धन कमजोर पार्ने कार्य देशको हितमा हुँदैन । एमालेको मूल नेतृत्वले आत्मालोचना गर्ने, आत्मसमीक्षा गर्ने वा गल्ती भयो भन्ने कहीं कतै संकेत देखिएको छैन । यो परिस्थितिमा यो गठबन्धन छोडेर अर्को गठबन्धन बनाउनेतिर हामी छैनौं । यो द्विविधा नराख्न आग्रह गर्न चाहन्छु ।

स्थानीय चुनावमा ठाउँ–ठाउँमा एमालेसँग मिलेर माओवादीलाई कमजोर पार्न त कांग्रेसले पनि खोज्यो । फेरि पनि त्यस्तै गर्नुभयो वा कांग्रेसले माओवादीलाई लखेट्नैपर्छ भन्ठान्यो भने त्यो बेलाको परिस्थिति के होला भन्न सकिंदैन । किनकि, राजनीतिलाई सम्भावनाको खेल पनि भनिन्छ, असम्भव भन्ने केही हुँदैन ।

राजनीति दिशाहीन र अराजक हुन्छ भन्ने पनि होइन । देशको आजको आवश्यकता भनेको यही गठबन्धन हो । यो गठबन्धन अझ बलियो होस् भन्ने चाहन्छु । तर हिजो एमालेमा जस्तो अहंकार कांग्रेसमा नआइदेओस् भन्ने चिन्ता मात्र हो मेरो । अध्यक्षलाई अपमानित गर्ने, ह्युमिलिएट गर्ने कार्य गरेको हो नि हिजो केपी ओली प्रवृत्तिले । त्यस्तै कांग्रेस नभइदेओस् भन्या हो ।

यता अहंकार भए अर्कोतिर गयो, अर्कोतिर अहंकार देखिए यता फर्कियो, तपाईंहरूलाई सजिलो छ है ?

यो हामीलाई किन भन्नुहुन्छ ? कांग्रेस पनि उतापट्टि अप्ठ्यारो परे माओवादी खोज्दै आउने हो, अरूलाई पनि अप्ठ्यारो परे माओवादी खोज्दै आउँछन् । त्यो भन्नुस् न बरु !

वाम गठबन्धन इमानदार भएर गरें, इमानदार भएर नै केपीलाई प्रधानमन्त्री बनाएँ । तर केपी ओलीको संविधान विरोधी क्रियाकलापले गठबन्धन आवश्यकता भयो । शेरबहादुर देउवाजीलाई तपाईं प्रधानमन्त्री हुनुस्, हामी सहयोग गर्छौं भनें । सहयोग गरिराखेकै छु, गरिराख्छु । आफ्नो लागि त मैले खोजिनँ नि !

कांग्रेसको भोट माओवादीलाई ट्रान्सफर कमै भएको छ । सिट बढे पनि मतदाता १७ बाट घटेर १३ प्रतिशतमा झरेको छ । यो अवस्था प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि देखिएला । यस विषयमा के सोच्नुभएको छ ?

लेफ्ट–लेफ्टबीच जति सजिलो ‘भोट ट्रान्सफर’ हुन्छ, कांग्रेससँग अप्ठ्यारो हुन्छ भन्ने बुझेकै कुरा हो हामीले । अघिल्लो स्थानीय तहको चुनावमा पनि अनुभव गरेको कुरा हो ।

तर अहिले चाहिं पहिलेको भन्दा प्रगति भएको छ । कांग्रेसको ठूलो संख्याले हँसिया हथौडामा सहजै ढंगले भोट हालेका छन् यो पटक । माओवादीले पनि तुलनात्मक रूपमा सहज ढंगले हालेका छन् । प्रदेश र संघसम्म पुग्दा यो त देश, लोकतन्त्रका लागि आवश्यकता रहेछ भन्ने कांग्रेसका समर्थक, शुभेच्छुकले बुझ्छन्, माओवादीकाले पनि बुझ्छन् । भोट ट्रान्सफर हुन अझ सजिलो हुँदै जाला ।

हिजो संविधान र लोकतन्त्रलाई ट्रयाकमा लिएर जान पनि कांग्रेस र माओवादीको सहकार्य आवश्यक बन्न गयो । आज शान्ति प्रक्रिया टुंग्याउन पनि दुई पार्टीको सहकार्य बढी स्वाभाविक र प्रभावकारी हुन्छ भन्ने मलाई विश्वास छ ।

उसो भए स्थानीय तहको निर्वाचन २०७९ को परिणाममा तपाईं सन्तुष्ट हो ?

चुनावको परिणामबाट म असन्तुष्ट चाहिं छैन । हुन त योभन्दा बढी नै अपेक्षा गरेका थियौं । गठबन्धन ठिक ढंगले काम गरेको भए, तलसम्म यसलाई प्रशिक्षित गर्न सकेको भए माओवादी केन्द्र दोस्रो बन्न सम्भव छ भनेर अगाडि बढेका थियौं । केही हाम्रै कमजोरी र गठबन्धनलाई व्यवस्थित रूपमा तलसम्म कार्यान्वयन गर्न नसकेको कारणले सोचेको जति त आएन । फेरि पनि म सन्तोषजनक नै ठान्छु यसलाई ।

२०६४ मा पहिलो पार्टी भएको माओवादीले अब फेरि पहिलो हुने कल्पना गर्न समेत छाड्यो, जनताले पत्याएका कार्यकर्तालाई नेतृत्वले पत्याएन भन्ने छ नि ?

ठिकै छ, हामी त्यसको पनि समीक्षा गर्दैछौं । कोही ठाउँमा उम्मेदवारी ठिक ढंगले दिन नसक्दा राम्रो परिणाम आएको छैन । कति ठाउँमा पार्टीभित्रको अन्तरविरोधलाई समयमै हल नगर्दा परिणाम राम्रो आएको छैन । कोही ठाउँमा जनतालाई राम्रो डेलिभरी दिन नसकेकाले परिणाम हाम्रो पक्षमा आएको छैन, धेरै कारण छन् ।

तर राजनीतिको हिसाबले हामी एक नम्बरमै छौं अहिले पनि । परिवर्तनको बाहकको हिसाबले हामी एक नम्बरमै छौं । यसलाई नम्बरमा परिणत गर्ने, संख्यामा परिणत गर्ने र देशको नेतृत्व गर्ने कुरामा पक्कै पनि हाम्रा कमजोरी छन् ।

एजेन्डा मात्रै प्रगतिशील भएर नहुने रहेछ …

एमालेको मूल नेतृत्वले आत्मालोचना गर्ने, आत्मसमीक्षा गर्ने वा गल्ती भयो भन्ने कहीं कतै संकेत देखिएको छैन । यो परिस्थितिमा यो गठबन्धन छोडेर फेरि अर्को गठबन्धन बनाउनेतिर कहीं कतै छैन

नहुने रहेछ ! जनतासँग सम्बन्ध, कार्यशैली आदि थुप्रै कुरा छन् । त्यसको समीक्षामा छौं । तर मेरो भनाइ के छ भने हामी एक नम्बर भएर मात्रै यो देशको कल्याण हुन्छ, माओवादी एक नम्बर नहुँदासम्म ‘जिकज्याक’ भइराख्छ ।

माओवादी केन्द्र एक नम्बर हुनुपर्छ पनि भन्ने, गठबन्धनको वकालत पनि गरिरहने । जसरी स्थानीय चुनावमा समयमा सिट बाँडफाँट नहुँदा अरूतिर ध्यान दिन पाउनुभएन, प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि हुने होला । यस्तो कचपच भइरहने हो भने त गठबन्धन संस्कार नै राम्रो होइन भन्ने देखियो, होइन ?

हो पनि, होइन पनि । हाम्रो संविधानले जस्तो निर्वाचन प्रणालीको व्यवस्था गरेको छ, एउटै पार्टीको बहुमत आउने सम्भावना एकदमै कम छ । कहीं न कहीं संयुक्त सरकार या गठबन्धन अनिवार्य जस्तै बन्छ । अब या त निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक बनाउनुपर्‍ यो, होइन भने गठबन्धनकै संस्कृतिमा जाउ भन्ने संविधानकै निर्देशन छ भन्ने बुझ्नुपर्‍यो ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिकता सबै एउटा पार्टी विशेषले लडाइँ पूर्णतः जितेर आएको होइन । विभिन्न विचार, राजनीति भएका पार्टीहरूबीच गठबन्धन गरेर, सहमति कायम गरेर, जनयुद्ध र जनआन्दोलनलाई कहीं न कहीं समायोजन गरेर आएको हो । त्यही कारणले गिरिजाबाबु, जो शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुहुन्थ्यो, जति बेला पनि सहमति, सहकार्य र एकताको कुरा गर्नुहुन्थ्यो । १०/२० वर्ष यसरी नै जानुपर्छ नेपाल अनि मात्र विकास हुन्छ भन्नुहुन्थ्यो ।

अहिले मैले पनि भन्ने गर्छु, सहमति, सहकार्य र समझदारी बनाएरै जानुपर्छ । गठबन्धनबाटै जानुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्न र जनतालाई डेलिभरी दिन गठबन्धन चाहिन्छ । संयुक्त सरकारको संस्कृति सबैले सिक्नुपर्‍यो । यो आजको आवश्यकता हो । सधैं यस्तो हुन्छ भन्ने छैन ।

२०५१-५२ सालयता त यस्ताको यस्तै छ नि ! एउटा सरकार ढाल्यो, गठबन्धन गरेर अर्को बनायो । गठबन्धनले कहिल्यै जनताको काम गरेको छ र ?

कतिपय बेला गठबन्धनले बिगार्‍यो पनि होला, तर गठबन्धनभित्र इमानदार भएर काम गर्दा नराम्रो गरेको छैन । के १२ बुँदे समझदारीले नेपालमा नराम्रो गर्‍यो ? बृहत् शान्ति सम्झौता पनि गठबन्धन नै हो नि ! त्यसले नराम्रो गर्‍यो ? संविधानसभा पनि गठबन्धन नै हो, नराम्रो गर्‍यो त ? संघीय लोकतान्त्रिक गणतन्त्र पनि गठबन्धन गरेर नै घोषणा गरिएको हो, नराम्रो भयो त ?

समग्रमा भन्दा गठबन्धनले नै युगान्तकारी परिवर्तन गरेको छ, जनतामा आशा जगाएको छ । अब विकास, निर्माण र समृद्धि पनि गठबन्धनकै बलमा ल्याउन जोड गर्नुपर्छ ।

सँगसँगै को–कति इमानदार छ भन्ने पनि हामी सबैले थाहा पाउनुपर्छ । कसले गठबन्धनमा बसेर प्रधानमन्त्री वा सत्ता स्वार्थ मात्रै खोज्या छ ? को इमानदार रूपमा लोकतन्त्र र शान्तिको हितमा गठबन्धन गर्न चाहन्छ भन्ने त छुट्याउनुपर्‍यो नि !

तपाईंले छुट्याइसक्नुभयो होला है ?

छुट्याइरा’ख्या छु नि !

तपाईंले बनाउनुभएको प्रधानमन्त्रीमध्ये को चाहिं इमानदार रहेछ ?

प्रधानमन्त्री होइन, प्रधानमन्त्री बनाउने मान्छे इमानदार हो । हुने इमानदार भए-भएनन् तपाईंहरूले ख्याल गर्नुहोस् ।

झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनुभयो, केपी ओलीलाई बनाउनुभयो । अहिले शेरबहादुर देउवालाई बनाइराख्नुभएको छ । को चाहिं गठबन्धन, शान्ति, लोकतन्त्र जस्ता उपलब्धिप्रति प्रतिबद्ध छ भन्ने त खुट्याउनुभयो होला नि ?

गठबन्धन गरेर या कसैलाई नेतृत्व दिएर अगाडि बढ्न खोज्नुको मनसाय बुझ्नुपर्‍यो क्या ! माधवजी (संविधानसभा निर्वाचन २०६४ मा) दुई ठाउँमा लडेर नि जित्न सक्नुभएको थिएन । त्यति कारणले उहाँको भूमिका नहुने त हुँदैनथ्यो । मैले संसदमा प्रवेश गराएँ । पहिला संविधान बनाउँदाको अनुभव पनि छ, एमालेको नेता पनि हो । १२बुँदे समझदारीदेखि गणतन्त्रको आन्दोलनसम्म उहाँले नेतृत्व गरेको व्यक्ति संविधानसभामा हुँदा संविधान निर्माणमा सहयोग पुग्ला भनेर नै ल्याएको त हो मैले । अरू त माधवजीबाट मैले पाउनु के थियो र त्यतिबेला ? संविधान छिटो र राम्रो बनोस् भन्ने उद्देश्य थियो ।

झलनाथजीलाई बनाउँदा पनि नयाँ परिस्थिति बन्यो । धेरै खालका दबाव थिए, त्यो कथा मैले अहिले भन्दिनँ ।

केपीजीलाई किन बनाएँ त ? संविधान बनाउनु थियो । संविधान फेरि पनि नबन्ला कि भन्ने चिन्ता सर्वत्र फैलिएको थियो । मैले नजिकबाट हेर्दा केपीजीलाई प्रधानमन्त्री दियो भने संविधान बन्ने देखें । सुशीलजीले कुरा बुझ्नुभएन । मैले त तपाईं राष्ट्रपति हुनुहोस्, केपी प्रधानमन्त्री हुनुहोस्, संविधान चाहिं बनाउँ भनेको थिएँ । यसो भन्नु प्रचण्डको गल्ती हो र ? मैले त देशलाई एउटा गति दिने प्रयास पो गरेको थिएँ ।

दोस्रोचोटि वाम गठबन्धन भयो । वाम गठबन्धन गरौं भन्न म आफैं गएको हो, अरू आएको होइन । देशमा वामपन्थी जनमत ठूलो छ, हामी एकै ठाउँमा भयौं भने राजनीतिक स्थिरता र विकासका लागि राम्रो हुन्छ भनेर गएको हो । यसो भन्दा सायद उहाँ मान्नुहुन्थेन । उहाँ त माओवादीलाई एकदम हेप्ने हो नि ! मैले तपाईं नै हो है भोलि प्रधानमन्त्री हुने भनें । त्यसपछि गठबन्धन पनि भयो, चुनाव पनि भयो । उहाँ प्रधानमन्त्री पनि हुनुभयो ।

मेरो इन्टेन्सन त स्थायित्व र विकासकै निम्ति हो । गडबढ भएपछि मैले शेरबहादुरजीलाई तपाईं अगाडि बढ्नुपर्‍यो, नत्र संविधान खतरामा पर्ने भयो भनेकै हो । अहिले पनि भनिराखेको छु । शेरबहादुरजीप्रति मेरो कुनै नकारात्मक टिप्पणी छैन ।

संघीय निर्वाचन आउँदैछ । गठबन्धनमा कांग्रेस र माओवादी बाहेक एकातिर एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा छ । कसलाई के–के पद बाँड्नुभएको छ ?

कसैलाई केही बाँड्नु परेको छैन । शेरबहादुरजी आफैं प्रधानमन्त्री हुनुहुन्छ, उहाँकै नेतृत्वमा चुनाव हुन्छ ।

सकेसम्म पाँचै दलबीच सबैतिर तालमेल होस् । हुन सकेन भने गठबन्धनभित्रका दलहरू जो–जो मिल्छन्, उनीहरूको बीचमा तालमेल होस् । त्यो पनि हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा होस् । अहिले नै कसैलाई केही दिने भनेर भनेका छैनौं ।

चुनावपछि माधव नेपाललाई राष्ट्रपति, तपाईं र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री भन्ने केही छैन ?

त्यस्तो केही भएको छैन । मैले मेरो तर्फबाट अहिले त्यस्तो कुरा गर्नुपर्ने ठानेको पनि छैन ।
पटक–पटक असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन भएको थियो । देश अराजकताको भुमरीमा पर्ने, चुनाव नै नहुने, फेरि निरंकुशतातिर जाने र वर्षौं लड्नुपर्ने भयो भने त्योभन्दा दुर्भाग्यपूर्ण नेपालको निम्ति केही हुँदैन भनेर हामीले दृढताका साथ संसद विघटन विरुद्ध सडक र सबैतिरबाट अभियान चलायौं । अन्ततः अदालतले पनि विघटनविरुद्ध फैसला दिएपछि परिस्थिति बच्यो ।

अर्को चोटि पनि त्यही हो । फेरि विघटन, फेरि त्यस विरुद्ध गठबन्धन । कोभिडले गर्दा दोस्रो चोटि सडकमा जान पनि गाह्रो थियो । गठबन्धन हाम्रो सहारा भयो, देशको सहारा भयो । त्यसैले पनि अहिले म त्यस्तो गर्ने पक्षमा छैन । कसलाई राष्ट्रपति, कसलाई प्रधानमन्त्री भनेर छलफल गर्न आवश्यक छैन । सबै मिलेर देश र जनतालाई मुख्य फाइदा हुने गरी निर्वाचन गरौं । निर्वाचनपछि जनताको मत के आउँछ, त्यसपछि सरकार कसको बनाउने, राष्ट्रपति, प्रधानमन्त्री को बन्ने भन्ने छलफल गरौंला । संविधान बनाउने बेलाको जस्तो अहिलेदेखि बुकिङ गर्न आवश्यक ठानेको छैन, राम्रो पनि हुँदैन ।

तर स्थानीय चुनावमै भएको तामलेमप्रति गठबन्धनका दुई दल एकीकृत समाजवादी र जसपामा अलि असन्तुष्टि देखिन्छ । त्यो यहाँहरूलाई पनि अनुभूत भएको छ ?

हाम्रो नियमित छलफल भइराखेकै छ । चुनावपछि पनि पटकपटक मिटिङ बस्यौं । सुरुका दिनमा जति असन्तुष्टि थियो, अब त्यो छैन । केही ठाउँका आफ्ना टिप्पणी-आलोचना भए पनि एकीकृत समाजवादीका साथीहरू समग्रमा गठबन्धन इन्ट्याक्ट रहनुपर्छ भन्नेमा हुनुहुन्छ । माधवजीहरूमा मैले समस्या देखेको छैन ।

अहिले एकीकृत समाजवादीका साथीहरू भर्खर पार्टी बनेको, तलसम्म जान पनि नभ्याउँदै चुनाव आइहाल्यो । त्यसले गर्दा पनि भनेको जस्तो नहोला, तर गठबन्धनले उहाँहरूलाई फाइदा नै भएको छ । हेटौंडा उपमहानगरको चुनाव, पोखरामा महानगरपालिकाकै प्रमुख जित्नुभयो । विना गठबन्धन त जित्ने अवस्था थिएन । अन्यत्र पनि गठबन्धनले फाइदा भएन भन्ने होइन । तर जस्तो हुनुपर्ने, त्यस्तो भएन भन्ने त हो । त्यसको त समीक्षा गर्न सकिन्छ ।

जसपाभित्र पनि सुरुमा अलिकति असन्तुष्टि देखिएको हो । तर उहाँहरू पनि गठबन्धनबाटै जानुपर्छ भन्नेमा नै हुनुहुन्छ ।

जनमोर्चा पनि अहिलेको अवस्थामा यताउता गर्नुहुँदैन भनेर मोहनविक्रमजीले नै भनिराख्नुभएको छ । त्यस कारण केही आलोचना र टिप्पणी हुन्छन् । त्यसको समीक्षा गरेर समाधान गरिन्छ । गठबन्धनमा अहिले कुनै समस्या छैन, सहज ढंगले जान्छ ।

के भनेर सम्झाउनुभयो त ?

केही साथीहरूले गठबन्धनबाट फाइदा लिनुभएको छ । गठबन्धनको कुरालाई खण्डन पनि गरिराख्नुभएको छ । मैले बुझ्न सकेको छैन ।

सम्झाउने भनेको छलफल गर्ने त हो । हामीलाई पनि कतिपय ठाउँमा चित्त दुखेको छ, तपाईंहरूलाई पनि दुखेको छ । तर हामीले नेपाली कांग्रेससँग समेत बसेर यसबाट शिक्षा लिएर आउने दिनमा करेक्सन गर्ने भन्नेमा सबै सहमत छौं ।

समीक्षा त अर्को पनि गर्नुभयो होला नि ! जस्तो कि कांग्रेसमा शेरबहादुर देउवा गठबन्धनप्रति जति प्रतिबद्ध हुनुहुन्छ, अर्को खेमा त स्थानीय तह निर्वाचनमा नै गठबन्धन नगर्ने भन्दैथिए । त्यो प्रतिनिधिसभामा झन् चर्को गरी आउँछ होला नि ?

शेरबहादुरजी र उहाँ वरिपरिको टीम चाहिं गठबन्धनप्रति दृढ छ र इमानदार पनि देख्छु । तर केही साथीले गठबन्धनबाट फाइदा पनि लिनुभएको छ, गठबन्धनको खण्डन पनि गरिराख्नुभएको छ । यो मैले बुझ्न सकेको छैन ।

हिजो गठबन्धन बन्दै गर्दा केही नेताहरूले भन्नुभयो, माओवादी हात्तीको कानमा चमेरो । कति हेपेर भनेको त त्यो ? अहिले पनि एक जना नेताले त गठबन्धन नगरेको भए योभन्दा बढी जित्थ्यो कांग्रेसले भन्नुभएछ । मैले कांग्रेसमा अहंकार देखियो भनेर शेरबहादुरजी र उहाँको टीमलाई भन्दा पनि त्यो प्रवृत्तिलाई भनेको हुँ ।

कांग्रेसको मूल नेतृत्व शेरबहादुर देउवाजीलगायत, जसले गठबन्धनप्रति दृढतापूर्वक लाग्नुपर्छ भनेको छ, उहाँहरूप्रति मेरो त्यति धेरै आलोचना छैन । यद्यपि, उहाँहरूले सक्नुभएन भन्ने त छ । गठबन्धनभन्दा बाहिर तालमेल नगर्ने भनेको रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिममा कांग्रेसले एमाले र विप्लवसँग तालमेल गर्‍यो । यो त्यति राम्रो भएन, गठबन्धनको निर्णयभन्दा बाहिर गयो भनेको छु ।

माओवादी केन्द्रबाट पनि त्यस्तो भएको भन्ने आएको छ । जस्तो, प्यूठानमा माओवादी केन्द्र र एमाले मिलेर जिते भन्ने पनि आएको छ । त्यसको पनि समीक्षा गरौं । तर, धेरै र मुख्य रूपमा कसमा विचलन देखापर्‍यो, त्यसको समीक्षा हुनुपर्‍यो ।

संघीय निर्वाचनमा सिट थोरै र आकांक्षी धेरै हुने होला । व्यवस्थापनका हिसाबले गाह्रो हुन्छ होला नि ?

स्थानीय तह जति गाह्रो हुँदैन भन्ने छ । ७५३ पालिकाका हजारौं सदस्य, वडाध्यक्ष, सयौं उपप्रमुख र प्रमुखमा पनि आकांक्षी थिए । प्रदेश र संघमा यति धेरै आकांक्षी हुँदैनन् । जे भए पनि स्थानीय चुनाव भयो । त्यसबाट शिक्षा लिन्छौं, प्रदेश र संघमा योभन्दा व्यवस्थित र राम्रो तालमेल गरेर जान्छौं भन्ने छ ।

तालमेलको कुरा मुख्य त संख्यामा गएर जोडिन्छ । २०७४ मा ६०-४० मा नमिल्दा माओवादीले एमालेसँग तालमेल गर्‍यो भन्ने आएकै हो । त्यसमा के गर्नुहुन्छ ?

हामीले त्यसरी कुरा गरेका छैनौं । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको हामीले केन्द्रीयस्तरमै निर्णय गरेर तालमेल गर्‍यौं । मूलभूत रूपमा सफल भयौं, शतप्रतिशत चाहिं भएन भन्ने छ ।

काठमाडौंलाई मैले अपवाद भनेको छु । उम्मेदवार ठिक दिन सकिएन कि ? परिचालन राम्रोसँग गर्न सकिएन कि ? प्रशिक्षण तलसम्म भएन कि ? त्यसको समीक्षा त गर्नुपर्छ । तर महानगर र उपमहानगरमा हामीले दुःख गरेर बनाएको तालमेल आधारभूत रूपमा सफल भयो । यो खुसीको कुरा हो ।

अब चाहिं प्रदेश र संघको निर्वाचनमा पनि त्यसरी नै गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

अरूभन्दा पनि भरतपुरमा एमालेको भोट गठबन्धनको उम्मेदवारलाई आउनुको कारण तपाईंहरू धर्ना कसेर बसेको भएर हो कि अरू केही छ ?

पहिलो कुरा त म धर्ना कसेर चितवनमा बस्दै बसिनँ । प्रधानमन्त्री गएको बेला एकपटक गएको हो । अर्को पटक एक दिन बसें । बरु चुनावको वातावरण बनाउनुपर्छ, साथीहरूलाई देशभर जिताउनुपर्छ भनेर कहिले कता कहिले कता घुमें ।

तर भरतपुर सुरुदेखि अन्य राजनीतिक दलहरूको केन्द्रमा थियो । एमालेले महाधिवेशन भरतपुरमा गर्नु, ठूलो सभा त्यहीं गर्नु, प्रदेश सभाको सदस्यलाई राजीनामा गर्न लगाएर महानगरको मेयर उठाउनुले पनि यो पुष्टि गर्छ । कांग्रेसभित्र पनि कुनै हालतमा माओवादीलाई भोट दिइँदैन भनेर एकथरी नेताहरू नै हराउन भनेर अभियानमा नै लाग्नुभयो । यसले भरतपुर जटिल र चुनौतीपूर्ण थियो ।

तर कांग्रेसको संस्थापन पक्षमा पनि दुईमत थिएन । भरतपुर महानगर माओवादी केन्द्रलाई नै हो र त्यसको उम्मेदवार रेनु नै हो भन्नेमा गठबन्धनको औपचारिक निर्णय थियो । अहिले परिणाम जो आयो, त्यसमा शेरबहादुर देउवाजी र उहाँको टीमका साथी मिहिनेत गरेर भरतपुरमा दायाँबायाँ हुन दिनुहुँदैन भनेर लाग्नुभयो भन्ने देखिन्छ । गठबन्धनका अरू पार्टीहरू पनि इमानदारीसाथ माओवादी केन्द्रलाई जिताउनुपर्छ भनेर लाग्नुभयो ।

अर्को भनेको सायद एमालेभित्र पनि केही अन्तरविरोध थियो । राप्रपाभित्र पनि केही अन्तरविरोध थियो । त्यसको फाइदा पनि रेनुलाई भयो ।

त्योभन्दा पनि ठूलो, रेनुले विगत पाँच वर्षमा गरेको काम हो । विकास निर्माणका काममा निकै राम्रोसँग नेतृत्व गरिन् । मैले हेर्दा सु–शासन त रेनुबाट सिक्नुपर्छ । एक पैसा दायाँ–बायाँ छैन, कुनै लोभ–स्वार्थ छैन, रातदिन जनताको सेवा भनेको छ, हिंडेको छ । छोरी भनेर भनेको होइन, देशैभर रेनुबाट सिक्नुपर्छ ।

तर बेलाबेला बिचौलिया व्यापारीहरूसँग नजिक भएको, कार्यकर्तालाई वास्ता नगरेको भनेर तपाईंहरूलाई नै आरोप लाग्छ । तपाईंले पनि छोरीबाट सिके हुन्थ्यो नि !

सिक्नुपर्ने कुरा त मैले सिक्दैछु । सिक्न नै पर्छ त्यो कुरा त…

माडी पनि यहाँको निर्वाचन क्षेत्र हो । निर्वाचन क्षेत्रमात्रै होइन, तपाईंको राजनीतिक हुर्काइ नै त्यहीं भएको हो । आफ्नै उद्गम थलो माडीमा त यहाँहरू हार्नुभयो नि !

मेयर हारियो, त्यसको समीक्षा हामीले गर्छाैं । तर माडी हारियो भन्ने निष्कर्ष गलत हो । माडीमा पहिलेको भन्दा राम्रो छ । जनमत बढेको छ । वडाहरू हेर्ने हो भने गठबन्धनभित्र दलले ६ वटा वडा जितेका छन् । मलाई लाग्छ, भोलिको निर्वाचनमा माडीबाट हामीलाई आउने मत घट्दैन, बढ्छ ।

एउटा मेयर मात्रै जितेर, अरू हार्दा जित हुने, माडीमा मेयर हार्दा हार नहुने, यो त मिलेन नि !

तपाईंले माडीमा हारिस् भन्नुभयो । मेयर हारेको हो भनेर मैले स्वीकार गरें । मेयर हारिन्छ भनेर हामीलाई लाग्या थिएन । हारियो, त्यसको समीक्षा गर्दैछौं । तर फेरि वडामा जाँदा र भोट संख्या गन्दा जितेको छ । हाम्रो भोट संख्या धेरै छ । जे हो त्यही नै भनेको हो मैले ।

एकाथरीको भनाइ त फेरि माडी राममन्दिरले जित्यो भन्ने पनि छ नि !

त्यस्तो लाग्दैन । बरु प्रारम्भिक हेराइ मलाई के लाग्छ भने माडीमा थारू समुदायको उपस्थिति छ । थारू समुदायलाई जति सम्बोधन गर्नुपर्ने थियो, सायद हाम्रो कमी भयो कि ? यसको समीक्षा हामीले तलबाट सुरु गरेका छौं । त्यसकारण त्यहाँ राम, सीता, लक्ष्मणले जित्ने कुरा पनि होइन, हार्ने कुरा पनि होइन ।

यहाँकै निर्वाचन क्षेत्र हो, माडीको मात्रै कुरा भएन, बाँदरझुलाका पनि कुरा छन् । यहाँ बेलाबेला त जानुहुन्छ, अर्काे चुनाव हुने बेला पनि पक्कै जानुहुन्छ होला नै !

चुनाव नहुँदा पनि म गइराखेको छु ।

सम्बोधन नै हुन्न नि त त्यहाँको समस्या…

सम्बोधन भइराखेको छ । नागरिकता कति वर्ष नपाएर सम्पूर्ण सुविधाबाट वञ्चित भएकालाई मेरै पालामा त्यहीं गएर नागरिकता वितरण गरियो बाँदरझुलामा । अहिले जहाँ बसेका छन्, त्यसको नक्सा गराएर निस्सा दिने काम गरेर लालपुर्जाको तयारी भइरहेको छ । यो कुरा बाँदरझुलावासी जनताले राम्रो बुझेका छन् र अहिले बाँदरझुलाको अत्यधिक मत हामीलाई आएको पनि छ ।

त्यसैले सम्बोधन भएन भन्नु बाहिरले बाँदरझुलाका जनतालाई भड्काउने कुरा हो । उहाँहरूलाई थाहा भएको छ, प्रचण्ड र माओवादी केन्द्रले मात्रै हाम्रो लागि नागरिकताको पहल गरे, नागरिकता पाइयो । उहाँहरूले मात्रै हाम्रो नक्सा बनाएर निस्सा दिएको छ, सबैलाई र अब लालपुर्जाको तयारी पनि भएको छ भन्ने कुरा बाँदरझुलावासी जनताले राम्ररी बुझ्नुभएको छ ।

लालपुर्जा चाहिं चुनावको मुखमा बाँड्ने हो ?

चुनावको मुख भन्ने भएन । प्रक्रिया अगाडि बढिसक्या छ ।

अस्ति भरतपुरमा पनि त्यस्तै भएको थियो क्यारे, चुनाव हुने बेलामा गएर बाँड्नुभयो …
चुनाव हुने बेलामा गएर बाँडेको भन्ने होइन । गर्दै जाँदा पर्न गएको मात्रै त्यतिबेला हो ।

तपाईं चुनाव लड्ने चितवनबाटै हो ?

मैले चितवनबाट नै उठ्ने कुरा पहिले नै गरिसकेको छु । अब धेरै नघुम्ने विचार छ ।

अब एकछिन यतै सरकारका कुरा गरौं । बजेटपछि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्नुभएको थियो । बजेट पनि आयो, अब त्यतातिर छलफल अघि बढेको हो ?

पुनर्गठन हुनसक्छ भन्ने छलफल भएको थियो । कतिपय पार्टीका साथीहरूले पुनर्गठन गर्नुपर्छ भनिराख्नु पनि भएको छ । तर पुनर्गठन गर्ने कि नगर्ने भन्ने निष्कर्षमा पुगिसकिएको छैन ।
किनभने कात्तिकको अन्तिम या मंसिर पहिलो साता चुनाव गर्ने भइसकेपछि फेरि मन्त्री फेरेर झन् त्यसले अप्ठ्यारो हुन्छ कि भन्ने प्रश्न पनि उठेको छ । तैपनि हामी गठबन्धनमा यो विषयमा एकपटक गम्भीर छलफल गर्छाैं ।

कतिपय साथी भनेको समाजवादी र जसपा हो कि कांग्रेस र माओवादीकै कुरा हो ?

कांग्रेस र माओवादीभन्दा समाजवादी र जसपाबाट अलि बढी आउने गर्छ ।

मन्त्रीहरू परिवर्तन गरौं भनेर कि थप मन्त्रालय चाहियो भनेर ?

धेरै मन्त्रालय चाहियो भनेर होइन । म त त्यहाँ पनि दानवीर जस्तै छु । हाम्रो पार्टीको कोटाको मन्त्री पनि एकीकृत समाजवादीकै साथीहरूलाई दिएको छु मैले । त्यसैले उहाँहरूले हामीलाई मन्त्री बढी चाहियो भन्ने ठाउँ छैन । मन्त्री हेरफेर चाहिं उहाँहरूको आवश्यकता पनि हुनसक्छ ।

तपाईं चाहिं पार्टीकाहरू, मन्त्रीहरू र समग्र सरकारको कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

समग्रमा ठीक छ भन्नेमा छु ।

सरकारसँग ?

सरकारले पनि मोटामोटी जति गरेको छ, राम्रै गरेको छ । परिस्थिति नै त्यति सहज होइन नि ! पाँच पार्टीलाई मिलाएर सरकार चलाउन सजिलो छैन । शेरबहादुरजीले सबैलाई ब्यालेन्स गरेर लैजाने बल गर्नुभएको छ । त्यसैले सरकारसित असन्तुष्टि छैन ।

डेलिभरीका हिसाबले जनताको अपेक्षा त पूरा भएन नि ?

यो सरकार गठन भएपछि पहिलो काम कोभिड नियन्त्रण र उपचार, जनताको जीवन रक्षा थियो । सरकारका तर्फबाट प्रधानमन्त्री आफैंले खोप खोप खोप भनेर सुरु गर्नुभयो र त्यसले राम्रै पनि गर्‍यो । एउटा ठूलो समस्याबाट अलि उन्मुक्ति जस्तो भएका छौं ।

विकास निर्माणका कामहरूलाई गति दिन सरकारले सकारात्मक पहल गरिराखेकै छ । तेस्रो, हाम्रो आयातमा आधारित जीवनचर्या जस्तो बन्न गएको छ । युक्रेन–रूस युद्धका कारणले मूल्यवृद्धि असाध्यै बढ्दा केही संकट त भयो । म आफैंले पनि संसदमा बोलें, मूल्यवृद्धिले जनताको घरघरमा, भान्सा–भान्सामा विद्रोह हुने स्थिति भएको छ, सरकारले गम्भीर रूपमा लिएर हिजो लगाइएको कर घटाएर भए पनि जनतालाई राहत दिनैपर्छ । अहिले सरकारले कर घटाउने कुरा गर्‍यो । अब मूल्यवृद्धि कन्ट्रोलमा जान्छ भन्ने विश्वास छ । बजेटले दीर्घकालीन रुपमा आयात बढ्ने, आफ्नो उत्पादन घट्ने, कृषि क्षेत्रमा रोजगारी घट्दै जाने परिस्थिति बदल्न खोजेको छ । आयात प्रतिस्थापित, निर्यात प्रवद्र्धन गर्ने उद्देश्यका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर किसान पेन्सनसम्म जाने भनेको छ । पहिलोचोटि जनता र राष्ट्रको बृहत्तर हितमा आधारित भएर देशलाई आत्मनिर्भर बनाउनेतिर संकेत गरेको छ । त्यसैले सरकारको बढी आलोचना गर्ने ठाउँ छैन ।

बजेटले पेन्सन त दिने भनेको छ, तर अहिले चाहिएको मल समेत किसानले पाउन सकेका छैनन् !
सरकारको ध्यान गएको छ, गठबन्धनको पनि ध्यान गएको छ । हरहालतमा किसानलाई मल उपलब्ध गराउनुपर्छ । अस्ति प्रधानमन्त्रीले बोल्दा जसरी भए पनि मलको समस्या हुन दिन्नौं भन्ने कमिटमेन्ट गर्नुभएको छ ।

बजेटकै सन्दर्भमा कुरा गर्दा चाहिं चुनौती ठिक ढंगले कार्यान्वयन गर्न सक्छौं कि सक्दैनौं भन्ने हो । हाम्रो ब्युरोक्रेसी, हाम्रो प्रणाली, हाम्रो बानीव्यहोराले यसलाई ठिक ढंगले कार्यान्वयन गराउन सक्छ कि सक्दैन भन्ने प्रश्न छ । तर योभन्दा राम्रो बजेट अहिलेको अवस्थामा कल्पना गर्न सकिन्नथ्यो ।

अन्तिममा, नेकपा माओवादी केन्द्रको महाधिवेशन भएको महिनौं भइसक्यो । पार्टीका अध्यक्ष अनि पूर्व स्थायी कमिटीका सदस्यहरूको बैठकभन्दा तपाईंहरूलाई अप्ठ्यारो लाग्दैन ?

हामी टुंगो लगाउँदैछौं । हाम्रो पार्टी त्यस्तो पार्टी हो, जसले महाधिवेशनमा गम्भीर छलफल, बहससहित सर्वसम्मतले दस्तावेज पारित गर्‍यो । त्यो दस्तावेज अलिकति रणनीतिक महत्वको छ । बहसकै बीचबाट केन्द्रीय समिति पनि सर्वसम्मतले घोषणा गर्‍यो । केन्द्रीय समितिबाट सर्वसम्मत अध्यक्ष चयन गरेको पार्टी पनि माओवादी केन्द्र हो ।

स्थायी समिति, पोलिटब्युरो, पदाधिकारी बनाउने कुरा चाहिं विविध कारणले पछि पर्दै गयो । सुरुमा केही नेताहरू बिरामी हुनुहुन्थ्यो, उहाँहरूले म नआइन्जेल पदाधिकारी नटुंग्याइदिए हुन्थ्यो भन्ने अनुरोध भयो । सिनियर लिडरको त्यो भनाइ छ भने पर्खाैं न भनेरै सहमति गरियो । पछि चाहिं तयारी गर्दै थियौं, चुनावको मेसो आयो । अध्यक्ष हुँदै हुनुहुन्छ, चाहिएका साथीहरूलाई बोलाएर मिटिङ गरे भइहाल्यो, चुनावभरि यो झमेलातिर नजाऔं भनेर सर्वसम्मतले निर्णय भएको हो । त्यसैले हामीलाई असहज लागेको छैन । तपाईंहरूलाई के हो त अध्यक्ष मात्रै छ भन्ने भएको होला, हामी बनाउनेतिर छौं ।

कहिले बनाउनुहुन्छ ?

भोलि शुक्रबार भर्चुअल बैठकमा समग्र राजनीतिक परिस्थिति, पार्टीको स्थिति, चुनावको समीक्षा जानकारी गराइन्छ र अर्काे बैठकको डेट फिक्स गरिन्छ । त्यहीं छलफल हुन्छ ।

त्यसो हुँदा त फेरि अर्काे चुनाव आउला नि !

आउँदैन, पहिले नै टुंगो लगाउँछौं ।

तस्वीर/भिडियो: शंकर गिरी र आर्यन धिमाल/अनलाइनखबर

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.