Tuesday, October 4, 2022

यौन दुर्व्यवहारमा ‘सब्मिसिभ’ नहोऔं, प्रतिकार गरौं !

हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट ताजा जनादेश प्राप्त गरी चुनिएका जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्दै गर्दा मुलुकका विभिन्न स्थानमा महिलामाथि भएका बलात्कार तथा यौन हिंसाजन्य घटना सार्वजनिक भइरहेका छन् । मुलुकको राजधानी काठमाडौंमा सन् २०१४ मा सम्पन्न एक सुन्दरी प्रतियोगिताका आयोजकबाट नै बलात्कृत भई यौनशोषणमा परेकी एक किशोरीले आफूले भोगेको दर्दनाक व्यथा र पीडा ८ वर्षपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन् ।

कलिलै उमेरमा आएको सम्भावित अवसरकै लागि यौन हिंसा सहन बाध्य भएकी ती किशोरीले पीडकबाट निरन्तर यौनशोषणमा परेको हृदयविदारक व्यहोरा सुनाउँदै गर्दा मन असाध्यै उद्वेलित हुन्छ । बजारमा महिलामाथि हुने यौनजन्य हिंसा विरुद्धका आन्दोलनमा नारा लाग्छ- ‘तँ बलात्कारी होस्, सबै पुरुष बलात्कारी हुन् !’ अनि पुरुष हुनुको लज्जाबोध महसुस गर्दै आफैंलाई प्रश्न गर्छु- आखिर सबै पुरुष बलात्कारी नै हुन् ? अर्थात् सबैमा बलात्कारी सोच हुन्छ ? वा सबै पुरुषले कुनै न कुनै बेला यौन दुव्र्यवहार गरेको हुन्छ ?

यी प्रश्नहरू खेलाउँदै गर्दा मस्तिष्कमा थप प्रश्न उब्जिए । यौनको सवालमा एउटा पुरुषले १८ महिनाकी बालिकादेखि ९० वषर्ीय हजुरआमासम्मलाई छाडेको छैन, किन ? आखिर मानिस त्यतिसम्म कुण्ठित किन हुन्छ ? एउटा पुरुषलाई कसरी त्यस्तो अत्याचार र व्यभिचार गर्ने आँट आउँछ ? त्यस्तो दुष्कर्मको स्रोत के हो ? के यही समाजले नै त्यस्तो गर्न सिकाएको हो ? होइन भने यही समाजले निर्माण गरिदिएको एउटा व्यक्ति किन व्यभिचारी र अत्याचारी हुन्छ ? किन हिंस्रक हुन्छ ? किन अपराधी हुन्छ ?

ती युवतीले आफूमाथि भएको हिंसाबारे बोलेर न्यायको याचना गरिरहँदा उनीप्रति शंका गर्दै यत्तिका वर्षसम्म घटना किन सार्वजनिक गरिएन भनी प्रश्न गर्नेहरू पनि देखिए । तर, ती प्रश्न गर्नेहरूले यत्ति पनि सम्झेनन् कि ती एक्ली किशोरीले समाजले निर्माण गरिदिएको भ्रम र भयको पर्दा कसरी च्यात्न सक्थिन् ? किशोरावस्थामा अगाडि आएको करिअरलाई उनले कसरी त्याग्न सक्थिन् ? आफ्ना अग्रजहरूले नै घटनालाई सामान्यीकरण गरिदिएपछि कसरी उनी उजुरी गर्न सक्थिन् ? रक्षक नै भक्षक भएपछि उनी कसरी आफूमाथि भएको अत्याचार बाहिर ल्याउन सक्थिन् ?

जब उनी परिपक्व भइन् र भयानक विगतले सताउँदै गयो उनले घटना सार्वजनिक गरिन् । उनले जे गरिन् कथित सभ्यताको खास्टो ओढेर कुकर्म गर्नेहरूमाथि औंला उज्याइन् । त्यस्तै ढोंगी र दुष्कर्मीहरू उत्पादन गर्ने समाजलाई प्रश्न गरिन् । छोरीहरूको इज्जत र अस्मिताप्रति नै प्रश्न गर्न तम्सिने समाजलाई खबरदार गरिन् । एउटी हिंसापीडित नारीले आफूले भोगेको यौनहिंसा उजागर गरी कसूरदारलाई न्यायको कठघरामा उभ्याउने प्रयत्न गर्नु पनि आफैैंमा ठूलो साहस हो । उनले देखाएको त्यो आँट, हिम्मत र साहसलाई सम्मान गर्नुपर्छ ।

त्यस्तै अर्को घटनामा आफ्नै शिक्षकबाट बलात्कृत भएर यौन हिंसामा परेको भन्दै अर्की युवतीले प्रहरीसमक्ष उजुरी दिएकी छन् । केही दिनअघि काठमाडौंकै एक क्याम्पसका शिक्षकले आफूहरूलाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी छात्राहरूले सामूहिक प्रदर्शन गरिरहेका छन् । यी केही प्रतिनिधि घटना हुन्, जसले लामो समयसम्म आफूहरूमाथि भएको बलात्कार तथा यौन हिंसाजस्तो जघन्य अपराध सहेर बसेका छोरीहरूले अहिले आएर घटना सार्वजनिक गर्ने हिम्मत गरेका छन् ।

दुई वर्षअघि विश्वव्यापी रूपमा चलेको यौन हिंसाजन्य व्यवहार विरुद्धको आन्दोलन ‘मि टू’ नेपालमा खासै प्रभावकारी रूपमा देखिएको थिएन । तर, अहिले स्थानीय तहहरूमा नवनिर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हाल्दै गर्दा यौन हिंसाजन्य व्यवहार विरुद्धको आन्दोलनले विस्तारै गति लिएको देखिन्छ । यसले जनप्रतिनिधिहरूलाई पनि महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाविरुद्ध कठोर कदम चाल्नुपर्ने आवश्यकता बोध गर्न सहज भएको छ ।

अध्ययन भन्छ- अधिकांश बलात्कार तथा हिंसाजन्य व्यवहार आफन्त, नाताकुटुम्ब अनि चिनेजानेका व्यक्तिहरूबाट नै हुन्छ । झन् यौनशोषण त अपरिचितबाट हुने कुरै भएन । त्यो त चिनेजानेको व्यक्तिहरूबाट नै हुनेभयो । सञ्चारमाध्यममा आएका यौन हिंसाजन्य समाचारहरू पढ्दा र हेर्दासमेत मन अमिलिन्छ । आखिर यी र यस्ता जघन्य अपराधको स्रोत के हो ?

विभिन्न अध्ययन प्रतिवेदनले समाज शिक्षित बन्दै गएको देखाउँछ । विगतको तुलनामा विद्यालय जाने बालबालिका बढेकै छन् । सामाजिक चेतना पहिलेको तुलनामा झन् बढेकै छ । सामाजिक तथा राजनीतिक जागरण पनि बढेकै छ । तर, महिला तथा बालिकामाथि हुने यौनहिंसाजन्य अपराध र यौन दुव्र्यवहारका घटनामा कुनै कमी आएको छैन । झन् त्यस्ता घटना बढिरहेका छन्, आखिर किन ?

एक वित्तीय संस्थामा काम गर्ने मित्रले कार्यालयमा हुने संभावित यौन दुव्र्यवहारबारे कुरा गर्दै महिला कर्मचारीहरूलाई समान हैसियतका भन्दा माथिल्लो तहका पुरुष सहकर्मीहरूबाट त्यस किसिमको दुव्र्यवहार हुने गरेको बताएकी थिइन् । कार्यालय प्रयोजनकै लागि फोन सम्पर्क गर्दा, कुनै विषयवस्तु बारे जानकारी लिन खोज्दा, सोधखोज गर्दा वा कुनै समस्या समाधान गरिमाग्दा त्यसबापत उनीहरूको इच्छा र चाहनालाई सम्बोधन गरिदिनुपर्ने बाध्यता धेरै महिला सहकर्मीहरूमा हुने बताएकी थिइन् ।

समान हैसियतका समकक्षीहरूलाई भन्दा तल्लो तहमा काम गर्ने जुनियर सहकर्मीहरूबाट फाइदा लिन सहज हुने हुँदा उनीहरूलाई चिया खाजा खान, घुमफिर गर्न प्रस्ताव गर्ने, विदाको समयमा अनावश्यक रूपले फोन तथा म्यासेज गरी सोधखोज गर्ने, सिनेमा हेर्न प्रस्ताव गर्ने जस्ता व्यवहार आम भएको छ । हेर्दा सामान्य लाग्ने यी र यस्ता व्यवहारभित्र पक्कै पनि दूषित नियत लुकेको देखिन्छ ।

कुनै उमेर पुगेका महिला र पुरुषबीचको सहमति र रुचिमा हुने जुनसुकै सम्बन्धलाई निजी मामिला मान्न सकिएला तर अर्को व्यक्तिले असहज महसुस गर्दागर्दै, अरुचि प्रकट गर्दागर्दै पनि अनेकन् प्रस्ताव गरिरहनु भनेको हिंसाजन्य व्यवहार नै हो । यस्ता व्यवहार कहीं कतै रिपोर्ट र रेकर्डमा आउने गरेको छैन । त्यसैले भन्न सकिन्छ यो समाजमा यौन दुव्र्यवहारको तस्बिर सोचेभन्दा निकै भयानक छ ।

चिनेजानेको नाताकुटुम्ब पर्ने कुनै विवाहित वा अविवाहित महिला काम वा अध्ययनको सिलसिलामा एक्लै बसेकी छिन् भने उनको कथित अभिभावकत्व लिन खोज्ने, जागिर वा काम लगाइदिन्छु भन्ने नाता वा परिचयको साइनोले दाजु, मामा, काका वा भिनाजुहरूको नियत केवल अभरमा परेकालाई सहयोग गर्ने मात्रै रहँदैन, सहयोग गरेपछि तिनलाई प्रयोग गर्न पनि खोज्छन् ।

आफन्त चिनेजानेका दाइ, काका, मामा तथा भिनाजुहरूले आवश्यकता भन्दा बढी हालचाल बारे सोधखोज गर्नु, कुनै समस्या परे मलाई भन्नु है भन्दै अनावश्यक अभिभावकत्व दर्शाउनु, भेटघाट चिया खाजाका लागि बारम्बार प्रस्ताव गरिरहनु, प्रभावित पार्नका लागि उपहारजन्य सामान किनिदिनु आदि व्यवहारहरूभित्रको मक्सद पक्कै पनि मानवोचित मात्र हैन । आफन्तजनहरूमा भइरहेका यी र यस्तै व्यवहार पनि संभावित यौनजन्य दुव्र्यवहारको स्वरूप हो ।

हामीले निकै ठूलो राजनीतिक संघर्ष गरी व्यवस्था परिवर्तन गर्‍यौं । महिला हक, अधिकार र समानताका कुरा पनि गछौर्ं । तर, तिनै महिलालाई कुनै न कुनै काममा सहयोग गरेबापत, तिनलाई जागिर वा काम लगाइदिएबापत उनीबाट अनुचित लाभ लिन खोज्नु कस्तो मानवता हो ? कस्तो इमान हो ? कस्तो सोच हो ? अनि कस्तो सहयोगी भावना हो ?

ठीक छ, उमेर पुगेका कुनै पुरुष र महिलाले आफ्नो स्वेच्छाले कोही कसैसँग सम्बन्ध बनाउनु उनीहरूको निजी मामिला होला । जबसम्म त्यहाँ जबर्जस्ती हुँदैन त्यो अपराध होइन । तर, इच्छा नहुँदानहुँदै सहयोग गरेको बहानामा कसैलाई उपयोग गर्नु वा उपयोग गर्ने ध्येय राखेर व्यवहार गर्नु चैं अपराध हो । त्यो यौन दुव्र्यवहार हो । त्यो दुराचार हो । यस्ता दुव्र्यवहारजन्य घटनाहरू रिपोर्टमा आएका हुँदैनन् । ती कानुनी दायरामा आएका हुँदैनन् ।

आफन्त र चिनेजानेकाहरूबाटै हुने यस्ता व्यवहार मानसिक हिंसा हो । शारीरिक हिंसा मात्र अपराध हैन, मानसिक हिंसा झन् ठूलो अपराध हो । के हाम्रा दिदीबहिनी यस्ता संभावित सबै शारीरिक एवं मानसिक हिंसाबाट मुक्त भएर खुल्ला आकाशमा पँखेटा फिंजाउन सक्लान् ? जबसम्म त्यस्तो उन्मुक्त वातावरण बन्दैन, लैंगिक समानता र समतामूलक समाज केवल नारामै सीमित रहनेछ ।

लैंगिक समानता र यौनहिंसाजन्य व्यवहारको अन्त्यका लागि राज्यले उपरी संरचना निर्माण गरिदिनुपर्छ भने समाजले सुरक्षा र सम्मान दिन सक्नुपर्छ । अनि महिला हक र अधिकारको कुरा गर्दा सम्पत्ति माथिको अधिकार, नागरिकताको अधिकार, गर्भमाथिको अधिकार सुनिश्चित गर्दै मुख्य गरी दुई अधिकारलाई राज्य र समाजले स्वीकार गरी व्यावहारिक प्रयोगमा जोड दिनुपर्छ ।

पहिलो अधिकार हो, यौनसम्बन्धी अधिकार । कहिलेकाहीं नारा चैं सुनिन्छ- ‘मेरो शरीर मेरो अधिकार Û’ यो नारा वास्तवमै सही पनि लाग्छ । तर, यसको मर्म र भावनालाई किन कसैले बुझ्दैन ? यौन व्यक्तिको निजी कुरा हो । कुनै पनि वयस्क व्यक्तिले यौनसम्बन्धी अधिकारको निर्णय स्वयम् आफैंले गर्न पाउनुपर्छ । महिलाले आफ्नो यौनसम्बन्धी अधिकारको निर्णय आफैं गर्न पाउँदिनन् । किन ? त्यो अर्कैले निर्णय गरिदिनुपर्ने ? यौन कुनै एक पुरुषको निजी मामिला हुन्छ भने महिलाको पनि निजी मामिला हुन्छ भन्ने स्वीकार गर्नुपर्‍यो ।

दोस्रो अधिकार हो, आर्थिक स्वतन्त्रता सम्बन्धी । यो लैंगिक समानता र समतामूलक समाज निर्माणको अनिवार्य शर्त हो । अनि यसका लागि महिलालाई घरको अलावा बाहिर पनि काममा पठाएर हैन उनले घरमा गर्ने कामको नै आर्थिक गणना गरेर हुनुपर्छ । महिलामाथि शोषण छ । राज्यले नै शोषण कायम राख्न अनेकखाले अनौपचारिक सत्ताको निर्माण गरिदिएको हुन्छ । जस्तैः सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक सत्ता इत्यादि । ती सबै सत्ताहरूले महिलालाई निर्णायक मानेको छैन । महिलालाई स्वतन्त्र मानेको छैन । जबसम्म महिला पनि यी अनौपचारिक सत्तामा निर्णायक हुँदैनन्, महिला मुक्ति केवल रकमी कुरा हुनेछ ।

यी अधिकारहरूको ग्यारेन्टी राज्यको संरचनाले गर्ने हो । समाजले त्यसै अनुरूप एक नारीलाई निर्भीक भएर बाँच्ने र काम गर्ने वातावरण तयार गरिदिनुपर्छ । एक नारीले

आफ्नो नैसर्गिक र ऐन-कानुन प्रदत्त अधिकार प्रयोग गर्दा समाजले उनीमाथि प्रश्न गर्ने होइन । समाजले औंला ठड्याउने हैन । निर्भीक नारी बन्नबाट रोक्ने होइन । बरु त्यस्तो वातावरण तय गरिदिनुपर्छ र लैंगिक समानताको जग बसाउनुपर्छ ।

त्यसैले एक नारीले आत्मसम्मानका साथ, हैसियत र सुरक्षाका साथ निर्भीक भएर बाँच्न पाउने वातावरण बनाउने हामी सबैको साझा दायित्व हो । यसका लागि सबैभन्दा पहिले अब नारीहरू जाग्नुपर्छ । आफूमाथि विगतमा भएका वा संभावित सबैखाले प्रतिकूल परिस्थितिलाई उजागर गर्नुपर्छ । आफूले भोग्नुपरेका शारीरिक या मानसिक हिंसा र हिंसाजन्य व्यवहारलाई उजागर गर्नुपर्छ ।

अब सम्पूर्ण दिदीबहिनीले समाजलाई आफूमाथि भएका जुनसुकै गलत व्यवहारबारे प्रश्न गर्नुपर्छ । आवाज बुलन्द पार्नुपर्छ । महिलाहरूले दैनन्दिन भोग्नुपरेका हिंसाजन्य व्यवहार भनिसाध्य छैन । खासमा एक नारी शारीरिक या मानसिक रूपमै पनि हिंसापीडित नभई (वा हिंसाजन्य व्यवहारलाई इग्नोर नगरी) सम्मान र स्वाभिमानका साथ बाँच्न नसक्ने यो कस्तो समाज हो ? त्यसैले अब नारीले हिंसाजन्य व्यवहारप्रति ‘सब्मिसिभ’ भएर हैन, प्रतिकार गर्दै आवाज बुलन्द गरेर बाँच्नुपर्छ । समाजलाई प्रश्न गर्नुपर्छ । डर, त्रास र अपमानको भय पीडितलाई हैन, पीडकलाई हुनुपर्छ । हिंसा व्यहोर्नेलाई हैन हिंसा गर्ने र त्यसो गर्न प्रेरित गर्नेलाई हुनुपर्छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments