News Portal

any time News , local election in nepal 2079

‘पानीको फोका’ बन्ने कि ‘खरबारीको झिल्को’ – Online Khabar

उता भारतमा केजरीवाल थिए । यता नेपालमा बालेन्द्र साह (बालेन) र हर्कराज साम्पाङ राई उदाएका छन् । दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन साह काठमाडौं र हर्कराज राई धरानको मेयरमा निर्वाचित भएका छन् । स्थानीय चुनावको आम परिणामले पुरानै खेलाडीको अदली-बदली गरेको मात्र भए पनि यी पात्रको उदयले खास अर्थ राख्दछ ।

काठमाडौं र धरानका आ-आफ्नै विशिष्टता छन् । नवनिर्वाचित यी दुई पात्रहरूको पृष्ठभूमि र विशेषता पनि फरक-फरक छ । तर उनीहरूमा मिल्ने साझा कुरा यो हो कि यी पात्र मार्फत दल र नेताविरुद्ध जनताले विद्रोह बोलेका छन् । यी दुई खाले पात्रभित्र जनताले ‘नेपाली केजरीवाल’ खोजिरहेका छन् ।

त्यसैले, उदयसँगै यी नयाँ पात्रको परीक्षा पनि सुरु भएको छ । यो परीक्षामा यी पात्रहरू पास हुन्छन् कि फेल ? यसबारे अहिले नै बोल्नु हतारो हुनेछ । यो उनीहरूको आगामी सोच र क्रियाकलापले निर्धारण गर्नेछ । यदि यी पात्रहरूले जनअपेक्षा अनुरूप काम गर्न सके उनीहरू ‘सुकेको जंगलको झिल्को’ बन्न सक्छन् । यसले सारा जंगललाई डढेलो लगाइदिन सक्छ । यसो हुन नसक्दा यी पात्रहरू ‘पानीको फोका’ सावित हुन सक्छन् ।

यो आलेख खासगरी काठमाडौंमा नवनिर्वाचित मेयर बालेन साह र उनको नियति विश्लेषणमा केन्द्रित हुनेछ ।

बालेन-केजरीवाल सम्बन्ध

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र काठमाडौंका मेयर बालेन साहमा केही मिल्दाजुल्दा कुरा छन् । पहिलो, दुवै पात्र मुलुकको राजधानी शहरमा उदाएका छन् । दोस्रो, दुवै पात्रले युवा उमेरमा राजनीति सुरु गरेका हुन् । तेस्रो, दुवै पात्रको चुनावी एजेण्डा शहरी सुशासन हो । चौथो, दुवै पात्र कर्मचारी/प्राविधिक पृष्ठभूमिका हुन् । पाँचौं दुवै पात्रले शास्त्रीय राजनीति (उदारवाद, साम्यवाद, समाजवाद, हिन्दुवाद) का कुनै धारासँग नाता जोड्ने प्रयास गरेका छैनन् । छैटौं, दुवै पात्रले पुरानो इतिहास र सञ्जाल भएका शास्त्रीय दलहरूलाई एक्लै पछारेका छन् ।

बालेन र केजरीवालबीच भिन्नता पनि छन् । राजनीति सुरु गर्दा केजरीवालसँग दशकभन्दा बढीको भुईं तहको सामाजिक आन्दोलनको अनुभव थियो । चुनावमा होमिंदा उनीसँग दल पनि थियो । उनको वरिपरि दिल्लीका अनुभवी बुद्धिजीवी, प्राविधिक र सामाजिक अभियन्ताहरूको सञ्जाल थियो । उनको प्राथमिकतामा शहरी गरिबका एजेण्डा थिए । केजरीवाल स्वयंले सरल र ‘चप्पल छाप’ नेताका रूपमा पहिचान बनाएका थिए ।

बालेनलाई काठमाडौैंका आम मानिसले भोट हालेका जरूर हुन् । तर उनीसँग केजरीवालको जस्तो सामाजिक आन्दोलनको अनुभव छैन । उनले दल पनि बनाएका छैनन् । उनको चुनावमा इन्टरनेट दुनियाँका केही सञ्जालले अवश्य सहयोग गरे । तर ती सञ्जाल र स्वयं बालेनसँग राजनीतिक ‘फिल्डवर्क’ को अनुभव छैन । बालेनसँग शहरी गरिबको एजेण्डा पनि छैन । उनको शैलीमा सरलता कम ‘हाईफाई’ बेसी देखिन्छ ।

केजरीवालको दिल्ली भारतको केन्द्रीय प्रशासनिक इकाई मानिए पनि त्यो एक प्रान्त नै हो । जसले पर्याप्त स्वायत्ततासहित काम गर्न पाउँछ । यता काठमाडौंलाई ‘स्थानीय सरकार’ भनिए पनि यो केवल एउटा नगरपालिका हो । अधिकार, जनसंख्या र स्रोतसाधनका हिसाबले यो दिल्लीसँग तुलना हुनै सक्दैन ।

यी समानता-भिन्नताका बावजुद आम जनता अहिले बालेनभित्र केजरीवालको प्रतिबिम्व खोजिरहेका छन् । जनताको यो अपेक्षालाई अस्वाभाविक मान्न मिल्दैन । किनकि काठमाडौंका जनता शास्त्रीय राजनीतिले जन्माएको विकृतिबाट दिक्क भइसकेका छन् । उनीहरूले दिल्लीका केजरीवालको करामत पनि देखिसकेका छन् ।

त्यसैले, उनीहरू काठमाडौंमा पनि यस्तै नायक जन्मिएको हेर्न चाहन्छन् । जसले आएर शहरिया कुशासनलाई नाटकीय तरिकाले तह लगाइदेओस् । काठमाडौं शहर सुशासित, सफा र व्यवस्थित होस् । ‘ब्यालेट विद्रोह’ मार्फत काठमाडौंवासीहरूले यसपालि यही भावना व्यक्त गरेका छन् ।

बालेनका अवसर

‘फलामले फलाम काट्छ’ भने झैं राजनीतिका विकृति राजनीतिले नै मात्र समाधान गर्न सकिन्छ । यस अर्थमा बालेनको राजनीतिमा प्रवेश स्वागतयोग्य कदम हो । तर बालेन जुन बाटोमा हिंड्न आएका छन्, यो बाटो निकै लामो र जटिल छ भन्ने तथ्य उनले स्वीकार गर्न सक्नुपर्दछ

बालेनसामु काम गर्ने केही राम्रा अवसर छन् । यसो भन्नुको अर्थ यस अघिका जनप्रतिनिधि र कर्मचारीले ती अवसर पैदा गरिदिए भन्ने होइन । बरु यसको ठीक उल्टो उनीहरूले पर्याप्त काम नगरेकाले अवसर पैदा भएको हो । कमिसन नआउने काममा हात पनि नहल्लाउने जनप्रतिनिधि र कर्मचारीले काठमाडौं महानगरलाई अस्तव्यस्त बनाएका छन् । यही बालेनको अवसर हो ।

बालेनको कार्यक्षेत्र महानगरपालिकामा सीमित हुने कारण उनलाई राष्ट्रिय राजनीतिको लुछाचुँडीले प्रभावित पार्दैन । उनले तत्काल अर्थतन्त्रको मुद्दामा पनि अल्भिmनु पर्दैन । संवैधानिक प्रावधान अनुसार संघ र प्रदेश सरकारबाट वाषिर्क रूपमा उनलाई निश्चित बजेट प्राप्त हुन्छ । काठमाडौं महानगरको आन्तरिक आम्दानी पनि उल्लेख्य हुन्छ । बालेनले यही बजेटको सदुपयोग गर्दै नगरपालिकामा सुशासन, पारदर्शिता र जवाफदेही कायम गर्न सके भने तत्कालका लागि यही काम पर्याप्त हुन्छ ।

बालेनले तत्काल धेरै काम गर्नुपर्दैन । मात्रै लोभलालच नगरी काम गर्ने प्रयास गरे पुग्छ । नेपालको संविधानले स्थानीय सरकारका अधिकारहरूलाई स्पष्ट परिभाषित गरेको छ । इमानदार भएर संविधान र स्थानीय सरकार सञ्चालन ऐनले तोकेका प्रावधानलाई कार्यान्वयन गर्ने प्रयास मात्रै गरे भने पनि अहिलेलाई त्यही ठूलो कुरा हुनेछ ।

‘असारे विकास’ को राष्ट्रिय रोगले काठमाडौं पनि थलिएको छ । पूँजीगत बजेट पर्याप्त खर्च गर्न नसक्ने रोग पनि काठमाडौंले बोकेकै छ । फजुल खर्चमा त झन् काठमाडौं धेरै अगाडि छ । यी बालेनले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र हुन् । उनले चालु खर्च घटाउने र पूँजीगत खर्च बढाउने गरी काम गर्न सक्छन् । राजस्व चुहावट नियन्त्रणमा काम गर्न सक्छन् । आन्तरिक आय वृद्धिका स्रोत पहिचानमा काम गर्न सक्छन् । बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्छन् । सुुपथ मूल्यका पसल खोलेर विपन्न वर्गलाई राहत दिन सक्छन् ।

बालेनले तत्काल राष्ट्रिय शिक्षा नीति र शिक्षाको अन्तरवस्तुको विषयमा सोच्न पर्दैन । स्वास्थ्य सेवाको मोडेल कस्तो हुने भन्ने प्रश्नमा पनि मिहिनेत गर्नु पर्दैन । विद्यमान शिक्षा र स्वास्थ्य नीतिलाई प्रभावकारी कार्यान्वयन गरे पुग्छ । अर्थात्, विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्रहरूको सेवा प्रवाहमा सुधार गरे पुग्छ ।

बालेनका सामुन्ने तत्काल कृषि तथा किसानका समस्या आइलाग्दैनन् । उनले कृषि उपजहरूको बजार व्यवस्थापनको कामलाई ध्यान दिए पुग्छ । यो उनका लगि सजिलो काम हुनसक्छ । किनकि कृषि बजारमा बिचौलिया नियन्त्रण गर्नु नै यस क्षेत्रको क्रान्तिकारी कदम हुन्छ । यसले किसानलाई राहत मिल्छ । उपभोक्तालाई पनि सहुलियत मूल्यमा तरकारी तथा कृषि उपज प्राप्त गर्ने बाटो खुल्छ ।

काठमाडौं उपत्यकाको समावेशी धार्मिक/सांस्कृतिक परम्परा बालेनका लागि अर्को अवसर हो । यहाँ नाथ सम्प्रदाय र बौद्धमार्गीहरूले मिलेर बसाएको सहिष्णु र क्रान्तिकारी परम्परा छ । जहाँ पशुपतिनाथ, मच्छिन्द्रनाथ, गोरखनाथ, स्वयम्भूनाथ जस्ता हिन्दु र बौद्धहरूका साझा श्रद्धाका केन्द्र छन् । यस्ता धरोहरले जनसमुदायलाई एकताको सूत्रमा बाँधेर राखेका छन् । यसका कारण बालेनले तत्काल जातीय तथा धार्मिक मुद्दामा अल्झिनुपर्दैन । बरु यस्ता सम्पदालाई संरक्षणमा ध्यान दिंदा उनीमाथि जनताको अपार समर्थन प्राप्त हुन्छ ।

बालेनका चुनौती

निश्चय नै बालेनले चमत्कार गरेका छन् । काठमाडौं जस्तो ठाउँमा बिल्कुलै एउटा व्यक्तिले मै हुँ भन्ने नेता र दलहरूको विरासत तोडिदिएका छन् । उनको उदयले एकैचोटि दुई वटा ठूला-ठूला र दूरगामी महत्वका सन्देश पैदा गरेको छ ।

पहिलो, दलहरूका गैरजिम्मेवार र जनविरोधी क्रियाकलाप अब नेपाली जनताले धेरै दिन सहने छैनन् भन्ने सन्देश गएको छ । दोस्रो, बालेन मधेशी समुदायका हुन् भन्ने थाहा हुँदाहुँदै काठमाडौंका मानिसले उत्साहपूर्वक उनलाई मतदान गरे । यसले काठमाडौं वा पहाड अब तराई-मधेशप्रति मित्रवत् हुँदै गएको छ भन्ने पनि देखाएको छ ।

मधेशी समुदायलाई काठमाडौंले हेप्छ भन्ने गुनासो र तुष यही चुनावबाट एकै झट्कामा हृवात्तै घट्ने स्थिति पैदा भएको छ । देशमा नयाँ राष्ट्रिय एकताको लहर सिर्जना गरिदिएको छ । यो निकै नै महत्वको कुरा हो ।

यद्यपि बालेनको बाटोमा केही गम्भीर चुनौती छन् । एउटा प्रमुख चुनौती भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित छ । बालेनका समर्थकहरूले नारा त लगाए- ‘बालेन दाइको चश्मा, भ्रष्टाचारी भष्म’ । तर यो नारा नारामै सीमित हुनेवाला छ । कारण, एउटा नगरको मेयरले राष्ट्रियस्तरका भ्रष्टाचारीलाई ठेगान लगाउनै सक्दैन ।

दोस्रो, काठमाडौंको खानेपानी, ढल निकास, ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनको काममा जनताले तत्काल नतिजा खोज्नेवाला छन् । उनको परीक्षा लिने समस्या पनि यिनै हुन् । तर यी समस्या सामान्य नभएर ‘क्रोनिक’ भइसकेका छन् । उनले चाहेर पनि यी समस्या तुरुन्तै समाधान हुँदैनन् ।

यसको निश्चित कारण छ । यो काठमाडौं महानगरले मात्र पैदा गरेको समस्या होइन । यो त समग्र राष्ट्रिय नीतिले पैदा गरेको समस्या हो । विगतका शासकहरूले राज्यका सुविधा र शक्ति केन्द्र जति सबै काठमाडौं केन्द्रित गर्दा काठमाडौंमा थेगिनसक्ने गरी जनसंख्या केन्द्रित भयो । तब सम्पदाको शहर ‘कंक्रिटको जंगल’ मा फेरियो । प्रदूषण, ट्राफिक जाम, फोहोर, खानेपानी, ढल निकास जस्ता विषय विकराल समस्या बनेर देखापरे ।

दीर्घकालीन सोच बेगरका कामले नै काठमाडौं अस्तव्यस्त भएको हो । आज पनि शासकहरू यस्तो नीति बदल्ने सोचमा छैनन् । बरु सुरुङ मार्ग, फास्ट ट्रयाक आदि नाममा फेरि पनि काठमाडौंलाई थप उकुसमुकुस बनाउने तयारी गर्दैछन् ।

टालटुले कामले यो समस्याको दिगो समाधान हुँदैन । दिगो समाधान गर्न त केही अलोकप्रिय कुरा पनि गर्नुपर्ने हुन्छ । अर्थात्, काठमाडौंको निश्चित जनसंख्या घटाउने ढंगले नीति र कार्यक्रम तय गर्नुपर्ने हुन्छ । यसो गर्न राज्यका सुविधा र शक्ति केन्द्रलाई काठमाडौंभन्दा बाहिर विकेन्द्रित गर्नुपर्ने हुन्छ ।

तर काठमाडौंको मेयरले यत्रो नीतिगत हस्तक्षेप गर्न नै सक्दैन । अर्कोतिर जसले यस्तो कुरा गर्छ उसले दुईखाले अवरोधको सामना गर्नुपर्ने हुन्छ । पहिलो, अपारदर्शी आम्दानीबाट काठमाडौंमा घर ठड्याएका भ्रष्ट कर्मचारी र नेता नै उनीविरुद्ध खनिने छन् । दोस्रो, जनताले नै उनी विरुद्ध नारा-जुलुस गर्न थाल्ने छन् ।

जब खानेपानी, ढल, प्रदूषण, ट्राफिक र फोहोरमैला व्यवस्थापन जस्ता विषय समस्या बनेर यथावत् रहन्छन् तब पर्यटन विकासको कुरा गफ मात्र हुन्छ । अन्ततः जनताले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्न थाल्ने छन् । बालेनलाई यी चुनौतीबाट बच्न मुश्किल छ ।

बालेनको बाटो

‘फलामले फलाम काट्छ’ भने झैं राजनीतिका विकृति राजनीतिले मात्रै समाधान गर्न सकिन्छ । यस अर्थमा बालेनको राजनीतिमा प्रवेश स्वागतयोग्य कदम हो । तर बालेन जुन बाटोमा हिंड्न आएका छन्, यो बाटो निकै लामो र जटिल छ भन्ने तथ्य उनले स्वीकार गर्न सक्नुपर्दछ ।

‘मेयर भनेको कम्पनीको सीईओ जस्तै हो’ भन्ने बालेनको भनाइ अर्ध-सत्य मात्र हो । निश्चय नै मेयरले पनि सीईओले जस्तै जनताको आवश्यकता व्यवस्थापन गर्ने नै हो । तर मेयर (राजनीतिकर्मी) त्योभन्दा बेसी पनि हो ।

पहिलो, मेयरको निश्चित लक्ष्य, उद्देश्य र मूल्यमान्यता हुन्छ, सीईओको आफ्नो लक्ष्य उद्देश्य र मूल्यमान्यता हुँदैन । उसले फाउण्डरहरूको लक्ष्य, उद्देश्य र मूल्यमान्यताको सेवा गर्दछ । दोस्रो, मेयरले सेवाभावले काम गर्नुपर्ने हुन्छ । सीईओले तलबका लागि काम गर्दछ । बालेनले यो भिन्नतालाई ध्यान दिन जरूरी देखिन्छ ।

अबका दिनमा बालेनले सीईओ र राजनीतिकर्मी दुवै खाले भूमिका निभाउनुपर्नेछ । तैपनि उनी मूलतः मेयर -राजनीतिकर्मी) हुन् । उनीसँग स्पष्ट सोच, लक्ष्य र उद्देश्य हुन जरूरी हुन्छ । राजनीतिकर्मी भएर सोच्न सक्दा मात्र उनका क्रियाकलाप ठिक ठाउँमा पर्ने छन् ।

राजनीतिकर्मी भएर सोच्नु भनेको नीति-निर्माणको राष्ट्रिय तहमा हस्तक्षेप गर्ने स्तरमा सोच्नु हो । यसका लागि उनले आजका शास्त्रीय दलको विकल्पमा राष्ट्रिय स्तरमा शक्ति निर्माण गर्ने तयारीसहित काम गर्नुपर्ने हुन्छ । त्यो शक्तिलाई ठिक दिशामा हिंडाउने सोच र चिन्तनको विकास गर्न जरूरी हुन्छ ! के गर्दा मानव कल्याण हुन्छ भन्ने बारेमा अनुसन्धान गर्न जरूरी हुन्छ । संगठन निर्माण गर्ने र संगठनको अनुशासनलाई शिरोधार्य गर्ने संस्कारमा ढल्न जरूरी हुन्छ । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको आधारमा काम गर्न तयार हुनुपर्ने हुन्छ ।

काठमाडौं र सिंगो नेपाल अन्तरसम्बन्धित विषय हो । काठमाडौंलाई मात्र राम्रो बनाउन सम्भव छैन । पूरै नेपाल राम्रो हुँदा नै काठमाडौं पनि राम्रो बन्ने हो । राष्ट्रिय नीति यथावत् राखेर काठमाडौंलाई मात्र बदल्न सम्भव छैन । यसको अर्थ काठमाडौं नै बनाउने हो भने पनि अब बालेन र बालेन जस्ताले शक्ति निर्माण गर्न र राष्ट्रिय राजनीतिमा हस्तक्षेप बढाउन जरूरी हुन्छ ।

के बालेन अबका दिनमा यो बाटोमा हिंड्न तयार छन् ? यदि उनी यसरी सोच्दछन् भने उनलाई केजरीवाल जस्तै एउटा उदीयमान नेताको रूपमा आशा गर्न सकिन्छ । होइन, उनी सीईओमुखी सोचमै सीमित हुन्छन् वा काठमाडौंको मेयरमै सीमित हुने सोच राख्छन् भने अहिले नै किटेर भन्न सकिन्छ, उनको उदय ‘पानीको फोका’ सावित हुनेछ ।

केजरीवाल स्वयं अधुरा पात्र हुन् । उनको दल अझै नीतिनिर्माणको राष्ट्रिय तहमा हस्तक्षेप गर्ने ठाउँमा पुगेकै छैन । बालेन त भर्खरै एउटा नगरको मेयर मात्र भएका छन् । उनले केजरीवाल हुनै पनि निकै लामो बाटो तय गर्नुपर्ने हुन्छ ।

आशा गरौं, उनी सीईओमुखी सोचबाट परिपक्व राजनीतिकर्मीको तहमा उठ्नेछन् । ‘पानीको फोका’ होइन, ‘सुकेको जंगलको झिल्को’ बन्नेछन् । जसले देशैभर राजनीतिक विकृतिमाथि डढेलो सल्काउनेछ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.