News Portal

any time News , local election in nepal 2079

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो – Online Khabar

१२ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा बुधबार अपराह्नसम्म ७४८ स्थानको नतिजा सार्वजनिक भएको छ । पछिल्लो विवरण अनुसार, स्थानीय तहमा महिलाको नेतृत्व सख्याँ बढेको छ । तर समग्र प्रतिनिधित्वचाहिँ घटेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नगरपालिकामा ७ जनामात्रै मेयर निर्वाचित भएकोमा यसपाली १३ जना निर्वाचित भएका छन् । अघिल्लोपटक गाउँपालिकाहरुमा ११ जना महिला नेतृत्वमा चुनिएका थिए भने यसपटक यो सख्याँ १२ छ । नेतृत्व (अध्यक्ष र मेयर) दुवै पदमा अघिल्लोपटक १८ जना निर्वाचित भएकोमा यसपटक २५ जना निर्वाचित भएका छन् । नेतृत्वको विकासको दृष्टिले यो सकारात्मक भएको तर अपेक्षाकृत नभएको वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको टिप्पणी छ ।

‘अहिले नेतृत्वमा आउनुभएकोमध्ये धेरैजना अघिल्लोपटक दोस्रो पदमा हुनुहुन्थ्यो, त्यहाँ काम गर्दा उहाँहरुको क्षमताविकास र विश्वासले गर्दा नेतृत्वविकास सम्भव भयो’ नेपाल बार एसोसिएसनकी पूर्व-उपाध्यक्ष पाठकले भनिन्, ‘तर अघिल्लोपटक जुन उत्साहले दोस्रो (उपाध्यक्ष/उपप्रमुख) पदमा महिला प्रतिनिधित्व भएको थियो, त्यही शैलीमा अहिले उम्मेद्वारी दिन दलहरुले कञ्चुस्याई गरे । हामीले योभन्दा बढी नेतृत्वमा आउलान भन्ने अपेक्षा गरेका थियौं ।’

सत्तारुढ दलहरुले गरेको गठबन्धनका कारण दोस्रो पद (उपाध्यक्ष/उपमेयर) मा महिला प्रतिनिधित्व स्वात्तै घटेको देखिन्छ । अघिल्लोको तुलनामा कम्तिमा पनि डेढ सय संख्या घटेको छ । २०७४ सालमा ७ सय जना महिला दोस्रो पद (उपाध्यक्ष/उपप्रमुख) मा निर्वाचित भएकोमा यसपटक ५६२ जनामात्रै निर्वाचित भएका छन् । केही ठाँउमा मतगणना जारी भएकाले ३/४ स्थान यताउता हुनसक्ला । तर समग्रमा भने प्रतिनिधित्व घटेको छ । वडाध्यक्ष पदमा अघिल्लोपटक ६१ जना निर्वाचित भएकोमा अहिले त्यो संख्या ६९ पुगेको छ ।

पद २०७४ २०७९
प्रमुख १३
अध्यक्ष ११ १२
दुवै पदमा १८ २५
उपप्रमुख २७६ २२७
उपाध्यक्ष ४२४ ३३५
दुवै पदमा ७०० ५६२
वडाध्यक्ष ६१ ६९

कस्तो छ अनुपात ?

निर्वाचन आयोगको पछिल्लो तथ्यांक हेर्दा प्रमुख तथा अध्यक्ष पदमा २५ जना मात्रै महिला निर्वाचित भएका छन् । यो केवल ३ दशमलब ३४ प्रतिशत हो । अघिल्लो निर्वाचनको तुलनामा यो प्रतिनिधित्व करिव एक प्रतिशतमात्रै बढी हो । हालसम्म ७ सय ४७ स्थानीय तहको परिणाम सार्वजनिक भएकोमा ७२२ तहको प्रमुख पदमा पुरुष निर्वाचित भएका छन् ।

दोस्रो पद अर्थात उपप्रमुख वा उपाध्यक्षमा महिलाहरुको प्रतिनिधित्व अघिल्लो तुलनामा घटेको छ । अघिल्लोपटक २ सय ७६ जना महिला उपप्रमुख निर्वाचित भएकोमा यसपाली करिव ५० पद घटेर २२६ मा सीमित भएको छ । उपाध्यक्ष पदमा ४ सय २४ रहेकोमा यसपाली ३ सय ३५ मात्रै भएको छ । यसरी अघिल्लोपटक ७ सय महिला उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएकोमा यसपाली यो सख्याँ ५ सय ६२ मात्र छ । समग्रमा यो पदमा अघिल्लो पटक ९३ प्रतिशत हाराहारी महिला प्रतिनिधित्व भएकोमा यसपाली त्यो अनुपात घटेर ७५ दशमलब २३ प्रतिशतमा सीमित भएको छ ।

‘राजनीतिक दलहरुमा पुरुषहरुको बाहुल्य छ, नेतृत्वमा झनै उनीहरुको एकाधिकार छ । यसपटक त दलहरुले गठबन्धनका नाममा उम्मेद्वारी नै दिन चाहेनन्’ वरिष्ठ अधिवक्ता मल्ल भन्छिन्, ‘उम्मेद्वारी नै कम भएपछि प्रतिनिधित्व घट्नु स्वभाविकै हो । गठबन्धन भएपनि महिला उम्मेद्वार अघि सार्न कुनै कठिनाई थिएन । कानूनमा भएको छिद्रको लाभ लिए ।’

वडामा खोज्नै कठिन

देशभरका ६ हजार ७४३ वडामध्ये हालसम्म निर्वाचन आयोगले ६ हजार ७०४ वडाहरुको नतिजा मात्रै सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार, ६९ वटामा महिला बाहेक अरु सबैमा पुरुष वडाध्यक्ष निर्वाचित भएका छन् । यो केवल १ दशमलब ०२ प्रतिशत मात्रै हो । अघिल्लोपटक ६१ जना महिला वडाध्यक्ष निर्वाचित भएका थिए ।

स्थानीय तहका हरेक वडामा दुईजना सदस्य हुन्छन् । १३ हजार ४८६ जना वडा सदस्यहरुमध्ये अघिल्लोपटक महिलाहरुको प्रतिनिधित्व नभएको निर्वाचन आयोगको विवरणबाट स्पष्ट हुन्छ । तर यसपाली वडा सदस्यमा ४ सय ४० जना महिला निर्वाचित भएका छन् । यो कुल प्रतिनिधित्वको ३ दशमलब २६ प्रतिशत हो । यस बाहेक हरेक वडामा महिला र दलित महिला वडा सदस्य अनिवार्य गरिएका कारण यी पदमा १३ हजार ४८६ महिला स्वतः निर्वाचित हुन्छन ।

 

 

समग्र प्रतिनिधित्व कति ?

कुल संख्याका आधारमा हेर्ने हो भने हालसम्म सार्वजनिक ३४ हजार ८८८ पदमध्ये १४ हजार ३७९ पदमा महिला निर्वाचित भए । यो ४१ दशमलब २१ प्रतिशत हो । महिला र दलित महिला वडा सदस्यमा अनिवार्य महिला प्रतिनिधित्व हुने भएकाले कुल ३५ हजारमध्ये १३ हजार ४८६ पदमा महिलाको अनिवार्य प्रतिनिधित्व हुन्छ र प्रतिशत बढ्छ । खुला प्रतिस्पर्धा हुने पदमा यो अनुपात घटेको देखिन्छ ।

हामीले यो तथ्यांकमा वडाको महिला र दलित महिला सदस्यको पदको संख्या घटाएर हेर्‍यौं । किनभने यी दुई पदमा बाहेक अरुमा महिलाहरु खुला प्रतिस्पर्धाबाट निर्वाचित हुन्छन् । यसरी हेर्दा २१ हजार ६०५ पदमा १ हजार ९६ महिला निर्वाचित भएको देखिन्छ । यो अनुपात करिव ५ दशमलब ०७ प्रतिशत मात्रै हो ।

अघिल्लो निर्वाचनमा छिटफुट बाहेक हरेक दलहरु आ-आफ्नै ढंगले प्रतिस्पर्धामा रहेकाले उनीहरुले प्रमुख र उपप्रमुख पदमध्ये एउटामा अनिवार्य महिला उम्मेद्वार अघि सारे । स्थानीय तह निर्वाचन ऐन २०७३ मा हरेक दलबाट प्रमुख दुई पदमध्ये एउटामा अनिवार्य महिला उम्मेद्वार हुनुपर्ने व्यवस्था छ । यसपाली सत्तारुढ दलहरुले गठबन्धन गरेका थिए । गठबन्धन गर्दा एउटा दलले एउटा र अर्कोले अर्को पदमा उम्मेद्वारी दिएकाले महिला उम्मेवारी अनिवार्य भएन । एउटामात्रै पदमा मनोनयन दर्ता गर्दा महिला उम्मेद्वारी ‘अनिवार्य हुनुपर्ने’ भनेको निर्वाचन आयोगले पछि भने त्यसलाई संशोधन गरेर ‘प्राथमिकता दिनु’ मात्रै भनेको थियो ।

‘नेतृत्व क्षमता र दक्षताजस्ता कारण भन्दापनि राजनीतिक दलभित्रको सोच र इच्छाशक्तिको अभावले प्रतिनिधित्व घटेको छ । प्रमुख र उपप्रमुख चलाउन सक्छन भने महिलाले वडाको नेतृत्व गर्न नसक्ने सम्भावना थिएन । तर कानूनमा नभएकाले दलहरु बाध्य भएनन्’ वरिष्ठ अधिवक्ता मल्ल भन्छिन्, ‘कानूनले बाध्यकारी नबनाउने हो भने दलहरुले महिलालाई उम्मेद्वार नै बनाउने रहेनछन् भन्ने देखिन्छ ।’

उनले प्रमुख र उपप्रमुखजस्तै वडाका पदहरुमा पनि निश्चित अनुपातमा अनिवार्य उम्मेद्वारीको व्यवस्था हुनुपर्ने बताइन । कतिपय ठाँउमा भने उम्मेद्वारी नै पाउन कठिन भएको र प्रतिकुलता भएको अवस्थामा महिलालाई अघि सारिएको उनको भनाइ छ । वडा सदस्यहरुमा महिला प्रतिनिधित्व बढ्नुमा त्यो पाटो पनि कारक रहेको उनी बताउँछिन् ।

कुन दलमा कति महिला प्रतिनिधित्व ?

नेकपा एमाले

प्रमुख र अध्यक्ष पदमा २०४ स्थान जितेको एमालेमा यो पदमा जम्मा १० जना महिला निर्वाचित भएका छन् । यो करिव ४ दशमलब ९ प्रतिशत हुन आउँछ । उपप्रमुख वा उपाध्यक्षमा एमालेबाट २ सय ३७ जना उम्मेदवार निर्वाचित भएका छन् । त्यसमध्ये २ सय १३ जना महिला छन् । यो ८९ दशमलब ८७ प्रतिशत हो ।

नेपाली कांग्रेस

प्रमुख र अध्यक्ष पदमा ३२६ स्थान जितेको नेपाली कांग्रेसमा यो पदमा जम्मा ९ जना महिला निर्वाचित भएका छन् । यो करिव २ दशमलब ७६ प्रतिशत हुन आउँछ । कांग्रेसले उपप्रमुख वा उपाध्यक्षमध्ये २ सय ९८ स्थानमा आफ्ना उम्मेदवारलाई निर्वाचित बनाएको छ । त्यसमध्ये २ सय २५ जना महिला छन् । यो ७५ दशमलब ५ प्रतिशत हो ।

माओवादी केन्द्र

प्रमुख र अध्यक्ष पदमा १२१ स्थानमा निर्वाचित भएको माओवादी केन्द्रमा यो पदमा ४ जना महिला निर्वाचित भएका छन् । यो करिव ३ दशमलब ३ प्रतिशत हुन आउँछ । माओवादी केन्द्रले उपप्रमुख वा उपाध्यक्षमध्ये १ सय २८ स्थानमा आफ्ना उम्मेदवारलाई जिताएको छ । त्यसमध्ये ६३ जना महिला छन् । यो ४९ दशमलब २२ प्रतिशत हो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.