Monday, October 3, 2022

एमाले पराजयको प्रमुख कारण पार्टी विभाजन – Online Khabar

१३ जेठ, काठमाडौं । नेकपा एमालेका उम्मेदवार केशव स्थापित काठमाडौं महानगरको मेयर पदको प्रतिश्पर्धामा तेस्रो बने । स्थापितलाई २२४ मतले उछिन्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह निकटतम प्रतिस्पर्धी बन्दा ६१ हजार ७६७ मत ल्याएर गैरदलीय उम्मेदवारी दिएका बालेन साह भने मेयर निर्वाचित भए ।

३५ वर्षदेखि चुनाव लड्दै आएका केशव स्थापित ३८ हजार ११७ मतमै सीमित भए । एमाले उम्मेदवारले पाएको यो मत ०७४ को चुनाव भन्दा २६ हजार ७९६ ले कम हो । त्यसबेला ६४ हजार ९१३ मत ल्याएर विद्यासुन्दर शाक्यले मेयरमा निर्वाचित भएका थिए ।

रञ्जु दर्शना र किशोर थापाले ४१ हजार बढी मत काटेकाले ०५४ सालमा केशवले ल्याएको भन्दा २० हजार कम मत ल्याएर पनि विद्यासुन्दर मेयर बने । विद्यासुन्दरसँग कांग्रेसका राजुराज जोशी झण्डै १९ हजार अन्तरले पराजित भएका थिए ।

तर ०५४ सालमा आफैले पाएको (त्यसबेला ८४ हजार ल्याएर जितेका थिए) भन्दा ४६ हजार कम मत पाउँदै केशव यसपटक तेस्रो भए । उनको पराजयले काठमाडौं महानगरमा एमाले पहिलोपटक तेस्रो शक्ति बन्नु परेको छ । ‘आन्तरिक समस्याकै कारणले राम्रो नतिजा ल्याउन सकेनौं । उम्मेदवार चयन ठीक ढंगले भएन,’ एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला भन्छन्, ‘तलको प्रस्ताव माथिकाले बुझ्न सकेन ।’ एमालेका अरु नेताहरूले पनि उम्मेदवार चयनमा समस्या देखिनु र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले राम्रो नतिजा ल्याउन नसकेको टिप्पणी गरिरहेका छन् ।

पार्टी विभाजन हुँदैनथ्यो भने मेयरमा बालेनले जितेपनि कांग्रेसभन्दा एमाले बलियो शक्ति बन्न सक्थ्यो । एकीकृत समाजवादीले पाएको मत र एमालेले गुमाएको सिट (वडाध्यक्षहरुको संख्या) हेर्दा विभाजनको असर प्रष्ट देखिन्छ ।

तर तथ्याङ्कले भने एमालेको संगठन नै कमजोर बनेको देखिन्छ । ०५४ मा एमालेले ३२ मध्ये २७ वडा जितेको थियो भने ०७४ को चुनावमा १८ वडाध्यक्ष जित्यो । तर यसपटक १२ वडामै एमाले सीमित भयो । कांग्रेसले भने बढाएर वडाध्यक्ष संख्या १९ पुर्‍याएको छ ।

०७४ मा एमालेले जितेको ७, ९, १२, २४ र २७ नम्बर वडा यसपटक कांग्रेसले जित्यो भने १५ नम्बर वडा एकीकृत समाजवादीले जितेको छ । ०७४ को चुनावमा एमाले वडाध्यक्षहरुले पाएको मत संख्या समेत यसपटक १० हजार बढीले घट्यो । त्यतिबेला एमाले वडाध्यक्षहरुले पाएको मत जोड्दा ७३ हजार ११३ हुन्छ । तर यसपटक चाहिँ ६२ हजार २६६ मात्रै पुग्छ । जबकी यो चुनावमा २१ हजार मतदाता थपिएका थिए ।

यसर्थ उपमेयरमा सुनिता डंगोलले पाएको लोकप्रिय मत बाहेक हरेक आधारमा एमाले कमजोर बनेको छ । सुनिताले भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा झण्डै तीन गुणा बढी (४४ हजार ८०६ को मतान्तर) मत ल्याइन् । सुनिताले पाएको मत (६८ हजार ६१२) बालेनको भन्दा ६ हजार ८४५ र स्थापितले पाएको भन्दा ३० हजार ४९५ ले बढी हो ।

उपमेयरको नतिजा बाहेक निर्वाचित वडाध्यक्ष संख्या, मेयर र वडाध्यक्षले पाएको मत हेर्दा एमालेको संगठन कमजोर बनेको पुष्टि हुन्छ । कमजोर नतिजा आउनुमा बालेनको व्यक्तिगत आकर्षण र सत्तारुढ दलहरुबीच गठबन्धन हुनुलाई एमाले नेताहरुले कारण मानेका छन् । तर त्यो भन्दा ठूलो असर भने पार्टी विभाजनका कारणले पुगेको चुनावी नतिजाले देखाउँछ । महानगर कमिटी अध्यक्ष देउला विभाजनको असर परेको स्वीकार्छन् । ‘माओवादी केन्द्रको त काठमाडौंमा प्रभाव नै छैन, मेयरमा तेस्रो मत आउनु भनेको पार्टी विभाजनकै असर हो नि !’, देउला भन्छन् ।

हुन पनि पार्टी विभाजन हुँदैनथ्यो भने मेयरमा बालेनले जितेपनि कांग्रेसभन्दा एमाले बलियो शक्ति बन्न सक्थ्यो । एकीकृत समाजवादीले पाएको मत र एमालेले गुमाएको सिट (वडाध्यक्षहरुको संख्या) हेर्दा विभाजनको असर प्रष्ट देखिन्छ ।

२ भदौ ०७८ मा एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेपछि पहिलोपटक चुनावमा भाग लिएको एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत जोड्दा १४ हजार २८१ हुन्छ । यदि विभाजन नभएको भए यो मत एमालेमै जोडिदा ०७४ मा ल्याएको भन्दा साढे तीन हजारले बढी (७६ हजार ५४७ मत) हुन्थ्यो । त्यो भनेको फेरि पनि एमाले पहिलो शक्ति कायमै रहनु हो ।

३२ नम्बर वडामा एकीकृत समाजवादीका उम्मेदवारलाई कांग्रेसको पनि समर्थन थियो । त्यो वडामा एकीकृत समाजवादीका सीतादेवी कँडेलले ३ हजार १०८ मत पाइन् । यो वडाको हिसाब नगर्दा पनि पार्टी नफुटेको भए कांग्रेस भन्दा एमाले नै ठूलो शक्ति हुने देखिन्छ । किनकि यसपटक कांग्रेसका वडाध्यक्षका उम्मेदवाहरुले पाएको मत जोड्दा ६२ हजार ३८० हुन्छ ।

विभाजनको क्षति

मेयर र उपमेयरमा गठबन्धन भएकाले एकीकृत समाजवादीको मत अलग्गै निस्किन्न । तर एकीकृत समाजवादीका वडाध्यक्षहरुले पाएको मत संख्या हेर्दा केशवले पनि सिर्जना भन्दा धेरै मत पाउने सजिलै अनुमान गर्न सकिन्छ ।

पार्टी विभाजन नभएको भए एमालेले अहिले जितेको भन्दा थप सात वडाध्यक्ष समेत जित्न देखिन्छ । अर्थात् ०७४ भन्दा एक वडा बढी एमालेले जित्ने रहेँछ । तर एकीकृत समाजवादीका उम्मेदवारले मत काट्दा ७, १४, १६, २३, २४ र २५ नम्बरको वडाध्यक्ष कांग्रेसले जितेको छ ।

७ नम्बर वडामा एमालेका उम्मेदवार कांग्रेससँग ५६ मतले पराजित भए । एमालेका कृष्णमणि भट्टराईले २ हजार ८१६ मत पाउँदा कांग्रेसका बिमलकुमार होडा २,८६७ मत ल्याएर वडाध्यक्ष बने । जबकी एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार शुध्दकुमार डंगोलले ९२४ मत पाए । एमाले र एकीकृत समाजवादीले पाएको मत जोड्ने हो भने ८६८ मतान्तरले कांग्रेस पछि पर्ने देखिन्छ ।

वडा नम्बर १४ मा एमालेका रश्मी खड्का ९६ मत अन्तरले पराजित भए । कांग्रेसका सुमन श्रेष्ठले ३ हजार ४४२ मत ल्याएर वडाध्यक्ष जित्दा खड्काले ३ हजार ३४६ मत पाए । एकीकृत समाजवादीका रामहरि खतिवडाले भने २०५ मत ल्याए । वडा नम्बर १६ मा एमाले ७०९ मतले पराजित भयो । एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत पाउँदा कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जिते । तर एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ मत ल्याएर तेस्रो भए ।

२३ नम्बर वडामा कांग्रेसका मचा राजा महर्जनले १ हजार १६१ मत ल्याएर वडाध्यक्ष बन्दा एमालेका उत्तमरत्न मानन्धर २३२ मतले पराजित भए । मानन्धरले ९२९ मत पाएका थिए । यदि एकीकृत समाजवादीका ज्योति शाक्यले पाएको ४१२ मत जोड्ने हो भने कांग्रेस पराजित हुनेथियो ।

२५ नम्बर वडामा त एमालेले भन्दा एकीकृत समाजवादीले धेरै मत पायो । एकीकृत समाजवादीका बाबु राजा महर्जनले ८०१ मत पाउँदा एमालेका राजेशप्रसाद श्रेष्ठले ६४२ मात्रै ल्याए । तर ९१६ मत सहित कांग्रेसका राजेश डंगोल वडाध्यक्ष निर्वाचित भए ।

१५ नम्बर वडामा भने एकीकृत समाजवादीले कांग्रेस र एमाले दुवैलाई हरायो । एकीकृत समाजवादीका ईश्वरमान डंगोलले ३,४७४ मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका जीवन डंगोलले १,५७५, एमालेका पूर्णकाजी डंगोलले १ हजार ३९५ र माओवादी केन्द्रका रत्नकाजी महर्जनले ४७ मत पाए । ०७४ को चुनाव एमालेबाट जितेका डंगोलले पाएको मत तीन ठूला दलका उम्मेदवारले पाएको भन्दा ४५७ मतले धेरै छ ।

एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसाल काठमाडौं महानगरकै जस्तो क्षति देशभर एमालेले खेप्नुपरेको बताउँछन् । ‘कम्युनिष्ट आन्दोलन, संविधान र लोकतन्त्र सिध्याउने बाटोमा केपी ओली लागेपछि हामीले विद्रोह गरेका हौं,’ महासचिव डा. भुसाल भन्छन्, ‘विद्रोहको असर नहुने कुरै भएन । कम्युनिष्ट आन्दोलन जोगाउन मतदाताले साथ दिएका छन् ।’ एकीकृत समाजवादी आफैंले भने पोखरा महानगर सहित २० स्थानीय तह मात्रै जितेको छ । तर महासचिव भुसाल भने विद्रोहकै मार्ग प्रमुख शक्तिका रुपमा स्थापित हुने बाटोमा रहेको बताउँछन् ।

एमालेले भने ०७४ भन्दा ८९ सिट गुमाएको छ । त्यसबेला २९४ सिट जितेर प्रमुख शक्ति बनेको एमालेले यसपटक २०५ स्थानीय तह मात्रै जितेको छ । अब दुई स्थानीय तहको नतिजा आउन बाँकी छ । तर कांग्रेसले भने ठूलो सफलता निकाल्दै ३२८ स्थानीय तह जितिसकेको छ ।

०७४ मा कांग्रेसले २६६ स्थानीय तह जितेको थियो । नेकपा माओवादी केन्द्रले १५ सिट बढाउँदै १२१ स्थानमा जितेको छ । ठूलो हेरफेर नभएको जनता समाजवादी पार्टीले ३०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ स्थानीय तह जितेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments