ताप्लेजुङमा बन्ने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनामा कुमारी बैंकको अगुवाइ

ताप्लेजुङमा बन्ने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले कुमारी बैंकको अगुवाइमा आयोजनाको कूल लागतको ७५ प्रतिशत ऋण लगानी सुनिश्चित गरेको जनाएको छ। आयोजनाको कूल लागत २६ अर्ब १२ करोड रुपैयाँ हो। उत्पादन प्रवद्र्धक कम्पनी स्पार्कका संचालक श्री राम कृष्ण श्रेष्ठले कुमारी बैंकको अगुवाइमा नेपालका बिभिन्न बैंकहरुले १९ अर्ब ५९ करोड लगानी सुनिश्चित गरेको जानकारी दिए । उनका अनुसार कम्पनीले कूल लागतको २५ प्रतिशत अर्थात् ६ अर्ब ५३ करोड लगानी(इक्विटी)जुटाउनु पर्ने हुन्छ ।

आयोजनाका लागि सम्भाव्यता अध्ययन भएको करिव २२ वर्षपछि मात्र स्पार्कले विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरेपछि आयोजनाको कूल पूर्व निर्धारित लागत बढ्ने देखिएको हो । आयोजनाले प्रारम्भिक अध्ययनका क्रममा करिव २२ अर्बको लगानीमा आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने गरी लागत इष्टिमेट तयार गरेको थियो । दुई दशक अघि तयार पारिएको त्यो लागत इष्टिमेट विद्युत उत्पादन अनुमति प्राप्त भएको अवधिसम्म आउँदा करिव ४ अर्ब १२ करोड रुपैयाँले बढेको छ। लामो समयदेखि बैधता र प्रकृयागत लडाइ खेपीरहेको स्पार्कले विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरेपछि आयोजनाका लागि कम्पनीले गर्नुपर्ने लगानीको ठूलो हिस्सामा स्थानीय समुदायलाई हिस्सेदार बनाउने नीति लिएको छ। कम्पनीले लगानीका लागि सार्वजनिक आवहन समेत गरेको छ। ‘लगानीमा सहभागी हुन चाहनेले कम्पनीसंग सम्पर्कमा आउन म अपिल पनि गर्दछु’ स्पार्कका संचालक श्रेष्ठले भने ।

ताप्लेजुङ जिल्लाको मिक्वाखोला र मेरिङ्देन गाउँपालिका भइ बग्ने मेवाखोलाको पानीलाई फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका भइ बग्ने तमोर नदीमा मिसाइ तमोर–मेवा जलविद्युत आयोजना निर्माण गरिने छ। यसका लागि छुट्टाछुट्टै डाइभर्र्सन, इनटेक, बेडलोड, ग्राभेल रोक्ने संरचना र बालुवा थिग्ग्रयाउने पोखरी लगायतका संरचना निर्माण हुने भएका छन्। कम्पनीले आयोजनाको काम २०७८ को असोजबाटै सुरु गर्ने र त्यसको ५ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। आयोजनाको लागि चाहिने दुईवटा बाँधको संरचना मध्ये एउटा संरचना मेवाखोलाको किनारमा निर्माण गरिने भएको छ।

अर्को संरचना भने तमोर नदीको बाँया किनारमा निर्माण हुने छ। मेवाखोलाको बाँधको लम्बाइ ४० मिटरको हुने छ। बाँध पछाडि ४.२ मिटर र २ मिटर उचाइका ४ वटा ढोका भएको इनटेक रहने भएको छ। उक्त बाँधमा ४ मिटर चौडाइ र ४ मिटर उचाइ भएका २ वटा भूमीगत द्धार बन्ने भएका छन्। त्यसपछि करिव ६० मिटर लम्बाइ र ४ मिटर चौंडाइ भएको नहर हुँदै १ सय ५ मिटर लम्बाइ, १४ मिटर चौडाइ र ८ मिटर उचाइ भएको दुईमार्गी बालुवा थिग्ग्रयाउने पोखरीमा पानी पठाइन्छ। मेवाखोलातर्फको संरचना जस्तै तमोर नदीमा १ सय मिटर लम्बाइ र समुद्री सतहबाट ६ सय ९७ मिटरमाथि भएको बाँध बाँधिने छ। जसमा १० मिटर चौडाइ र ८ मिटर उचाइ भएका २ वटा भूमिगत द्धार र १०.५ मिटर उचाइ भएका द्धार रहने छन्।

बााध पछाडि तमोर नदीको बाँया किनारमा ३.५ मिटर चौडाइ र ६ मिटर उचाइ भएका ६ वटा पानी जाने ढोका भएको साइड इनटेक रहने छन्। त्यसपछि ४० मिटर लम्बाइ तथा ७ मिटर चौडाइ र ८.५ मिटर उचाइ भएका ३ वटा द्धार भएको ग्राभेल ट्रयापबाट १ सय ६० मिटर कूल लम्बाइ तथा २० मिटर चौडाइ र १.४ मिटर उचाइ भएका ३ वटा द्धार भएको सेटलिङ बेसिनमा पानी पठाइन्छ । मेवाखोलातर्फको डिजाइन बहावलाई ३ सय ६ मिटर लम्बाइ र ३.५ मिटर ब्यास भएको हेडरेस पाइप हुँदै सुरुङको प्रबेशद्धारसम्म र त्यसपछि २ हजार ५ सय मिटर लम्बाइ भएको सुरुङ र करिव १ सय ५५ मिटर लम्बाइ तथा ५.७५ मिटर ब्यास भएको स्टिल पाइप हुँदै तमोर नदीको दाँया किनारमा पानी ल्याइने भएको छ। मेवाखोलातर्फको पानी समेत तमोर नदीतफको इनटेक र सेटलिङ बेसिन हुँदै सुरुङको प्रबेशद्धारसम्म लगिने भएको छ ।

यो अवस्थामा भने आयोजनाको डिजाइन बहावलाई ४.७८ किलोमिटर लम्बाइ र ६.९ मिटर ब्यास भएको सुरुङमार्गमार्फत १५ मिटर ब्यास र ६५ मिटर उचाइ रहेको भूमिगतच सर्जशाफ्टसम्म पु¥याइने भएको छ । बिक्रम् सम्वत २११२ साल असोज २४ गते सम्मका लागि कम्पनीले सरकारबाट अनुमति पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments